२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

व्यापारी खोल्ने, प्रहरी बन्द गराउने

कोभिड–१९ को कारण सवा दुई महिनादेखिको लकडाउनबाट आजित बनेका व्यवसायीले लकडाउनको उल्लंघन गर्दै पसल खोल्न थालेपछि प्रहरीले बन्द गराउँदै हिँडेको छ । सरकारले आगामी शनिबारसम्म लकडाउन घोषणा गरेको भए पनि काठमाडौंका व्यापारिक क्षेत्रमा स्वःस्फूर्त रुपमा पसल खोल्न थालेका थिए ।

बुधबार राजधानीको न्युरोड, महाबौद्ध, चावहिल, वनस्थली, नयाँ बजारमा व्यापारीले सटर खोले । प्रहरी प्रशासनको आदेशलाई अवज्ञा गर्दै जबर्जस्ती पसल खोलेपछि दलबलसहित आएर प्रहरीले पसल बन्द गराएको छ । प्रहरीको अनुरोधलाई व्यापारीले नटेरपछि जबर्जस्ती सटर तानेर बन्द गरेको थियो । जबर्जस्ती सटर तान्न लगाएपछि धकेलाधकेल भएको बौद्धका व्यापारी प्रमोद रिजालले बताए । ‘सटर भाडा तिर्न, घरखर्च चलाउन कठिन भएपछि पसल खोलका थियौं,’ रिजालले भने, ‘प्रहरीले माइकिङ गर्दै आएर बन्द गरायो ।’

निजी क्षेत्रका सबै जसो संघसंस्थाले लकडाउनको मोडालिटी परिवर्तन गरेर व्यवसाय सञ्चालनको वातावरण मिलाउन आग्रह गर्दै आएका छन् । सरकारले लकडाउन खुकुलो पार्न गृहकार्य गरिरहेको भए पनि व्यवसायी विरोधमा उत्रिन थालेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन उल्लंघन गर्न आह्वान नै गरेको छ । महासंघको आह्वान गरेपछि मंगलबार र बुधबार पसल खुलेका हुन् । व्यवसायीको मर्म नबुझेपछि बाध्य भएर पसल खोल्न आह्वान गरेको महासंघका अध्यक्ष नरेश कटुवालले बताए । ‘पटक–पटक अनुरोध गर्दा पनि सरकारले सुनेन,’ अध्यक्ष कटुवालले भने, ‘सुरक्षाका मापदण्ड पूरा गरेर पसल खोल्दा पनि अवरोध भइरहेको छ ।’ लकडाउन खुकुलो नबनाए सडक संघर्षमा आउने उनले चेतावनी दिए ।

व्यवसायीले बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरुको ऋणको ब्याज, हर्जना, पूर्ण रुपमा मिनाहा गर्न, सरकारलाई बुझाउनुपर्ने लकडाउन अवधिको कर मिनाहा गर्नुपर्ने, लकडाउन अवधिको भाडा मिनाहा गर्न माग गरेका छन् । विभिन्न नाकामा रोकिएका सामानहरु सहज रुपमा नाकाबाट पास गरेर ल्याउने वातावरण मिलाउन आग्रह गरेका छन् ।

मुुलुकको अर्थतन्त्र चौपट भएपछि उद्योग सञ्चालन गर्न खुकुलो गर्ने नीति लिएको भए पनि उद्योगहरु पनि राम्रो ढंगले सञ्चालन भएका छैनन् । ४२ प्रकारका उद्योग चलाउन अनुमति दिने निर्णय गरेको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘लकडाउनमा उद्योग प्रतिष्ठान सञ्चालन तथा सवारी पास मापदण्ड, २०७७’ जारी गरेर उद्योग चलाउन आग्रह गरेको थियो । विशेष गरी कामदार, कच्चा पदार्थ अभावको कारण उद्योगहरु पूर्ण क्षमता चलाउ ननसकेको उद्योगीले बताएका छन् ।

दैनिक उपभोग्य वस्तु चामल, दाल, तेल, चिउरा, चिनी, बिस्कुट, पाउरोटी, पिठो, चाउचाउ, पानी प्रशोधन, औषधी, स्वास्थ्य सामग्री, साबुन उत्पादन र सोको प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योगहरु सञ्चालन गर्न सरकारले आग्रह गर्दै आएको छ । ग्यास, बोटलिङ, घरेलु तथा साना उद्योग, निर्यातजन्य र विशेष आर्थिक क्षेत्रमा सञ्चालित उद्योग, सिमेन्ट र डन्डीजस्ता निर्माणजन्य उद्योगहरु केही सञ्चालनमा आएका छन् । बढीमा पाँचजनासम्म कामदार रहने गरी सवारी साधन मर्मत गर्ने वर्कसप, इन्टरनेट जडान र मर्मत, प्लम्बिङ तथा इलेक्ट्रिकल सेवा र पेट्रोलपम्प सञ्चालन गर्न दिने मापदण्डमा उल्लेख छ ।

अस्पष्ट मापदण्ड, कच्चा  पदार्थ, कामदार अभाव, सवारी पास लगायतका कारण उद्योग सञ्चालन गर्न कठिन भएको उद्योगी बताउँछन् । यद्यपि अहिले सवारी पासमा उद्योग विभागले खुकुलो पारेको छ । उद्योगका लागि कच्चा पदार्थको अभाव, उत्पादित वस्तुको बिक्री वितरणमा समस्या छ । औद्योगिक क्षेत्रभित्रका उद्योग पनि आंशिक रुपमा मात्र चलेका छन् । केही उद्योगले न्यूनतम स्वास्थ्य सामाग्री मास्क, पञ्जा, स्यानिटाइजर तथा साबुन पानीको व्यवस्था गरी दुरी कायम गरेर उद्योग खोल्न थालेका छन् ।

सरकारले लकडाउन खुकुलो पार्दै मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ । उच्चस्तरीय संयन्त्रले गरेको प्रस्ताव अनुसार असार १ गतेबाट पहिलो चरणमा डेलिभरी सर्भिस, खुला बजार, कृषि क्षेत्र खुला गर्न गृहकार्य गरिएको छ । दोस्रो चरण असार १५ गतेदेखि निर्माण क्षेत्र, तेस्रो चरण, असार २९ गतेदेखि सपिङ खुद्रा एवं होलसेल पसल, पूर्ण रुपमा खुला गर्न सकिने प्रस्ताव छ । चौथो चरण, साउन १२ बाट सपिङ मल, रेस्टुराँ, बैंक, एवं वित्तीय सेवा दिने र पाँचौं चरण, साउन २६ गतेदेखि क्याटरिङ, पार्टी प्यालेस, धार्मिक क्षेत्र, अनसाइट रेस्टुराँ एवं होटलसँग जोडिएका सेवा क्षेत्र खोल्न दिने तयारी गरेको बताईएको छ ।

प्रकाशित: २९ जेष्ठ २०७७ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App