६ वैशाख २०८१ बिहीबार
अर्थ

तरकारी छ, भाउ छैन

बारीमै सड्न लागेको अवस्थाका बन्दा बिक्री गर्दै बाम्राङका किसान । तस्बिर : दमन/नागरिक

खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका अगुवा किसान इन्द्र नारथुंगेका बगानमा बन्दा र काउली रहरलाग्दो उत्पादन भएको छ । तर, लकडाउनका कारण बन्दा र काउलीलाई बजारसम्म पुर्‍याउन सक्ने अवस्था छैन । बजार बन्द हुँदा र मूल्य नपाउँदा उनले आफुले उत्पादन गरेका बन्दा र काउली छिमेकीलाई निःशुल्क बाँडिरहेका छन् ।

लकडाउनका कारण सडेर जाने अवस्थाका तरकारी गाउँका छिमेकीलाई निःशुल्क बाँडेवापत खेतीपातीकै काममा सघाउने गरेको नारथुंगेले बताए । ‘हाम्रो गाउँपालिकाको सिमपानीतिरका किसानलेचैं बन्दा र काउली खोले बनाएर गाईभैंसीलाई खुवाएको सुनेँ । मैलेचैं सबै छिमेकीलाई निःशुल्क बाँडे,’ खोप्तुङ कृषि फर्मका सञ्चालक नारथुंगेले भने, ‘तरकारी दिएवापत छिमेकीलाई मेलापातको काममा सहयोग माग्ने गरेको छु । तरकारी र श्रमको विनिमय गरिरहेको छु ।’  

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण जिल्लाका हाटबजार बन्द छन् । हाटबजार बन्द हुँदा किसानले यसबीचमा उत्पादन गरेका तरकारीलाई बजारसम्म पुर्‍याउन सकेका छैनन् । तरकारी तथा हरिया सागपात खपत हुने होटलहरु पनि ठप्प छन् । बजार र भाउ नपाउँदा कतिपय किसानले उत्पादन गरेका बन्दा, काउली जस्ता तरकारी कुहिन थालेको पाइएको छ ।

कतिपय किसानले भने सडेर जाने अवस्थामा पुगेका तरकारी गाईभैंसी र बाख्रालाई खोले पकाएर खुवाउने गरेका छन् । लकडाउनकाबीचमा गोलबेँडा, काँक्रा, सागपात जस्ता तरकारी सामान्य मात्रामा बिक्री भइरहेका भए पनि भाउ नपाएको किसानको गुनासो छ । यो बेला प्रतिकेजी सयको हाराहारीमा बिक्री हुने गोलबेँडाको मूल्या हाल प्रतिकेजी ३०/४० रुपैयाँमा झरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपु अर्गानिक कृषि फर्मका सञ्चालक धर्मराज राईले बताए ।  

उनका अनुसार प्रतिकेजी सय रुपैयाँमा बिक्री हुने काँक्राको मूल्या प्रतिकेजी ४० रुपैयाँ, प्रतिकेजी दुई सयभन्दा बढिमा बिक्री हुने तिते करेला सरदर प्रतिकेजी सय रुपैयाँमा, प्रतिकेजी ४०/५० रुपैयाँमा बिक्री हुँदैआएको बन्दा र काउली हाल प्रतिकेजी १५/२० रुपैयाँका दरले बिक्री भइरहेको छ । ‘लकडाउनका कारण सबैभन्दा बढि तरकारीको मूल्यामा गिरावट आएको छ । बजार पुर्‍याउन सक्ने अवस्था छैन, पुर्‍याए पनि बजारमा ग्राहक खोज्दै हिँड्नुपर्ने अवस्था छ,’ धर्मराजले भने, ‘धेरैजसो किसानले बन्दालाई खोले बनाएर गाईबस्तुलाई खुवाइरहेका छन् । कसैले छरछिमेकलाई बाँड्ने गरेका छन् । किन्न माग्नेलाई पनि सित्तैमा दिनुपर्ने अवस्था छ ।’ हाल टिपेर खानयोग्य बनेको सिमीलाई समेत बजार अभाव सुरु भएको नारथुंगेले बताए ।  

स्थानीय सरकारले देखेन किसानको पीरमर्का
तरकारी खेतीबाट लाखौं आम्दानी गर्दैआएका खोटाङका अधिकांश किसान लकडाउनका कारण मारमा परेका छन् । बजार पुर्‍याउँदा पनि तरकारीले भाउ पाउने अवस्था छैन । लगानी नै नउठ्ने भएपछि खेतीपातीमा गरेको लगानी र श्रम बालुवामा पानी खन्याए सरह भएको छ । तर, किसानले उत्पादन गरेका कृषि उपजको बजार व्यवस्थापनमा स्थानीय सरकारको ध्यान पुग्न सकेको छैन । अर्गानिक कृषिलाई बढावा दिने र व्यवसायीक कृषिबाट संवृद्धि प्राप्तीको नारा लगाउने स्थानीय सरकार कृषकका समस्या बारे मौन छन् । किसानले दशनंग्रा खियाएर उत्पादन गरेको तरकारीको बजार व्यवस्थापनमा स्थानीय सरकार चुकेको छ ।  

संकट परेका बेला नजिकको स्थानीय सरकारको साथ नपाएको किसानको गुनासो छ । स्थानीय सरकारको कृषिको व्यवसायीकरण भन्ने नीति तथा कार्यक्रम देखाउन र सुनाउनका लागि मात्र बनाइएजस्ता देखिएका छन् । बरु, हाल लकडाउनका कारण क्षती बेहोरेका किसानलाई प्रदेश सरकारले क्षतीपूर्ती दिने सूचना प्रकाशन गरेको नारथुंगेले बताए । प्रदेश सरकारको क्षतीपुर्ती लिनका लागि फर्म भर्नुपर्ने जनाइएको छ । जिल्लाका दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बाहेक अन्य स्थानीय तहले किसानको सड्न लागेको तरकारी देखेनन् । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भने किसानको तरकारी खरिद गरेर राहतका साथमा बाँडेको थियो । 

प्रकाशित: २६ जेष्ठ २०७७ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App