१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ठेक्का लागेकै स्थानमा अनुमतिबेगरका डोजर (अपडेट)

दोलखाको तामाकोसी नदीस्थित भाँगेखोला बगरमा खोलाबाट बालुवा निकाल्दै गरेको डोजर। तस्बिर : रमेश / नागरिक

दोलखा – तामाकोसी नदीभित्र बालुवा उत्खनन गर्न स्थानीय सरकारले ठेक्का लगाएकै स्थानमा समेत अनुमतिबेगरका डोजर जथाभावी प्रयोग गरेर नदी दोहन गरेको खुलेको छ। लकडाउनको फाइदा उठाउँदै तामाकोसी नदी क्षेत्रमा स्थानीय सरकारमातहतका ठेक्कामा बालुवा निकाल्न प्रयोग भएका डोजरसमेत अनुमतिबेगर चलेको भेटिएका हुन्।

भीमेश्वर नगरपालिकाले तामाकोसी नदी क्षेत्रमा लगाएको ठेक्कामा चलेका कुनै पनि उपकरणले स्वीकृति लिएका छैनन्। नगरपालिकाले वडा नं ५ स्थित तामाकोसी बजार छेउको भाँगेखोला बगर र ठूला बगरमा ९ महिनाका लागि ठेक्का लगाएको थियो। नगर क्षेत्रभित्र पर्ने सात स्थानमा बालुवा तथा ढुंगा गिटी उत्खननका लागि गत वर्ष ठेक्का निकालिए पनि तामाकोसी नदीको भाँगेखोला बगर र ठूला बगर गरेर दुई स्थानमा मात्र बोलपत्र दाखिला भएको थियो।

 ठेक्का निकाल्नुअघि नगरले अध्ययन गरी तयार पारेको वातावरणीय प्रभाव मूल्यांकनमा सकभर हातेऔजार र मानव जनशक्ति प्रयोग गरेर बालुवा निकाल्नुपर्ने उल्लेख छ। प्रतिवेदनमा विशेष परिस्थितिमा मात्र उपकरण प्रयोग गर्न सकिने र त्यसरी प्रयोग गर्नुपरे नगरपालिकाको अनिवार्य स्वीकृति लिनुपर्ने उल्लेख छ। हेभी उपकरण प्रयोग गर्दा नदीमा पर्यावरणीय असर पर्ने कारण डोजर, स्काभेटरजस्ता उपकरण प्रयोग गर्न कडा सर्त प्रतिवेदनले राखेको छ। यस्तै, बगर क्षेत्रबाट बालुवा तथा ढुंगा उत्खनन गर्दा खोलालाई असर नगर्ने गरी बगरको निश्चित क्षेत्र र निश्चित भागमा मात्र निकाल्न पाइने उल्लेख छ।  

तर नगरपालिकाबाट भाँगेखोला बगरबाट आठ हजार तीन सय घनमिटर गिटी बालुवा निकाल्ने ठेक्का लिएको सन्तोष कन्स्ट्रक्सन र ठूला बगरबाट पाँच हजार दुई सय ५० घनमिटर निकाल्ने ठेक्का पाएको मैया निर्माण सेवाले डोजर, स्काभेटर, ट्रिपरजस्ता उपकरण प्रयोगको अनुमति लिएका छैनन्। नगरपालिका कार्यालयको आन्तरिक लेखा परीक्षण शाखाका प्रमुख ज्ञानुकुमार खड्काले नगरले ठेक्का लगाएका कुनै पनि स्थानमा मेसिन तथा उपकरण सञ्चालनका लागि अनुमति मागिएको रेकर्ड नरहेको सुनाए। ‘हो वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार सम्झौताको सर्तमा सकभर मजदुरबाट उत्खनन गर्नुपर्ने यदि प्रयोग गर्नैपर्ने परिस्थिति आए नगरपालिकाको पूर्वस्वीकृति लिनुपर्ने भनेरै उल्लेख छ,’ उनले भने, ‘यदि उहाँहरूले त्यसरी उपकरण प्रयोग गर्नुभएको छ भने नगरपालिकामा स्वीकृति लिनुभएको छैन।’  

खड्काका अनुसार ठेक्का नगरपालिकाले लगाए पनि सोको अनुगमन जिल्ला समन्वय समितिबाट हुने हुँदा नगरपालिकालाई मेसिन, उपकरण प्रयोग गरे÷नगरेको जानकारी नभएको हो। ‘नगरपालिका कार्यालयले ठेक्का लगाउने मात्र हो, अनुगमन गर्ने भनेर उल्लेख छैन, निरन्तर अनुगमन गर्न जिल्ला समन्वय समितिमा संयन्त्र हुन्छ,’ उनले भने।  

प्रशासनको अनुगमन

लकडाउनका बेला तामाकोसी नदीमा खोलाभित्रै डोजर हालेर चरम दोहन गरिएको समाचार सार्वजनिक भएपछि सोमबार जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयसहित स्थानीय अधिकारीहरूको टोलीले नदी क्षेत्रको निरीक्षण गरेका छन्।  

सोही क्रममा खोलाभित्रै हालिएको एउटा डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मासहित जिल्ला तहका सुरक्षा अधिकारीहरू सोमबार दिउँसो तामाकोसी नदी क्षेत्रमा नदीजन्य पदार्थको उत्खनन् भइरहेको स्थान निरीक्षण गर्ने क्रममा किर्नेटारसम्म पुगेका थिए।  

प्रकाशित: ३० वैशाख २०७७ १४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App