१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

यार्सा प्रतिबन्धले जीविकोपार्जनमा समस्या

 कोरोना भाइरसको जोखिम र लकडाउनका कारण यार्सा संकलनमा प्रतिबन्ध लगाइएपछि विपन्न परिवारको जीविकोपार्जनमा समस्या देखिएको छ । रुकुम पूर्व र डोल्पाका स्थानीयको आयआर्जनको मुख्य स्रोत नै यार्सा संकलन हो ।  

‘यो वर्ष यार्सा टिप्न नपाइएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको छ,’ रुकुम पूर्वका मैकोटका सुविन्द्र पुनले भन्ने, ‘२० वर्षदेखि यार्सा टिपेरै परिवारको वर्षभरिको खर्च टार्दै आएको छु ।’ उनका अनुसार भिरालो र सिँचाइ नहुँने क्षेत्र भएकाले गाउँमा अन्न उत्पादन न्यून हुन्छ । गत वर्ष उनी एक्लैले यार्सा टिपेर दुई लाख १६ हजार रुपैयाँ कमाएको उनले बताए ।

कोरोना भाइरसको जोखिमका कारण डोल्पा र रुकुम पूर्वमा रहेका जिल्ला विपद व्यवयस्थापन समितिले यस वर्ष पाटन खुला नगर्ने निर्णय गरेका छन् । गत वर्ष पाटनमै पाँच सयदेखि एक हजार रुपैयाँमा यार्सा बिक्री भएको थियो ।

रुकुम पूर्वका हुकाम, मैकोट, पेल्मा, तकसेरा, काडा, कोललगायतका गाउँका करिब सात सय परिवारको मुख्य कमाइ पनि यार्सा बिक्री नै हो । यार्साको भरमा बाँचेका विपन्न परिवारलाई यो वर्ष जीविकोपार्जनको चिन्ताले सताएको हुकामका रामकृष्ण झाँक्रीले बताए । ‘जागिर छैन, मजदुरी गर्न खोज्दा पनि काम पाइँदैन,’ उनले भने, ‘विकास योजना पनि ठप्प छन्, कसरी परिवार पाल्ने ?’

जिल्ला प्रशासनले यार्सा प्रतिबन्धको निर्णय गरेपछि पाटन आसपासका क्षेत्र सुनसान छन् । पाटन नखुलेपछि ठेकेदार र होटेल व्यवसायीसमेत समस्यामा परेका छन् । यहाँका पाटनहरु गत वर्षसम्म यार्सा संकलनको बेला भरिभराउ हुन्थे । यार्सा संकलन बन्द हुँदा राजस्व संकलनसमेत शून्य भएको डिभिजन वन कार्यालय रुकुम पूर्वका रेञ्जर विश्व केसीले बताए । उनका अनुसार गत वर्ष यार्सा संकलनबाटै ३५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । पाटनमा संकलकको भीड हुँदा कोरोना भाइरस संक्रमणको जोखिम बढी देखिएपछि प्रतिबन्धको निर्णय भएको उनको भनाइ छ । यो सिजनमा यार्सा नटिप्दा अर्काे वर्ष उत्पादनमा बृद्धि हुने अपेक्षा छ रेञ्जर केसीको छ । 

प्रकाशित: ५ जेष्ठ २०७७ ०९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App