१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘उद्धार उडान’को भाडा सामान्य घट्यो

विदेशमा अलपत्र नेपालीले साबिकको तुलनामा दोब्बरभन्दा बढी रकम तिरे पनि सरकारले ‘उद्धार’ भन्ने गरेको चार्टर्ड उडानको भाडा सामान्य घटेको छ । आइतबारदेखि ‘उद्धार गर्ने’ तयारी अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बुधबार उडान तालिका र भाडा दर सार्वजनिक गरेको थियो । 

सरकारले निर्धारण गरेको एकतर्फी हवाई भाडा साबिकको तुलनामा चार गुणासम्म भएको भन्दै चौतर्फी आलोचना बढेपछि खाडी लगायत श्रम गन्तव्यबाट नेपाली ल्याउन गरिने उडानको भाडा दोस्रोपटक संशोधन गरेर ३० प्रतिशतसम्म घटाइएको हो । उद्धारको नाममा सरकारले विदेशमा बेखर्ची भएका, कोभिड–१९ कै कारण रोजगारी गुमाएका तथा आममाफी पाएकालाई ऋण निकालेर घर फर्कन बाध्य बनाएको भन्दै सरकारको सर्वत्र आलोचना भएको थियो । 

त्यसपछि मन्त्रालयले केही गन्तव्यको टिकट मूल्य यथावत राख्दै केहीको शुक्रबार २५ देखि ८० डलरसम्म घटाएको थियो । मन्त्रालयले बंगलादेश, भारतको नयाँ दिल्ली, मुम्बई, बैंगलोर, बैंकक, तथा कम्बोडिया र जापानको नारिताको पहिले कायम भाडा यथावत राख्दै केहि मुलुकको भाडामा सामान्य हेरफेर गरेको थियो । 

शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका अधिकारीसँग गरेको छलफलबाट १० मुलुकको भाडा सय डलरभन्दा बढी नहुने गरी २० प्रतिशतसम्म घटाउन नेपाल एयरलाइन्स सहमत भएको वायुसेवा निगम स्रोतले जानकारी दिएको छ । हिमालयले भने आइतबार जवाफ दिने जनाएको छ । 

शनिबार घटाइएको भाडा दर अनुसार दुबईबाट आउनेले तीन सय ६० डलर तिर्नुपर्ने भएको छ । त्यस्तै, साउदी अरबको भाडा चार सय ३०, मलेसियाको तीन सय ७२, कतारको तीन सय ९२, साइप्रसको सात सय ३०, जेद्दाहको पाँच सय ९०, ओमानको तीन सय ६८, बहराइनको तीन सय ९२, कुवेतको चार सय १० र जोर्डनको ६ सय ७५ अमेरिकी डलर कायम गरिएको छ । 

मन्त्रालयले शुक्रबार माल्दिभ्सको भाडामा २५, हङकङको ३०, दमामको ७० डलर घटाएको थियो । त्यस्तै, खार्तुम (सुडान)को ५०, फ्रयाङ्कफर्टको ३५ र लन्डनको ६० डलर भाडा घटाएको छ । त्यस्तै, सिड्नीको १६ सय १५ डलर भाडा निर्धारण गरिएको छ भने दक्षिण कोरिया (सोल) को भाडा आठ सय ७५ डलर निर्धारण गरेको थियो । 

नेपाल वायुसेवा निगमले २४ र हिमालय एयरलाइन्सले १९ गरी विदेशी विमानसहित कुल ६७ चार्टर्ड उडानमार्फत नेपाली फिर्ता ल्याउने तयारी अनुसार आइतबार बंगलादेशको ढाकाबाट निगमको विमानमार्फत उद्धार सुरु हुने बताइएको छ । विश्वका विभिन्न मुलुकबाट २४ विदेशी विमान कम्पनीका जहाजसमेत नेपाल आउने उडान तालिका मन्त्रालयले पहिले नै सार्वजनिक गरिसकेको छ । 

सरकारले विदेशबाट उद्धार गर्दा हवाई टिकट, होटल क्वारेन्टिनको खर्च र यातायात शुल्कको नाममा चर्को रकम असुल्न खोजेको भन्दै आपतमा परेकाहरुले गुनासो गरेका थिए । कतिपयको हातमा निगम लगायत विदेशी विमान कम्पनीको टिकट रहेको र रोजगारदाताले पहिले नै टिकट हातमा थमाइसकेकाले अहिले त्योभन्दा दुई गुणा महँगो टिकट किनेर नेपाल फर्कन सक्ने अवस्था नरहेको बताएका छन् । 

रोजगारदाता समेत अहिले सरकारले निर्धारण गरेको टिकट रकम दिन तयार नरहेकाले विदेशस्थित नेपाली दूतावासले पहिले नै टिकट बुक गर्नेहरूको रकम रिफन्ड हुने–नहुने बारे जानकारी नदिँदा अन्योल कायमै रहेको आपतमा परेकाहरुको भनाइ छ । सरकारले निर्धारण गरेको टिकटको मूल्य महँगो भएको भन्दै ओमनस्थित नेपाली दूतावासले सरकारी भाडा नै खारेज गरेर सस्तो भाडा निर्धारण गरेको छ भने गैरआवासिय नेपाली संघ (एनआरएन)ले समेत निर्धारित भाडाप्रति आपत्ति जनाएको छ । 

गैर आवासीय नेपाली संघ युएईले हेरफेर भएको भाडामा समेत असन्तुष्टि जनाउँदै विपतको बेला सरकारले कल्याणकारी कोष वा अन्य बजेट निकासा गरी सहयोग गर्नुपर्नेमा उल्टै चर्को भाडा तिराउन खोजेको भनेर खेद प्रकट गरेको छ । स्वदेशी विमान कम्पनीहरुले भने ८० प्रतिशत अकुपेन्सी नहुन्जेल उडान नभर्ने बताइरहेका छन् ।

प्रकाशित: ३२ जेष्ठ २०७७ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App