२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

बेलिब्रिज निकाल्न लाग्दा उपभोग्य वस्तु ढुवानीको चटारो

खोटाङ – सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज निकाल्ने मिति नजिकिँदै गर्दा खोटाङका दुई गाउँपालिकामा उपभोग्यवस्तु एबं निर्माण सामग्री ढुवानी तीव्र पारिएको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटामा लगाइएको अस्थायी बेलिब्रज वर्षा सुरु भएसँगै आगामी जेठ ५ गतेदेखि निकाल्ने तयारी थालिएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिकामा सो बेलिब्रज निकाल्न अगावै उपभोग्यवस्तु एबं निर्माण सामग्री भित्र्याउने चटारो लागेको हो ।  

गाउँपालिकाको समन्वयमा सम्वन्धित गाउँपालिकाका व्यवसायीले चामल, दाल, नुन, तेल, सिमेन्ट, रड, तार जाली, पाईप, जस्ता लगायतका दैनिक उपभोग्यवस्तु एबं निर्माण सामग्री भित्र्याइरहेका छन् । जेठ ३ गतेदेखि हटाउने भनिएको अस्थायी फोक्सिङटारको बेलिब्रिज ५ गतेदेखि हटाउने तयारी भइरहेको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताए । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिकाको आँपटार जोड्ने बेलिब्रिज निकाल्ने मिति दुई दिन पर सरेपछि दुई गाउँपालिकाका व्यवसायीलाई उपभोग्य सामान तथा निर्माण सामग्री भित्र्याउन भ्याइनभ्याइ छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा हालसम्म दुई महिनालाई पुग्ने खाद्य सामग्री भित्रिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । ‘गाउँपालिकाभित्र जेठ र असारलाई पुग्ने उपभोग्य सामग्री ढुवानी भइसकेको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘गाउँपालिकाबाट सञ्चालित केही बाहेक सबै योजनाको निर्माण सामग्री पनि ल्याइसकिएको छ ।’  

जारी लकडाउन अझै लम्बिने संकेत देखिएको तथा फोक्सिङटारको बेलिब्रिज निकालेपछि लामो र घुमाउरो बाटो प्रयोग गरेर सामान ढुवानी गर्नुपर्ने भएकाले गाउँपालिकामा सोभन्दा अगाडि नै आवश्यक खाद्य तथा निर्माण सामग्री भित्र्याउने हतारो भएको हो । खोटेहाङ गाउँपालिकामा पनि केही महिनाका लागि पुग्ने खाद्य सामग्री भित्रिसकेको छ । व्यवसायीले उपभोग्य एबं निर्माण सामग्री अझै पनि ढुवानी गरिरहेको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । ‘खोटाङ र उदयपुर प्रशासनसँग समन्वय गरेर खाद्य सामग्री ल्याएर स्टोर गरिसकिएको छ, निर्माणका सामग्री पनि भित्रिरहेको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘ठाउँ–ठाउँमा छेक्ने भएकाले मल ल्याउन भने समस्या भइरहेको छ । ललितपुरबाट ९२ टन मलमध्ये २० टन मल मात्र आइपुगेको छ ।’  

साकेला गाउँपालिकामा भने फोक्सिङटारको बेलिब्रिज निकाल्दा पनि खासै अशर नपर्ने जनप्रतिनिधि बताउँछन् । आवश्यक सामग्री दिक्तेल वा भोजपुरको बाटो हुँदै गाउँपालिका ल्याइने साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए । सुनकोसीस्थित फोक्सिङटारमा जडान गरिएको बेलिब्रिज गत मंसिर २७ गतेदेखि सञ्चालनमा आएको हो ।  

पुलको अभावमा फोक्सिङटारमा हरेक दिउँदमा बेलिब्रिज राख्ने र वर्षा लागेपछि झिक्ने गरिएको छ । खोटेहाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका, साकेला गाउँपालिका लगायतका स्थानीयलाई पुर्वी शहर आउजाउ गर्नका लागि फोक्सिङटारको बेलिब्रिजको बाटो सबैभन्दा छोटो दुरीको हो । १०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारको बेलिब्रिज हटाइएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने छोटो बाटो वर्षाभरीका लागि बन्द हुने छ । त्यही भएर दिप्रुङ चुईचुम्मा र खोटेहाङ गाउँपालिकाले सो बेलिब्रिज निकाल्न अगाडि आवश्यक सामान भित्र्याएर स्टकमा राख्नका लागि व्यवसायीलाई आग्रह गरेको थियो ।  

फोक्सिङटारको बेलिब्रिज हटाइएपछि घुमाउरो बाटो उपयोग गरेर सामान ढुवानी गर्नुपर्ने अवस्था आउने भएकाले दुई गाउँपालिकाले सो भन्दा अगावै उपभोग्य सामग्री ढुवानी गर्ने र स्टक गर्ने निर्णय गरेका थिए ।  

 

प्रकाशित: ३ जेष्ठ २०७७ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App