६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

पाम आयल निकासी रोकियो

भारत सरकारले नेपाल, बंगलादेश र इन्डोनेसियाबाट पाम आयल आयात गर्न दिएको लाइसेन्स निलम्बन गरेको छ ।  

नेपाल र बंगलादेशले साफ्टा अन्तर्गतको रुल अफ ओरिजिन पालना नगरेको भन्दै नयाँ दिल्लीले यसअघि जारी गरेको लाइसेन्स निलम्बन गरेको हो । इन्डोनेसियाले पनि भारत र आसियान स्वतन्त्र व्यापार सम्झौता अन्तर्गतको रुल अफ ओरिजिन पालना नगरेको भारतीय वाणिज्य मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले सोमबार जारी गरेको परिपत्रमा उल्लेख छ । अब नेपाली पाम आयलको भारत निकासी रोकिनेछ ।

भारतले गत पुस २३ मा पाम आयल आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसको एक महिनापछि लाइसेन्सका आधारमा आयात फुकुवा गरेको थियो ।

नेपाली उद्योगले इन्डोनेसिया, मलेसिया लगायत मुलुकबाट कच्चा पाम ल्याएर प्रशोधन गरी तेल भारत निर्यात गर्छन् । नेपाली उद्योगले प्रशोधित पाम तेल बेच्ने बजार भनेको भारत मात्रै हो । त्यही बजारमा पठाउन नपाएपछि लगानी नै जोखिममा पर्ने व्यवसायी बताउँछन् । विराटनगर र वीरगन्जका गरी एक दर्जनभन्दा बढी उद्योगले कच्चा पाम आयल आयात गरी प्रशोधन गरेर भारत निकासी गर्दै आएका छन् ।

पछिल्लो समय नेपालबाट सबैभन्दा बढी निकासी हुने वस्तुमा पाम आयल छ । यसले नेपालको निकासी बढाउन ठूलो योगदान गरेको छ । सन् २०१७–१८ मा शून्य रहेको भारतर्फको पाम आयल निकासी सन् २०१९–०२० को हालसम्म एक लाख ८९ हजार ८७ मेट्रिक टन पुगेको छ । साफ्टा अन्तर्गत नेपालबाट भारतमा पाम आयल निकासी गर्दा भन्सार महसुल शून्य प्रतिशत छ ।

भारतले आफ्नो मुलुकमा यस वर्ष ११ लाख मेट्रिक टन पाम आयल आयात गर्न ३९ वटा लाइसेन्स जारी गरेको महानिर्देशनालयको आन्तरिक परिपत्रमा उल्लेख छ ।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले यस विषयमा भारतसँग छलफल गर्ने तयारी भइरहेको बताए । यसअघि पनि छलफलबाटै सल्टाइएको भन्दै उनले यसपटक पनि समाधान खोजिने बताए ।

प्रकाशित: १ जेष्ठ २०७७ ०५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App