७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

यसै वर्ष सक्नुपर्ने गौरवका तीन आयोजना धकेलिए

सरकारले चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न लक्ष्य राखेका तीनवटा राष्ट्रि«य गौरवका आयोजना एक वर्ष धकेलिने भएका छन्। सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुचर्चित मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो।  

तर कोभिड १९ को प्रकोपसँगै चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न लक्ष्य राखिएका आयोजनाको काम हुन सकेन। सरकारले यी तीनवटै राष्ट्रि«य गौरवका आयोजनालाई आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी बजेट विनियोजन गरेको छ। यी तीनसहित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रि«य विमानस्थल पनि सम्पन्न गर्ने सूचीमा छ।  

सरकारले चालु आवसम्म राष्ट्रि«य गौरवको आयोजनामा २३ वटालाई सूचीकृत गरे पनि अन्यको प्रगति उत्साहजनक छैन। मेलम्ची आयोजनाको अस्थायी बाँधबाट मुख्य ट्यांकी सुन्दरीजलमा पानी झार्न अस्थायी बाँध (कोफर ड्याम) डाइभर्सन गरेर सुरुमा पानी खसाल्नुपर्ने हुन्छ।  

अहिलेसम्म अस्थायी बाँधको काम सकिएको छ। सुरुङका १४ वटा गेट जडान र परीक्षण दुवै गर्नुपर्ने हुन्छ। अहिलेसम्म गेट जडान र परीक्षणको सबै काम सकिएको छैन। सुरुङको माथिल्लो भागमा भेन्ट साफ्ट जडान (पानीमा हावा पठाउन), अडिट सुरुङमा अनुगमन उपकरण जडान, प्यानल बोर्ड, सेन्सर, वाल बुसिङ्स ,केबल्स, सुरुङको परीक्षण तथा सञ्चालन लगायत काम अझैसम्म सकिएको छैन। नयाँ वितरण पाइपको सरसफाइ, ठूला पानीको ट्यांकी चेकिङ तथा अन्य टेस्टिङ र कमिसनिङ लगायत सम्पूर्ण प्राविधिक काम बाँकी छ।  

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले आयोजनाले दिएको प्रतिवेदनकै आधारमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आगामी आवको सुरुवाती चरणमै मेलम्चीको पानी उपत्यकामा वितरण गरिने योजना समावेश गरिएको दाबी गरे। ‘हामीले दिएको प्रतिवेदनकै आधारमा मेलम्चीको पानी आगामी आवको सुरुवाती चरणमै वितरण गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको हो,’ उनले भने, ‘यसअघिका वाचा जे जस्तो भए पनि आगामी साउनभित्रै मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने योजना बनाएका छौं।’  

कार्यकारी निर्देशक खत्रीले असारको दोस्रो साताभित्रै मेलम्चीको अस्थायी बाँधबाट सुरुङमा पानी पठाउने काम सुरु गर्ने बताए। ‘सुरुङमा एकैपटक धेरै पानी हाल्न प्राविधिक रूपले समस्या आउन सक्छ। त्यसैले सुरुङमा पानी भरिनको लागि कम्तीमा ८ देखि १० दिन लाग्नेछ। खालि गर्न त्यत्तिकै समय लाग्छ,’ कार्यकारी निर्देशक खत्रीले भने। उनले टेस्टिङ र कमिसनिङ लगायतका सम्पूर्ण प्राविधिक काम सकेर साउनभित्रै मेलम्चीको पानी उपत्यकाबासीलाई खुवाउने बताए। उनले भने, ‘साउन महिनाभित्रै मेलम्चीको पानी उपत्यकाबासीलाई खुवाउनेछौं।’  

उस्तै हालतमा माथिल्लो तामाकोसी पनि

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पनि चालु आवभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। कोरोना र लकडाउनले काम प्रभावित हुँदा समयमै सम्पन्न हुन सकेन। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गत चैतभित्रै आयोजनाको एक युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने घोषणा गरेका थिए। तर त्यो काम यो आर्थिक वर्षमा असम्भव भएको छ।  

प्रवद्र्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेशप्रसाद न्यौपानेले लकडाउनकै कारण तोकिएको समयमा काम हुन नसकेको बताए। ‘लकडाउनमै सबैभन्दा जटिल काममध्ये तल्लो ठाडो सुरुङमा तीन सय ७३ मिटर पाइप जडान गर्न सक्यौं,’ उनले भने, ‘माथिल्लो ठाडो सुरुङमा ४५ मिटर जडान बाँकी छ। त्यो पनि अबको केही समयभित्रै सक्नेछौं।’  

प्रवक्ता न्यौपानेले सुरुङमा पाइप जडान गरेपछि फिटिङको काम गरिने बताए ‘भारतबाट सुरुङको पाइप जडानमा आवश्यक पर्ने उपकरण र सामग्री आएको छैन, जसले गर्दा काम प्रभावित हुने सम्भावना छ,’ उनले भने, ‘कोरोना संक्रमण केही कम हुनेबित्तिकै उपकरण ल्याएर काम अघि बढाउनेछौं।’ कम्पनीले आगामी असारभित्रै एउटा युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने घोषणा गरेको छ।  

पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले काममा ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदार अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ।  

चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर सम्पन्न नभएको अर्काे गौरवको आयोजना हो– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। आर्थिक सर्वेक्षण अनुसार गत फागुनसम्म यसको निर्माण ८६ प्रतिशत सकिएको छ। सरकारले चालु आवभित्रै विमानस्थल निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य राखेको थियो।  

तर अहिलेसम्म काम सम्पन्न भएको छैन। गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल आयोजनामा आइटी भवनको उत्तरतर्फ कार पार्किङ एरियामा कालोपत्रे भएको छ। कार पार्किङ स्ट्रिट लाइट केबलको लेआउट कार्य सम्पन्न भएको छ। चालु आर्थिक वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गर्ने लक्ष्य छ। गत फागुनसम्म विमानस्थलको पहुँचमार्गको बेस राख्ने, ह्यांगर भवनमा छाना छाउने कार्य सम्पन्न भएको छ। टर्मिनल भवनमा पार्टेसन भइरहेको छ। रनवेमा केबल बिछ्याउने कार्य जारी भएको प्रगति विवरणमा उल्लेख छ।

प्रकाशित: ६ असार २०७७ ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App