१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उत्साह जगाउँदै दूधकोसी आयोजना

दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणस्थल । तस्बिर : दमन/नागरिक

नेपाल सरकारले नयाँ बजेटमा ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखेपछि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका स्थानीयमा उत्साह जागेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले खोटाङको रावाबेसी गाउँपालिका–३, लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६, भदौरेको सिमानामा पर्ने आयोजनाको कामलाई चार अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सम्मिश्रित वित्त लगानी विधिमा निर्माण सुरु गर्ने बताएपछि स्थानीयमा उत्साह जनाएको आयोजना सहयोग तथा सरोकार समितिका अध्यक्ष रमेश पौडेलले बताए ।

‘खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जनताको भाग्य र भविष्यको कायापलट गर्ने राष्ट्रिय गौरवको आयोजना यस आर्थिक वर्षबाट सुरु हुने घोषणाले खुसी ल्याएको छ,’ सहयोग तथा सरोकार समितिका अध्यक्ष पौडेलले भने, ‘यस आयोजनाका लागि पहल गर्ने तीनवटै जिल्लाका सांसद, जनप्रतिनिधि, नेता, कर्मचारी सबैप्रति हार्दिक नमन । आयोजना सम्पन्न गर्न हाम्रो निरन्तर साथ, सहयोग र दबाब रहनेछ ।’

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक संस्थागत जमानीमा दूधकोसीमा लागतको निश्चित अंश बाह्य लगानी परिचालन गर्ने बजेट वक्तव्यमा उल्लेख छ । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले माथिल्लो सगरमाथाका तीन जिल्लाका जनता र सिंगो मुलुकका लागि लाभ दिने आयोजनाको निर्माणमा एकजुट भएर सहयोग गर्न सामाजिक सञ्जालबाटै आग्रह गरेका छन् ।

लामीडाँडाको रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढेको छ । मुख्य विद्युत्गृहबाट ६०० र ड्याममै बनाइने विद्युत्गृहबाट ३५ मेगावाट उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाको डिपिआरको काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । भ्याटसहित करिब २.२ अर्ब डलरमा सम्पन्न हुने अनुमान गरिएको आयोजनाको जलाशयबाट जलपर्यटनको उत्तिकै सम्भावना रहेको औंल्याइएको छ ।

दूधकोसी आयोजनाका लागि लगानी जुटाउन अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत् प्राधिकरणले लगानी गर्न इच्छुक एसियाली विकास बैंक, युरोपेली लगानी बैंक, एसियाली पूर्वाधार लगानी बैंक र कोरियाली एक्जिम बैंकका प्रतिनिधिसँग जेठ २ गते प्रारम्भिक भर्चुअल बैठक गरेका थिए ।

सन् १९८५ मा जाइकाले नेपालको ६ वटा जलाशययुक्त आयोजनामध्ये आकर्षक मानेको तथा २०१३ सालमा जाइकाले नै दोस्रोपटक अध्ययन गर्दा १० वटा जलाशययुक्त आयोजनामध्ये एक नम्बरमा छानेको यो आयोजनाबाट वार्षिक तीन अर्व ४४ करोड ३० युनिट ऊर्जा उत्पादन हुने प्राधिकरणले जनाएको छ । गत पुस २२ गते ऊर्जामन्त्री वर्षमान पुनसँगै आयोजना निर्माणस्थल निरीक्षणमा खोटाङ पुगेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लागत र ऊर्जा उत्पादनका आधारमा दूधकोसी तुलनात्मक रुपमा अन्यभन्दा सस्तो र आकर्षक आयोजना हुने बताएका थिए ।

प्रकाशित: २९ जेष्ठ २०७७ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App