७ वैशाख २०८१ शुक्रबार
अर्थ

किसानलाई वृहत प्याकेज

बागमती प्रदेशको कृषि बजेट

किसानले सरकारी निकायबाट पाउने अनुदानका कार्यक्रम झन्झिटिलो भएको गुनासो आइरहेको बेला बागमती प्रदेश सरकारले सहज रुपमा किसानलाई अनुदान दिएर कृषि उत्पादन बढाउन वृहत प्याकेज ल्याएको छ । आगामी आर्थिक वर्ष ०७७/७८को बजेटमार्फत झन्झटिलो अनुदानका कार्यक्रमको अन्त्य गर्दै स्थानीय तहको साझेदारितामा किसानकै खातामा अनुदानको रकम उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।

प्रदेश सरकारले बजेट सोमबार सार्वजनिक गरेको छ । किसानलाई उत्पादनका आधारमा दूध, बीउमा प्रोत्साहन अनुदान, सहुलियत कर्जा, सामूहिक खेती लगायतका कार्यक्रम ल्याएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशका सचिव योगेन्द्र कुमार कार्कीका अनुसार अनुदानको रकम किसानका खातामा जाने व्यवस्था मिलाईएको छ । ‘किसानका लागि विशेष प्याकेज ल्याएका छौं,’ सचिव कार्कीले भने ।

‘किसानले दूध उत्पादन गरे बिक्री गरेपछि प्रतिलिटर दुई रुपैयाँ अनुदान दिन्छौं,’ सचिव कार्कीले भने, ‘प्रोत्साहन गर्न दिने रकम कृषककै खातामा जम्मा हुन्छ ।’ एक सय ६७ वटा दुग्ध उत्पादन सहकारी संस्थासँग सम्झौता गरी प्रोत्साहनका लागि अनुदान दिन लागेको हो ।  प्रदेश सरकारले दुग्ध किसानलाई अनुदान दिने १६ करोड रुपैयाँ विनियोजन गरेको कार्कीले जानकारी दिए ।

कृषि कर्जाका लागि करिव तीन अर्ब रुपैयाँ र अन्य कार्यक्रमका लागि चार अर्ब गरी सात अर्ब रुपैयाँ कृषिमा बजेट विनियोजन गरेको छ ।

झन्झटिलो अनुदानका कार्यक्रमको अन्त्य गर्दै स्थानीय तहको साझेदारितामा किसानकै खातामा अनुदानको रकम उपलब्ध गराउने व्यवस्था

प्रदेश सरकारले किसानलाई सहुलियत दरमा ऋण दिनका लागि कोष स्थापना गरेको छ । युवाहरुलाई कृषिजन्य उद्योगमा आबद्ध गरी रोजगारी सिर्जना गर्न सुलभ ब्याजदरमा सर्वसूलभ र सहज कृषि कर्जा प्रवाह हुने गरी प्रदेश सरकारले तीन अर्बको कोष कर्जा खडा गरेको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले समग्र कृषि प्रणाली सुधार गर्न उत्पादन सामग्रीमा अनुदान, सुलभ र सस्तो ऋण, बाली तथा पशुपन्छी बिमा, न्यूनतम बचतको ग्यारेन्टी र सबै किसानको घरदैलोमा प्राविधिक सेवा दिने गरी पाँच नीतिगत आधारहरू सार्वजनिक गरेका थिए । सोही नीतिगत आधारको  सुत्रलाई अनुशरण गर्दै प्रदेश सरकाले यस्तो कार्यक्रम ल्याएको हो ।  

मन्त्रालयले कार्यविधि बनाएर किसानलाई सहज रुपमा ऋण उपलब्ध गराउने जनाएको छ ।  उन्नत बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरुप प्रति किलो २० रुपैयाँका दरले अनुदान दिने भएको छ । गण्डकी प्रदेशका १३ वटै जिल्लाका कृषकहरु लाभान्वित हुने गरी मूख्य खाद्यान्न बाली धान, मकै र गँहु को उत्पादनमा आधारित उन्नत बीउमा प्रोत्साहन गर्न लागेको सचिव कार्कीले बताए । ‘स्थानीय तहसगँको समन्यमा बाली विशेष वीउ उत्पादन कार्यक्रम राखिएको हो,’ उनले भने ।

