९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

बजेटमा राहत प्याकेज ल्याऊ : उद्योग वाणिज्य महासंघ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघले कोमामा जान लागेको अर्थतन्त्रलाई बचाउन आगामी बजेटमार्फत प्याकेज ल्याउन जोड दिएको छ। महासंघले उद्योगी व्यवसायीका कुरालाई नसुनिए आउंदो दिनमा मुलुक आर्थिक रूपमा निकै ठूलो समस्यामा जाने चिन्तासमेत प्रकट गरेको छ।

महासंघले प्रदेश च्याप्टरका पदाधिकारीसँग कोभिड १९ ले पारेको असरका बारेमा गरेको छलफलमा सरकारलाई प्याकेज ल्याउन जोड दिएको हो। 

महासंघले स्थानीय उद्यमी व्यवसायीको समस्या सुनी संघीय सरकारलाई सुझाव दिने उद्देश्य अनुरूप छलफल गरेको हो।

विश्वका अधिकांश राष्ट्रले उद्योग व्यवसाय सहित अर्थतन्त्र संरक्षणका लागि महत्वपूर्ण राहत कार्यक्रम घोषणा गरी सकेको तर नेपाल सरकारले भने अहिलेसम्म आकर्षक (स्टिमुलस प्याकेज) ल्याउन नसकेको भन्दै आगामी बजेट मार्फत त्यस्ता कार्यक्रम ल्याउन माग गरिएको थियो।

उद्योग व्यवसाय बचाउन बैंक तथा उद्योगी व्यवसायी बीच सहकार्य हुनुपर्नेमा सहभागीहरुले जोड दिए।विद्युत डिमाण्ड चार्ज छुटदिनुपर्ने, अतिसंवेदनशील क्षेत्रलाई बढी निगरानीमा राखेर सामान्य जिल्लामा आन्तरिक रूपमै भए पनि आर्थिक गतिविधि चालु गर्नुपर्ने, लकडाउनको समयको बैंक व्याज मिन्हा गर्नुपर्नेलगायतका राहतका प्याकेज ल्याउनु पर्ने धारणा सहभागीहरुको थियो।

महासंघका अनुसार कृषि उत्पादन संकलन, सुरक्षित भण्डारण, आवश्यक मल वीउ विजनको पर्याप्त आपूर्ति गर्न दवाव दिनुपर्ने र निजी क्षेत्रलाई पनि मल आयात गर्ने सुविधा दिनुपर्ने धारणा पनि छलफलमा उठेको थियो।

यस्तै अहिलेसम्म संकलन भएको आयकर अन्य देशले जस्तै नेपाल सरकारले पनि कर तिरेका उद्योगी व्यवसायीलाई फिर्ता दिनुपर्ने सुझाव आएको थियो।लकडाउनको अवधिमा बैंकहरूले सेवा शुल्क र नविकरण शुल्क लिने कार्यलाई बन्द गर्नुपर्ने, पर्यटन क्षेत्रका लागि ठुलो प्याकेज ल्याउनु पर्नेमा पनि जोड दिइएको थियो। सहभागीहरुले बैंक व्याजको टुंगो नभएसम्म अवस्था सामान्य भए पनि उद्योग व्यवसाय चलाउन नसकिने धारणा राखेका थिए।

प्रकाशित: १ जेष्ठ २०७७ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App