coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘मेरो किसान मेरो अन्नदाता’ अभियान निरन्तरता

कर्णाली प्रदेश सरकारले यस वर्ष पनि ‘मेरो किसान मेरो अन्नदाता’ अभियानलाई निरन्तरता दिने भएको छ । आधारभूत खाद्यवस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उक्त कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

कृषक प्रोत्साहन, कृषि बिमा, सहुलियत कर्जा र न्यूनतम समर्थन मूल्यजस्ता किसानमैत्री कार्यक्रम संघ र स्थानीय तहसँग साझेदारी तथा सहकार्यमा गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मल, बीउ, बेर्ना कृषि उपकरणलगायतका आधारभूत कृषि सामग्रीको समयमै उपलब्धता सुनिश्चितता गरिने भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् । जसअन्तर्गत कृषि उत्पादन वृद्धि गर्न साना सिँचाइ आयोजना सञ्चालन गरिने, परम्परागत मौलिक बालीको विकासमा प्रोत्साहन गरिने र अर्गानिक कृषि उत्पादन र कृषि उपजको बजारीकरणमा सहयोग गरिने उनले बताइन् ।

‘फलफूल, तरकारी र उच्च मूल्य कृषि उपजमा पकेट क्षेत्रका प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्छाैं,’ सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री केसीले भनिन्, ‘एक स्थानीय तह एक विशेष उत्पादन र एक सामुदायिक बीउ बैंक, एक वडा एक पोखरी वा जलाशय र एक जिल्ला एक स्रोत केन्द्र विकास गर्छाैं ।’ कृषि उपज भण्डारणको लागि शीत भण्डार निर्माणलाई प्रात्साहन गरिनेको उनको भनाइ छ ।

यसले प्रदेश सरकारले सञ्चालन गरेको मेरो किसान मेरो अन्नदाता अभियानलाई सघाउ पुर्याउने उनको अपेक्षा छ ।

पशुपन्छीजन्य उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउनुका साथै यस्ता उत्पादनको निर्यातलाई प्रवद्र्धन गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरि पण्डितले जानकारी दिए । उनका अनुसार व्यावसायिक एवम् उन्नत नश्लका पशुपन्छी, माछापालन, मौरीपालन र उच्च मूल्यका पन्छीपालनलाई प्रोत्साहन गरिनेछ । 

पशुपन्छी प्रयोगशालाको क्षमता विकास, संस्थागत साझेदारी र कृषि तथा पशुपन्छी तथ्यांक प्रणालीको विकास गरिने उनको भनाइ छ । ‘सार्वजनिक, निजी र सहकारी क्षेत्रको साझेदारीमा दुग्ध उत्पादन, दाना, ह्याचरी, प्रशोधन केन्द्र, अर्गानिक मल, जैविक विषादी, वधशाला, स्रोतकेन्द्र विकास, सेलार चिस्यान केन्द्र र कृषि औजार तथा उपकरणको उद्योग स्थापना गर्न प्रोत्साहित गर्छाै,’ उनले भने । कार्यक्रम निरन्तरताका लागि आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको उनले जानकारी दिए ।

यसले कर्णालीको कृषि क्षेत्रलाई माथि उठाउने र कृषकको आयस्रोत वृद्धि हुने अपेक्षा गरिएको राष्ट्रिय कृषक महासंघका उपाध्यक्ष शसिराम आचार्यले जानकारी दिए । ‘कार्यक्रम राम्रो छ,’ उनले भने, ‘यसको प्रभावकारीतालाई ध्यान दिन जरुरी छ ।’ उक्त अभियान गत वर्षदेखि सुरु भएको हो ।

प्रकाशित: २३ जेष्ठ २०७७ १८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App