५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

तरकारी नबिकेपछि मर्कामा किसान

इलामको सूर्याेदय नगरपालिका–१२ आठघरेका स्थानीय व्यापारी गाउँमा उत्पादन भएको तरकारी बिक्रीका लागि झापा लैजाने तयारी गरिँदै । तस्बिर : भीम/नागरिक

अढाइ महिनादेखिको लकडाउनका कारण जिल्लामा उत्पादित तरकारीको मूल्य ह्वात्तै घटेको छ । तरकारी उत्पादक किसान र व्यापारी उपभोक्तासम्म पुग्न नसक्दा तरकारीको मूल्यमा बिचौलियाले ‘अवसर’ पाएका छन् । 

जिल्लाकै किसानले उत्पादन गरेको तरकारी किन्ने उपभोक्ता अहिले बजारमा भेटिँदैनन् । तर भारत तथा तराईबाट लुकीछिपी यहाँका बजारमा तरकारी ल्याउने क्रम चलिरहेकै छ । ठूलो लगानी गरेर तरकारीको व्यावसायिक खेती गरिरहेका स्थानीय किसानचाहिँ तरकारीको मूल्य नपाएर छटपटाएका बेला बाहिरबाट ‘जोखिमयुक्त’ तरकारी भित्रिँदा जिल्लामा कोरोना भाइरस संक्रमणको त्राससमेत बढिरहेको छ । 

बर्सेनि १२÷१५ लाख रुपैयाँसम्मको तरकारी बेच्ने किसान जिल्लामै छन् । तर लकडाउनका कारण तरकारी नबिक्दा अहिले उनीहरूलाई लाखौं रुपैयाँको घाटा भइरहेको छ । तरकारी खेती लगाएका बेला कोरोना भाइरसको जोखिम नभए पनि फसल लिने बेला लकडाउन भएपछि कतिपय किसानको तरकारी बारीमै कुहिएको छ । सूर्याेदय, इलाम र देउमाई नगरपालिकाका तथा माई जोगमाई र सन्दकपुर गाउँपालिकाका किसानले यो सिजनमा इस्कुसको मुन्टा, आलु, बेमौसमी काँक्रा, सिमी, मुला, धनियाँ, प्याज, लसुनलगायतका तरकारी उत्पादन गरेका छन् । तर उत्पादनले बजार नपाउँदा उनीहरूले ‘कौडीको भाउ’मा बेच्नुपरिरहेको छ । 

तराईबाट नजिकै पर्ने सूर्याेदय नगरका किसानले समेत पोहोरभन्दा झन्डै एक तिहाइ मूल्यमा मात्रै तरकारी बेच्नुपरेको बताएका छन् । उनीहरूले बारीमा तयारी अवस्थामा रहेको तरकारी नबेच्दा सबै कुहिएर जाने भएकाले ज्यादै न्यून मूल्यमा भए पनि बेच्नुपरेको गुनासो गरे । सूर्याेदय–१२ आठघरेका किसान अग्नि ढकाल तरकारीको मूल्य नपाएर निरास हुनुपरेको सुनाउँछन् । ‘पोहोर यतिबेला हारालुछ भएको तरकारी यो साल बिक्दै बिकेन,’ उनले भने, ‘व्यापारीलाई बोलाएर बेच्दा लगानी उठ्ने मूल्य नै दिन छाडेका छन् ।’ उनले यहाँका अधिकतर किसानको मुख्य खेती नै तरकारी भएको र यतिबेला नबिक्दा आफूजस्ता सयौं किसानलाई लगानी जोगाउन धौधौ परेको सुनाए । 

सूर्याेदय नगरमा उत्पादन भएको तरकारी झापाको चारआली, बिर्तामोडलगायत बजारमा पुग्छ । सूर्याेदयकै पशुपतिनगर क्षेत्रमा उत्पादित तरकारीचाहिँ भारतीय बजारमा समेत बिक्री हुने गरेको थियो । स्थानीय व्यापारीले किसानबाट संकलन गरेको तरकारी नजिकैका बजारमा पु¥याउने गरेका छन् । तर यतिबेला तरकारी बेच्न नै ज्यादै समस्या परिरहेको व्यापारी बताउँछन् । ‘हामीले पनि यहाँबाट लगेको तरकारी झापाका कुनै व्यापारीलाई उसले कति मूल्यमा माग्छ, त्यतिमै दिनुपरिरहेको छ,’ सूर्याेदयका स्थानीय व्यापारी रमेश गड्तौला भन्छन्, ‘उपभोक्तालाई सोझै बेच्न नपाएपछि त्यहाँका व्यापारीलाई बेच्नुको विकल्प पनि छैन ।’ 

