coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बेलैमा ढुवानी गर्न नसक्दा २५ हजार भुरा मरे

रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रले आफ्नो उत्पादन १५ जिल्लामा विस्तार गरेको छ । आफूले उत्पादन गरेका आँखा बनेको अण्डा, माछा भुरा र खाने माछा रसुवा सहित १६ जिल्लामा बिक्री गर्दै आएको छ । केन्द्रले रसुवासहित १६ जिल्लालाई आँखा बनेको अण्डा, माछा भुरा र खाने माछा बिक्री गर्दै आएको छ । केन्द्रको तथ्यांक अनुसार सबैभन्दा बढी रसुवा र नुवाकोटमा खपत हुने गरेको छ ।

त्यसैगरी लमजुङ, मकवानपुर, काठमाडौं, सिन्धुपाल्चोक, कास्की, पर्वत, गुल्मी, खोटाङ, धादिङ, ललितपुर, ताप्लेजुङ, मुगु, सोलुखुम्बु, रुकुम पश्चिममा समेत पठाउने गरेको छ । यसपटक समयमै भुरा ढुवानी गर्न नसकेपछि करिब २५ हजार भुरा मरेको केन्द्र प्रमुख महेन्द्र भण्डारीले बताए । ‘बैशाखको पहिलो हप्तासम्म भुरा ढुवानी गरिसक्नुपर्छ’, उनले भने, ‘तर लकडाउनको कारण पुर्‍याउन सकिएन ।’ केन्द्रका अनुसार अहिले ७० हजार भुरा पठाउन सकिने अवस्था छ ।  

अहिले गुल्मीमा ३० हजार, कालिकोटमा १० हजार, मकवानपुरमा ३० हजार, अछाममा १० हजार र ताप्लेजुङमा २० हजार भुराको माग रहेको छ । केन्द्रले पछिल्लो समय बिक्री वितरणमा वृद्धि गर्दै लगेको थियो ।

२०७१ सालमा स्थापना भएको केन्द्रले त्यसयता २ लाख ८१ हजार ७ सय वटा आँखा बनेको अण्डा बिक्री गरेको छ । जसमा ०७१/७२ मा ९२ हजार, ०७२/७३ मा ५० हजार, ०७३/७४ ४३ हजार ४ सय, ०७४/७५ मा २६ हजार ८ सय, ०७५/७६ मा ४२ हजार र ०७६/७७ को हालसम्म ६७ हजार ५ सय वटा बिक्री गरेकाे तथ्यांक छ ।  

त्यसैगरी केन्द्रले भुरा माछा बिक्रीमा पनि वृद्धि गरेको छ । केन्द्रले अहिलेसम्म २ लाख ८६ हजार ५ सय १७ वटा भुरा माछा बिक्री गरिसकेको छ । तथ्यांक अनुसार २०७१/७२ मा ८ हजार, ०७२/७३ मा ७५ हजार, ०७३/७४ मा ७० हजार ६ सय ५०, ०७४/७५ मा ३० हजार ८ सय ६७, ०७५/७६ मा ६७ हजार र ०७६/७७ को हालसम्म ८७ हजार वटा बिक्री गरेकाे तथ्यांक छ ।

केन्द्रले खाने माछा समेत ९ सय ६९ केजी बिक्री गरेको छ । आव ०७२/७३ मा ३५ केजी, ०७३/७४ मा २ सय ३३ केजी, ०७४/७५ मा २ सय ६ केजी, ०७५/७६ मा ३ सय २४ र ०७६/७७ को हालसम्म १ सय ७० किलाे बिक्री गरेकाे तथ्यांक छ ।

केन्द्रमा अहिले ४० हजार भुरा छ । साथै ४ हजार ५ सय ठूला माछा छ । केन्द्रमा २५ वटा रेसवे अर्थात पोखरी रहेको छ । केन्द्रका अनुसार बिक्री गर्न पर्ने भुरा केन्द्रमा नै थन्किएको छ । केन्द्रले माछाका अण्डा प्रतिगोटा २ रुपैयाँ तथा भुरा प्रतिगोटा ७ रुपैयाँका दरले बिक्री गर्दै आएको छ ।

प्रकाशित: २८ जेष्ठ २०७७ १३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App