१ असार २०८३ सोमबार
image/svg+xml
अर्थ

'उद्यमी महिलाको लागि विशेष कार्यक्रम'

काठमाडौं, फागुन २७ (नागरिक)- उद्योग मन्त्री अनिल कुमार झाले महिला उद्यमीको लागि सरकारले छिट्टै नयाँ कार्यक्रम ल्याउने बताएका छन्। १ सय २ औं नारी दिवसको अवसरमा महिला उद्यमी महासंघ नेपाल(एफविन) र नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसिआई)को आयोजनामा बिहिबारदेखि राजधानीमा सुरु भएको कार्यक्रमलाई समापन गर्दै मन्त्री झाले यस्तो कार्यक्रम ल्याउने तयारी भइरहेका बताए। 'समाज विकासको लागि महिला सशक्त हुनुपर्छ। महिला उद्यमी नभई सृष्टि रहँदैन,' उनले भने, ' त्यसैले महिला उद्यमीको लागि सरकार जहिल्यै सकारात्मक छ।'

विदेशमा रहेका महिलाले जोखिम मोलेर काम गरिरहेको उल्लेख गर्दै उनले वैदेशिक रोजगारीमा जाने महिलाका लागि जोखिम कम गर्न र स्वदेशमै रोजगारीका अवसर सृजना गर्न सरकार लागि पर्ने बताए। 'परिश्रमी हातलाई प्रत्साहन गर्ने सरकारको पहिलो प्राथमिकता हो,' उनले भने, 'महिला उद्यमीको पक्षमा काम गर्ने र उनीहरुको काममा सरकार सधैं होस्टेमा हैसे मिलाउनेछ।'

कार्यक्रमको दोस्रोदिन विभिन्न घरेलु उद्यमीलहरुले आफूले भोगेका समस्या एक अर्कँमा साटासाट गरेका थिए। डेरी र मसरुम व्यवसायलाई लक्षित गरेर कार्यपत्र प्रस्तुत गरिएको थियो। नेपालमा घरेलु सामाग्रीको माग धेरै भएको तर आपूर्ति गर्न नसकिएको बताएका थिए। मैनवत्ति, डेरी, बाँस, च्याउ, अल्लो लगायतका घरेलु सामान बनाउँदै आएका महिला उद्यमीले आफ्ना सुख र दुख कार्यक्रममा पोखेका थिए।

कार्यक्रममा एफविनकी अध्यक्ष छायाँ शर्माले मन्त्री समक्ष घरेलु तथा साना उद्योग कोषमा एफविनलाई सदस्य राखनुपर्ने माग गरिन्। 'उद्यमी महिलाहरुको समस्यालाई सरकारले लबिङ गरिदिनु पर्छ,' शर्माले भनिन्, 'उद्यमको लागि चल्ने ट्रेनिङ, ट्रेड फेयर र क्षत्रीय मेलामा सहयोग गरिदिनुपर्‍यो।' शर्माले घरेलु उद्योगलाई प्रोत्साहित गर्नुपर्ने र नेपालमै रोजगारी सृजना गरिए नेपाली महिलाहरु विदेशीनबाट रोक्नुपर्ने बताइन्।

प्रकाशित: २६ फाल्गुन २०६८ १८:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App