coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एउटै गाउँबाट १७ लाखको लसुन बिक्री

कतिपय किसानका बारीमा लसुन फल्छ, मूल्य पाउँदैन। तर रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० चौखावाङका किसानलाई भने लसुनका लागि बजारको चिन्ता छैन। पैसाको बिटो बोकेर आउने ठेकेदारले गाउँबाटै लसुन उठाएर लैजाने गरेका छन्। गाउँमा सडक विस्तार भएसँगै गत वर्षदेखि चौखावाङका किसानले उत्पादन गरेको लसुन टयाक्टरमार्फत दाङ, नेपालगन्ज, बुटवल, पोखरासम्म पुग्ने गरेको छ।  

लसुन उत्पादनका लागि राम्रो क्षेत्रका रूपमा रहेको चौखावाङमा सडक सञ्जाल पुगेपछि किसानले उत्पादन गरेको लसुन बजारसम्म सहज रूपमा बिक्री हुने गरेको यहाँका किसानको भनाइ छ। गत वर्ष गाउँमा राम्रो लसुन उत्पादन हुने गरेपनि भौगोलिक विकटताका कारण व्यापारी नआउँदा उत्पादन भएको लसुन पनि घरमै थन्किने गरेको थियो। सडक गाउँमा पुगेपछि बर्सेनि ठूलो परिणाममा निर्यात हुने थालेको छ।  

गत वर्ष १२ लाख रूपैयाँको लसुन बिक्री गरेका उक्त गाउँबाट यो वर्ष अहिलेसम्म १७ लाख रूपैयाँको लसुन बिक्री भएको वडा नम्बर १० का वडासदस्य धनबहादुर खड्काले जानकारी दिए। गत वर्षभन्दा यो वर्ष पाँच लाख रूपैयाँ बढीको लसुन उत्पादन भएको उनको भनाइ छ। गाउँसम्म सडक पुगेको थाहा पाएपछि व्यापारीले लसुन उठाउन गाडी ल्याएर गाउँमै पुगेका थिए। यो वर्ष एक सय ४० क्विन्टल लसुन बिक्री भएको वडा सदस्य खड्काले जनाए। बिक्री भएको लसुन मध्ये एक सय ६ क्विन्टल जिल्लाबाहिर र ३४ क्विन्टल जिल्लाभित्र लसुन बिक्री भएको छ।  

जिल्लाबाहिर लसुन बिक्रीबाट १३ लाख रूपैयाँ र जिल्लाभित्र बिक्री गरेको लसुनबाट तीन लाख ५० हजार रूपैयाँ आम्दानी भएको वडाध्यक्ष गोपीराम केसीले जानकारी दिए। किसानले उत्पादन गरेको लसुन गाउँबाटै प्रतिकिलो ८० रूपैयाँका दरले बिक्री भएको उनको भनाइ छ। यहाँका किसानलाई व्यावसायिक लसुन खेतीका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्दै आएको छ। वडा कार्यालयमार्फत चालु आर्थिक वर्षमा किसानलाई दुई हजार दुई सय किलो लसुनको बीउ वितरण गरेको थियो। यसका साथै प्राविधिक रूपमा आवश्यक पर्ने तालिम तथा औषधि समेत सहयोग गरेको वडा सदस्य खड्काले जानकारी दिए।  

पुस्तौंदेखि डोकोमा लसुन बोकेर सहरबजार पु¥याउँदै आएका चौखावाङका किसानले सडक बनेपछि ट्याक्टरमार्फत निर्यात गर्दै आएका छन्। यहाँ कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ४० लाख रूपैयाँ अनुदानमा सडक निर्माण भएको हो।

प्रकाशित: ६ असार २०७७ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App