coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तरकारीमा बिचौलीयाको प्रभाव : एक दिनमै आधा सस्तो

तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा व्यापारीबाट खोसिएको तरकारी र फलफूल डोजर लगाएर पुर्दै । आयात खुलाएसँगै पोखरामा तरकारीको भाउ आधाले घटेको छ । तस्बिरः नागरिक

मंगलबार पोखरामा गोलभेंडाको प्रतिकिलो मूल्य १२० रुपैयाँ थियो । बुधबार त्यो मूल्य ६० रुपैयाँमा झरेको छ । त्यस्तै प्रतिकिलो एकसय रुपैयाँको सिमिको भाउ ६० र घिरौंलाको मूल्य १२० बाट ५० रुपैयाँमा झरेको छ । त्यसैगरि किलोको १३० रुपैयाँ रहेको बोडि अहिले ८० मा झरेको छ । प्रतिकिलो एकसय रुपैयाँको भिन्डि र काउलीको मूल्य अहिले ६० रुपैयाँमा झरेको छ ।  

तरकारीमा बिचौलीया कतिसम्म हावि हुन्छन् भन्ने पोखरामा पछिल्लो दुई दिनको मूल्यसुँची हेरे थाहा हुन्छ । कोरोना महामारीबीच केही व्यावसायीले एकाधिकार कायम गर्दा आकाशिएको तरकारीको मूल्य खुलमखुला ओसारपसार गर्न दिनासाथ आधा सस्तो भएको छ ।  

व्यापारीको मनोमानीमा आकाशिएको तरकारीको भाउ बजारमा सहज आपुर्ति सुरु हुनासाथ एकाएक आधामा झरेको छ । दुई दिनको अन्तरमा तरकारीको मूल्य आधा सस्तिएपछि उपभोक्ताले राहत महसुस गरेका छन् । विभिन्न जिल्लाबाट भित्रिएको तरकारीबाट कोरोना संक्रमण फैलिने भन्दै केही व्यावसायी, स्थानीयबासी सहित स्थानीय तहका पदाधिकारीले ओसारपसारमा रोक लगाएका थिए ।  

मनलाग्दी तरिकाले भाउ बढाउने मनसायले व्यावसायी नै बाहिरबाट तरकारी ल्याउन नदिन अग्रसर भएका थिए । बाहिरबाट ल्याउन नदिने र आफुसँगको ‘स्टक’ तरकारी महंगोमा बेच्ने योजना व्यावसायीले बनाएका थिए । त्यहीबेला स्थानीय तहले पनि बाहिरी उत्पादन भित्र्याउन रोक लगाउँदा व्यावसायीलाई मूल्य बढाउन झनै सहज भएको थियो । यतिसम्मकी बजारमा तरकारी अभाव देखाएर स्थानीय उत्पादनलाई पनि महंगोमा उपभोक्तालाई बेच्ने गरिएको थियो ।  

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला भन्छन, ‘मूल्यवृद्धि र कालोबजारी रोक्नुुपर्ने कोरोना महामारीको बेला झनै बढाउने वातावरण सिर्जना गरिएको थियो । अहिले सबैतिरको दवावमा एकाधिकार रोकिएको छ ।’ उनका अनुसार व्यावसायीको मिलोमतोमा तरकारीको भाउ एकाएक बढाइएको हो । ‘कोरोना संक्रमण फैलिने त्रास देखाएर व्यावसायी आफैले बाहिरबाट तरकारी ल्याउन हुँदैन भनेर आयात रोक्न लगाए । बाहिरबाट आयात नभएको मौका पारेर स्टक तरकारी महंगोमा बेचे,’ उनले भने, ‘आफ्नो स्टक सकिएपछि बल्ल बाहिरबाट आयात गर्नुपर्छ भनेर उनै व्यावसायी कुर्लन थाले ।’ व्यावसायीकोे त्यो योजनामा स्थानीय तहले पनि साथ दिँदा मूल्य बढाउन सहज भएको उनले बताए ।  

कानुन हातमा लिने केही व्यावसायी र स्थानीय तहका पदाधिकारीले नै गैरजिम्मेवार तवरले काम गरेको उनले बताए । ‘आयात त रोकियो नै जसोतसो भित्रिएको तरकारी पनि खाडलमा पुरियो,’ कोइरालाले भने, ‘सबैतिरबाट भित्रिन रोकेर आफुसँग भएको सामान महंगोमा बेच्न व्यावसायी सफल भए । त्यसले उपभोक्तालाई मार पर्‍यो । खुद्रे व्यावसायीको व्यापार अधिकार हनन भयो । उपभोक्ताले पनि महंगोमा किन्न पर्‍यो ।’

व्यावसायीले मात्र तरकारी आयात रोकेनन् की यहीबीचमा पोखरा महानगरपालिकाले पनि बाहिरबाट आयातमा रोक लगायो । त्यसले गर्दा व्यावसायीलाई तरकारीको मूल्य बढाउन झनै सहज भएको कोइरालाले बताए । यतिसम्मकी संक्रमणको त्रास बढेको भन्दै छिमेकी जिल्लामा उत्पादित बस्तु समेत भित्र्याउन रोक लगाइएको थियो । भित्रिएको तरकारी पनि व्यावसायीबाट खोसेर खाडलमा पुरिएको थियो । ठाउँठाउँमा तरकारी पुर्न थालेपछि व्यापक आलोचना समेत भएको थियो । पोखरा महानगरपालिकाले पनि बाहिरबाट पोखराभित्र तरकारी आयात गर्न रोक लगाएको थियो । महानगरले लगाएको रोक अहिले खुला गरेको छ ।  

