१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

उदयपुर सिमेन्टलाई ४० करोड घाटा

उदयपुर सिमेन्ट उद्योग । तस्बिर : महेश्वर/नागरिक

उदयपुर, - लकडाउन सुरु भएसँगै बन्द गैंडा छाप सिमेन्ट उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) छिटो सञ्चालन गर्नुपर्ने जिल्लाबासी, मजदुर र कर्मचारीले माग गरेका छन् । लकडाउन केही खुकुलो गरेसँगै विकास निर्माणका काम सुचारु हुन थालेपछि सिमेन्ट अभाव हुन नदिन पनि उद्योग तत्काल सञ्चालन गर्नुपर्ने उनीहरुको माग छ ।

महाप्रबन्धक (जिएम) नवलकिशोर साह पनि आउँदो दुई–अढाइ महिना सिमेन्ट अत्यधिक बिक्री हुने सिजन भएकाले जतिसक्दो चाँडो उत्पादन थाल्नुपर्ने बताउँछन् । लगातार डेढ महिनादेखि ठप्प उद्योगलाई करोडौं व्यावसायिक घाटा भइसकेको अवस्थामा थप नोक्सानी रोक्न तत्कालै सञ्चालन गर्नुपर्ने खाँचो उनी औंल्याउँछन् । पिक सिजनमा जति बढी उत्पादन गर्न सक्यो त्यत्ति बिक्री गरेर नाफा आर्जन हुने भएकाले उद्योग तत्काल सञ्चालनमा ल्याउने वातावरण बनाउन सरकारको ध्यान जानुपर्ने साहले बताए । 

दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमताको उद्योगले लकडाउन अवधिमा झन्डै ४० करोड व्यावसायिक घाटा बेहोरिसकेको छ । पूर्ण स्तरमा नचलेर दैनिक सरदर ६ सय टन उत्पादन हुने हिसाबले पनि लकडाउनको ४४ दिनमा २६ हजार चार सय टन सिमेन्ट उत्पादन उद्योगले गुमाइसकेको जिएम साहको भनाइ छ । 

उनका अनुसार त्यो परिमाण भनेको पाँच लाख २८ हजार बोरा हो, जसको हाल कायम मूल्य प्रतिबोरा सात सय ४१ ले गुणन गर्दा ३९ करोड १२ लाख ४८ हजार रुपैयाँ हुन आउँछ । लकडाउनले कामै नगरी बस्नुपर्दा तीन सय ८० कर्मचारीलाई मासिक ६२ लाख तलब भत्ताबापत झण्डै एक करोड अर्थात ९३ लाख थप अनुत्पादक भार उद्योगलाई परेको छ । 

‘लगातार ४४ दिनको लकडाउनले लगभग ४० करोड बराबरको व्यावसायिक घाटा भइसक्यो, ठूलो संख्याका कर्मचारीको तलबभत्ता दिनै प-यो,’ जिएम साहले भने ।  

कुन प्रक्रियाले हुन्छ छिटोभन्दा छिटो उद्योग चलाउने वातावरण बनाउन उनले माग गरे । साहले मन्त्रालय, स्थानीय जनप्रतिनिधि र प्रशासन तथा व्यापारीसँग सामूहिक छलफल र सहकार्यबाट जसरी हुन्छ तत्काल उद्योगले उत्पादन थाल्नुपर्ने माग गरे । कोरोना संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाएर उद्योग तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा उनले जोड दिए । 

उद्योगका नायव महाप्रबन्धक (डिजिएम) ध्रुव देवकोटाले लकडाउनले गर्दा उद्योग दैनिक करोड हाराहारी घाटामा रहेको बताए । सरकारी स्वामित्व भएकाले उद्योग चलाउने, नचलाउने निर्णय मन्त्रालयले नै गर्ने भए पनि स्थानीय जनप्रतिनिधि, प्रशासन र बुद्धिजीवि अगुवाको पनि भूमिका हुने डिजिएम देवकोटाले बताए । लकडाउनले उत्पादन रोकिनु र कर्मचारी तलबभत्ताको खर्च मात्र नभएर मेसिन उपकरण नचलाउँदा खिया लागेर ह्रास आउने अर्को अदृश्य घाटा पनि हुने उनको भनाइ छ । 

उद्योगका प्रवक्ता रामबहादुर जिसीले झन्डै एक लाख बोरा बराबरको क्लिंकर उद्योगमा मौज्दात रहेको तर, पिक सिजनमा ८–१० दिनभित्रै बिक्री भइ सक्ने हुनाले छिटो उद्योग सञ्चालन गर्नुपर्ने बताए । 

निर्माण कार्यको चाप बढ्ने सिजन भएकाले सिमेन्ट उत्पादन सुचारु गर्न जतिसक्दो चाँडो पहल गर्नु आवश्यक भएको उनको भनाइ छ । लकडाउनलाई ‘गैंडा छाप सिमेन्ट एकलौटी बेच्ने स्वर्ण अवसर’को रुपमा पनि उद्योगले अथ्र्याएको छ । ‘अहिले बन्दाबन्दीले बाहिरबाट कुनै सिमेन्ट ल्याउन मिल्दैन,’ उद्योगका मजदुर भन्छन्, ‘यो मौका भनेको गैंडा सिमन्ट बेच्ने स्वर्ण अवसर पनि हो । त्यसैले उद्योग छिटो चलाउने व्यवस्था गरेर उत्पादन बढाउनुपर्छ ।’

यसैबीच गत मंगलबार ६ हजार बोरा सिमेन्ट बिक्री भएको छ । प्रवक्ता तथा बिक्री विभाग प्रमुख रामबहादुर जिसीले लकडाउनकै बीच निर्माण सुचारु भएको मदन भण्डारी लोकमार्ग र चौदण्डीगढी र बेलका नगरपालिका तथा रौतामाई गाउँपालिकाले आआफ्नो स्थानीय तहमा निर्माणाधीन योजनाका लागि सिमेन्ट किनेर लगेको बताए । 

लकडाउनमा सिमेन्ट लिन आएका उनीहरुलाई उद्योगका कर्मचारीले सावधानी अपनाउँदै सिमेन्ट बिक्री गरेको जिसीले बताए । उनले ४३ दिनपछि पहिलोपटक मंगलबार ४४ लाख ४६ हजार रुपैयाँको सिमेन्ट बिक्री गरेको बताए ।
उद्योगमा सिमेन्ट किन्न अहिले पनि ग्राहक आइरहेको उनको भनाइ छ । 

प्रकाशित: २८ वैशाख २०७७ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App