किसानबाट खरिद गरेको तरकारी उपभोक्तालाई सोझै बेच्न पाउँदा चाहिँ अहिलेको भन्दा तेब्बरसम्ममा बिक्री हुने व्यापारी गड्तौलाको अनुमान छ । ‘लकडाउनका कारण अहिले उपभोक्ता बजारमा निस्केको भेटिँदैन,’ उनी भन्छन्, ‘तर उपभोक्ता चाहिँ त्यहाँका व्यापारीबाट साबिकभन्दा बढी दाम हालेर तरकारी किन्न बाध्य छन् ।’ उत्पादक र उपभोक्ताको सोझो सम्बन्ध हुन नसक्दा किसानले मूल्य पाएका छैनन् तर उपभोक्ताचाहिँ अझ महँगोमा किन्न बाध्य छन् ।

अरूबेला २० देखि २५ रुपैयाँ प्रतिमुठा पर्ने इस्कुसको मुन्टा अहिले बारीमा १० रुपैयाँमात्रै छ । प्रतिकिलो ३०÷३५ रुपैयाँसम्म पर्ने बन्दा ६ रुपैयाँ, ४० रुपैयाँ पर्ने मुला १० रुपैयाँ, गोटाको सय रुपैयाँ पर्ने काँक्राको मूल्य अहिले ३५÷४० रुपैयाँमात्र रहेको किसान बताउँछन् । ‘हामीले झापा पु¥याएर तरकारी बेच्नुपर्दा पनि भाडामात्रै मरीतरी उठ्छ,’ व्यापारी गड्तौला भन्छन्, ‘नकिनौं भने सयौं किसानको हातमुख जोर्ने मेलो हराउँछ, किनेर बेच्दा भाडा पनि नउठ्ने अवस्था छ ।’

इलाम नगरपालिका–५ बरबोटेका हुतराज सापकोटाले यो वर्ष तीन लाख रुपैयाँ आम्दानी गर्ने अनुमानले दुई सय ४० बोट काँक्रा रोपेका थिए । तर बेच्ने बेलामा लकडाउन भएपछि आधा पनि आम्दानी नहुने भएको उनी बताउँछन् । ‘पोहोर ८० बोट काँक्राबाट निकै राम्रो आम्दानी भएपछि त्यही हिसाबले अहिले तीन लाख रुपैयाँको बेच्ने लक्ष्य थियो,’ उनले भने, ‘पोहोर त युवा स्वरोजगार कोषबाट तीन लाख रुपैयाँ ऋणसमेत लिएर खेती गरियो । यो वर्षचाहिँ तरकारीले ठेगान लगाउलाजस्तो छ ।’ 

उनको माचमा धमाधम बेच्ने बेला भएका काँक्रा झुन्डिएका छन् । तर पोहोर डेढ सय रुपैयाँसम्म प्रतिगोटा बिकेका काँक्राको दाम अहिले ५० रुपैयाँसम्म मात्रै छ । ‘यो साल त बेकारमै लगानी गरिएछ जस्तो भएको छ,’ सापकोटाले भने, ‘व्यापारीले जति दाममा भन्छन्, त्यतिमै नदिए बारीमै कुहिएर जान्छ ।’ भिन्डी, भन्टा, खोर्सानीलगायत अरू तरकारीको पनि व्यावसायिक खेती गरेका सापकोटाले लकडाउन नखुले आफ्नो ठूलो लगानी डुब्न सक्ने दुखेसो गरे । 

जिल्लामा किसानले समूह गठन गरेर र व्यक्तिगत रूपमा पनि तरकारीको व्यावसायिक खेती गरिरहेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा तरकारी खेती गर्न तीन सय ३७ र बेमौसमी तरकारी खेतीका लागि दुई सय ३३ कृषक समूह गठन भएका छन् । आलु खेतीका लागिमात्र पनि जिल्लामा २५ कृषक समूह गठन भएको केन्द्रले जनाएको छ । यी समूहमा आबद्ध र व्यक्तिगत रूपमा तरकारी खेती गरिरहेका सबै किसान अहिले तरकारीको मूल्य नै नपाएको साझा समस्यासँग जुधिरहेका छन् ।

केन्द्रका कृषि प्रसार अधिकृत रुजन खड्काले लकडाउनका कारण जिल्लाका किसानले अहिले तरकारीमा लाखौं रुपैयाँको घाटा बेहोरिरहेको बताए । ‘हामीले लकडाउनको सुरुसुरुमा त तरकारी बिक्रीमा भइरहेको क्षति विवरण संकलन पनि गरेका थियौं,’ उनले भने, ‘अहिले चाहिँ सबै स्थानीय तहबाट विवरण नआएकाले तथ्यांक संकलनमा समस्या परिरहेको छ । तर किसानले धेरै क्षति बेहोरिरहेको हामीले देखिरहेका छौं ।’

प्रकाशित: २६ जेष्ठ २०७७ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App