महानगरले रोक लगाएपछि पोखरा–१५ का वडा पदाधिकारीकै रोहवरमा तरकारी गाडिएको थियो । त्यस्तै तनहुँको शुक्लागण्डकीको दुलेगौंडामा पनि व्यावसायीको तरकारी खोसेर खाडमा पुरिएको थियो । तरकारीका केही व्यावसायी नै बिचौलीया हावी हुँदा मूल्य आकाशिएको बताउँछन् । ‘दुईदिनको अन्तरमा तरकारीको मूल्य आधा सस्तो भएको छ । यो बेला विरोध हुँदैनथ्यो भने उपभोक्ताले तरकारी खान सक्ने अवस्था आउने थिएन,’ तरकारीका थोक तथा खुद्रा ब्यापारी दीपक श्रेष्ठ भन्छन, ‘सबैतिरबाट आयात हुनासाथ मूल्य एकाएक घटेको छ । मंगलबारसम्म महंगो रहेको तरकारी बुधबारै सस्तो भईसक्यो ।’

श्रेष्ठक ाअनुसार आयात रोक्दा धादिङ, चितवन, मकवानपु र तनहुँको तरकारी किसानकै बारिमा रोकिएको थियो । किसानको खेतबारीमा रहेको तरकारी कुहिने अवस्थाम पुग्न थालेको थियो । तर, मंगलबारलेखि खुला गर्नासाथ तरकारी भित्रिएको र त्यसले मुल्य एकाएक घटाएको उनले बताए । ‘केहीदिनको अन्तरमा तरकारीको मूल्यमा उथलपुथल हुन सक्यो । तरकारी गाड्ने र आयात रोक्ने क्रम बन्द हुनासाथ मुल्य सस्तो भईहाल्यो,’ उनले भने । व्यावसायी श्रेष्ठका अनुसार आयात रोकिएको भए अहिले गोलभेडाको मुल्य किलोको एकसय ५० रुपैयाँ पुगिसक्थ्यो । ‘तरकारी व्यापारीको रुपमा बिचौलिया हावी हुँदा यो अवस्था आयो । बाहिरबाट नल्याउने हो भने स्थानीय उत्पादनले थेग्दैन,’ उनले भने । बाहिरबाट आयात रोकेको मौका पारेर स्थानीय किसानले पनि भाउ बढाईसकेका थिए । बजारको भाउ बुझेर स्थानीयले उत्पादनको मुल्य तोक्ने गरेका छन् ।

तरकारीकोे भाउ केहीदिनको अन्तरमा घट्दा उपभोक्ता भने खुसी छन् । ‘अघिल्लो दिन प्रतिकिलो १२० रुपैयाँ पर्ने गोलभेंडा भोलिपल्ट आधामा घटेको छ,’ उपभोक्ता बिजय केसी भन्छन, ‘व्यावसायीले बद्मासी गरेपछि त्यसको मारमा उपभोक्ता परेका छन् ।’ उनले सबैखाले तरकारीको भाउ अहिले सस्तिएको बताए ।  

तरकारी आयात रोकेर पनि खुला गरिसकेको महानगर यतिबेला सबैतिर आलोचित छ । महानगरको अदूरदर्शी निर्णय र केही व्यावसायीको मनोमानीमा उपभोक्ता मारमा परेका महानगरकै पदाधिकारी बताउँछन् । ‘व्यावासायीकै मनोवल बढ्ने गरि महानगरले बाहिरबाट तरकारी आयात नगर्ने त भन्यो, तर, त्यसको असर कत्तिको पर्छ भन्ने आँकलन गर्न सकेन,’ महानगरका एकजना अधिकृत भन्छन, ‘महानगरले गरेको निर्णयले व्यावसायीलाई झनै साथ मिल्यो । बिचौलीयाई महानगरले परास्त गर्न नसकेको हो ।’  

महानगरले नै तरकारी आयात बन्द गरेजस्तो देखाउँदै व्यावसायीले स्टक तरकारी महंगोमा बेचेको ती अधिकृतले बताए । ‘स्टक रहेको र शक्तिको दुरुपयोग गरेर भित्र्याएको तरकारी आफूखुसी मूल्य तोकेर बेच्न केही व्यावसायी सफल भए,’ उनले भने, ‘व्यावयासायीले नै बढी मुल्यमा बेच्न पाउँ भनेको जस्तो भयो ।’ आयात रोक्दा प्रतिश्पर्धा हुन नपाएर मूल्य महंगो परेको उनले बताए । बाहिरबाट तरकारी नआएको थाहा पाउनासाथ व्यापारीलाई नै मुल्य बढाउन सहज भएको ती अधिकृतले बताए ।  

‘अहिलेको अवस्थामा कि त किसान र कि उपभोक्ता लुट्ने काम भएको छ,’ उनले भने, ‘सबैतिर बिचौलीयाको प्रभाव परेको हो । कसैको उक्साहटमा यस्तो भयो ।’ तरकारी बजारको भीडभाडका कारण संक्रमणको त्रास भने रहेको उनले बताए ।  

 

 

 

 

प्रकाशित: २१ जेष्ठ २०७७ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App