८ वैशाख २०८१ शनिबार
अर्थ

भूमिगत लाइन विस्तारका कारण गौशला-चुचेपाटी सडक कालोपत्रे अर्काे वर्ष धकेलिने सम्भावना

विद्युत् प्राधिकरणले तोकिएको समयभित्रै गौशला चाबहिल चुचेपाटी सडकखण्डमा भूमिगत प्रसारणलाइन विस्तार गर्न नसक्दा सडक कालोपत्रे अर्काे वर्ष धकेलिने सम्भावना बढेको छ। नेपाल विद्युत् प्राधिकरणले एक साताभित्रै भूमिगत प्रसारणलाइन विस्तार गर्ने लक्ष्यसहित गत वैशाख महिनामा भूमिगत विद्युतीय प्रसारणलाइनको काम सुरु गरेको थियो। प्राधिकरणले गत वैशाखको दोस्रो साता नहुँदै काम थालेको थियो।  

तर,प्राधिकरणले काम सुरु गरेको एक महिना बित्दासमेत अझैसम्म गौशला चावहिल चुचेपाटी सडक खण्डमा विद्युतीय प्रसारणलाइनको काम सम्पन्न गर्न सकेको छैन। प्राधिकरणले समयमै काम नसक्दा अहिले उक्त सडकखण्ड धुलाम्मे भएर सर्वसाधारण आजित भएका छन्। भने अर्काेतर्फ चालु आर्थिक वर्षभित्रै उक्त सडक खण्ड कालोपत्रे गर्ने लक्ष्यसमेत प्रभावित हुने जोखिम बढेको छ।

‘होरिजेन्टल डाइमेन्सन ड्रिलिङ मेसिन ’ को सहायताले जमिनमुनि खाल्डो खनेर भूमीगत विद्युतीय प्रसारण गर्ने भनिएता पनि प्राधिकरणले  उक्त खण्डमा जभाभावि रुपमा सडकमा खाल्डा सडक खनेर नै विद्युतीय प्रसारणलाइनको काम गरिरहेको छ। उक्त सडक खण्ड करिव साढे दुई किलोमिटर लम्बाई रहेको छ।  अहिले उक्त खण्डको सडक लथालिंग अवस्थामा रहेको छ। सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले प्राधिकरणले एक सातामा भित्रै गौशला चाबहिल चुचेपाटी सडक खण्डमा भूमिगत विद्युतीय प्रसारणलाइनको काम सम्पन्न गर्ने भनेपनि अहिलेसम्म  सम्पन्न गर्न नसकेको बताए। ‘प्राधिकरणले एक साताभित्रै भूमिगत प्रसारणलाइनको काम सक्छौं भनेर काम थालेको थियो। 

तर,अहिलेसम्म भूमिगत प्रसारणलाइनको काम सम्पन्न हुन सकेको छैन,’ उनले भने,  ‘प्राधिकरणले समयमैं प्रसारणलाइनको काम नसक्दा सडक कालोपत्रेको काम प्रभावित भएको छ। प्राधिकरणले दुई चार दिनभित्रै सक्छु भन्छन्। तर,अहिलेसम्म सकेका छैनन्।,’ प्रमुख नेपाली  प्राधिकरणको ढिलासुस्ती र अर्काेतर्फ निर्माण सामग्रीको अभावको कारणले गौशाला चावहिल चुचेपाटी सडक खण्डको चालु आवभित्रै निर्माण सम्पन्न गर्न धेरै चुनौती थपिएको बताउँछन्।

 ‘एकातर्फ लकडाउनको कारणले सहज ढंगले निर्माण सामग्री पाइएको छैन। अर्काेतर्फ प्राधिकरणको ढिलासुस्तीले कारणले कालोपत्रे गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘अब प्राधिकरणले जतिसक्दो छिटो काम सम्पन्न गर्छ। सोही अनुसार नै कालोपत्रे गर्ने योजना बनाइरहेका छौं।’ नेपाल  विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले लकडाउनको कारणले बाहिरी जिल्ला र छिमेकीमुलुकबाट काम गर्ने कामदार ल्याउन नसक्दा केही ढिलासुस्ती भएको स्वीकारे।  

‘अहिले बाहिरी जिल्ला र छिमेकीमुलुकाबाट कामदार ल्याउने अवस्था नै छैन। अर्काेतर्फ सरकारले पास उपलब्ध  नगराउँदा पनि तोकिएको समयभित्रै भूमिगत प्रसारणलाइन निर्माण हुन नसकेको हो,’ प्रवन्ध निर्देशक घिसिङले नागरिकसँग भने ‘अबको एक साताभित्रै भूमिगत प्रसारणलाइनको काम सम्पन्न गर्नेछौं।’ प्रवन्ध निर्देशक घिसिङले चाबहिल चुचेपाटी सडकखण्ड कालोपत्रे नगरिएकाले खाल्डो खनेर नै भूमिगत विद्युतीय प्रसारणलाइन विस्तार गरिएको दावी गरे।

उनले खुल्ला खडक भएकाले खाल्डो खनेर नै विस्तार गरिएको अनेत्र भने यस्तो तरिकाले विस्तार गरिने छैन। काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले काठमाडौंको भित्री इलाका असन, इन्द्रचोक, न्युरोडहुँदै एअरपोर्ट, चाबहिलदेखि बौद्धसम्म भूमिगत तार विस्तार गर्न लागिएको हो। यो खण्डको विद्युतीय प्रसारणलाइन निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी केइआई इन्ड्रस्टिजले पाएको थियो। उक्त निर्माण कार्यको ठेक्का सम्झौता २०७५ चैतमा भएको थियो। सम्झौताअनुसार रत्नपार्क वितरण केन्द्रमा भूमिगत विद्युतीकरण गर्न ३० महिनाको अवधि राखिएको छ।  आयोजनाअन्तर्गतको ११ केभीको १३५ किलोमिटर र ४०० भोल्टको दुई सय किलोमिटर भूमिगत विद्युती यलाइन विस्तार गर्न भ्याटसहित ८३ करोड १४ लाख लाग्ने अनुमान छ।

प्रकाशित: १५ जेष्ठ २०७७ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App