किसानहरुले उत्पादन गरेका फलफूल, तरकारीको उत्पादन वृद्धि, संकलन, भण्डारण, प्रशोधन र बजारीकरणको उचित व्यवस्था गर्न संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कृषि सहकारी, कृषि समूह तथा निजि क्षेत्रलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिने भएको छ । दलहन, तेलहन तथा खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्यमा खरिद गरी भण्डारण गर्ने उद्देश्यका लागि १३ स्थानमा एक पालिका एक खाद्यान्न भण्डारण र बीउ विजन बैंक स्थापना गर्न समेत बजेट विनियोजन गरेको छ । खाद्यान्न, तरकारी, नगदे बाली, फलफूल, मत्स्य, मासु, अण्डा, दूध, च्याउ, मह, जडीबुटी जस्ता कृषि तथा पशुपन्छी उपजहरुको विशिष्टीकृत उत्पादन क्षेत्र निर्धारण गरी अभियानको रुपमा चितवनको माडी, सिन्धुलीको दुधौली, नुवाकोटको लिखु, पञ्चकन्या र सिन्धुपाल्चोकको इन्द्रावती, मेलम्चीमा गरी दुई हजार बिघामा सामुहिक खेति प्रर्वद्धन गर्ने कार्यक्रम राखेको छ ।

बाँझिदै गएको खेतियोग्य जग्गामा अन्नबाली, फलफूल, तरकारी, आलु, मसला बाली, नगदे बाली, कन्दमुल, मोरीङ्गा, ड्रागन फ्रुट, घासँ लगायतका बालीहरुको खेती गर्न ईच्छुक कृषकहरुका लागि खेति गरिएको जग्गाको क्षेत्रफल विस्तार गर्न प्रोत्साहन कार्यक्रम सञ्चालनका लागि वजेट विनियोजन गरेको छ । संघीय सरकारको सहयोग र समन्वयमा प्रदेशका एक सय १९ वटै स्थानीय तहमा कृषकको चाहना र भौगोलिक उपयुक्तताका आधारमा दुई–दुई वटा कृषि, पशुपंक्षीका पकेट र प्रत्येक स्थानीय तहमा एकर–एक वटा कृषि, पशुपन्छीका व्लक संचालन गर्ने भएको छ ।  

काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, सिन्धुली लगातयतका जिल्लाहरुमा एक सय  हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गरी यान्त्रीकरण सहितको बृहत्तर मत्स्य विकास तथा विस्तार कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छ ।  माछापालन गर्दा खपत हुने विद्युत महशुलमा ५० प्रतिशत छुट सुविधा उपलव्ध गराउने भएको छ । मकमानपुरको औद्योगिक क्षेत्र भित्र कृषि औजार कारखाना स्थापना, पाउडर दूध प्लान्टको स्थापना, हेटौडामा तरकारी फलफूल थोक बजार निर्माण र चितवन जिल्लामा चक्लेट, क्याटवरी सहितको दूध प्रशोधन केन्द्र निर्माण प्राथमिकतामा छन् । प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा सञ्चालनमा रहेको ६६ वटा नमुना कृषि फार्म र १० वटा एकिकृत मोडल फार्मको केन्द्रको निरन्तरता र दिगो विकासका लागि बजेट विनियोजन गरेको छ ।

स्थानीय तहको समन्वयमा १३ वटै जिल्लामा ५० प्रतिशत साझेदारीमा फेव्रिकेटेड कोल्ड च्याम्वर, कृषि उपज संकलन केन्द्र तथा रष्टिक हाउस निर्माण गर्ने भएको छ । रासायनिक मलको प्रयोगलाई न्यूनिकरण गर्दै प्राङ्गारिक मलको उपयोगमा वृद्धि गर्न १३ वटै जिल्लामा कृषकहरुले प्रयोग गर्ने प्राङ्गारिक मलमा प्रोत्साहन गर्नका लागि भकारो सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसैगरी, माटोको परीक्षण गर्न डिजिटल मोवाईल माटो ल्याब स्थापना गर्न बजेट विनियोजन गरेको छ ।

प्रकाशित: ३ असार २०७७ ०६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App