१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

माघमा आइपुग्नु पर्ने ओखरका बिरुवा बैशाखको अन्त्यमा

टर्कीबाट आएका ओखरका बिरुवाको अनुगमनपछि छलफल गर्दै जिल्ला स्तरीय अनुगमन टोली । ओखरका बिरुवा बुझ्दै विभिन्न पकेट र ब्लग क्षेत्रका कृषकहरु ।

डोल्पा- ओखरको बिरुवा खरिद कार्यमा कृर्षि विकास कार्यालय डोल्पाको चरम लापरबाही देखिएको छ । डोल्पामा व्यवसायी ओखर खेतीका लागि ७ पकेट क्षेत्र र १ ब्लग क्षेत्र छनौट गरिएको थियो । कृर्षि विकास कार्यालयको लापरबाहीको कारण गएको वर्षको माघमा आइपुग्नु पर्ने सवा करोड मूल्य बराबरका विरुवा बैशाखको अन्त्यमा मात्र डोल्पामा आइपुगेका छन् । डोल्पामा नयाँ बिरुवा लगाइसक्नु पर्ने अनुकुल समय फागुन महिना हो ।

तर ढिला गरि विरुवा आएपछि दाँतेओखरको गुणस्तर र बैशाखको अन्त्यमा लगाउन उपयुक्त हुने नहुनेमा सामाजिक सन्जालमा कृर्षि विकास कार्यालयको नियतमाथि चर्को विरोध भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण, कृषि सडक, कृषि सिँचाइ लगायतका आयोजनाको अनुदान रकमबाट पन्ध्र हजार दाँते ओखरको बिरुवा खरिद गरिएको हो । टर्कीबाट च्यालन्दर जातका पन्ध्र हजार बिरुवा खरिद गरिएको कृर्षि विकास कार्यालयले जनाएको छ ।

जिल्लामै पहिलो पटक टर्किबाट १ करोड १२ लाख ५० हजार रकम बराबरका च्यालन्दर जातका ओखरका बिरुवा खरिद गरेर ल्याइएको हो । कृषकको माग अनुसार बिरुवा झिकाइए पनि विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस र यसको पूर्वसर्तकता अनुरुप सरकारले गरेको लकडाउनका कारण माघमा आइपुग्नु पर्ने विरुवा बैशाखको अन्त्यमा आइपुगेको कृर्षि विकास कार्यालय डोल्पाका प्रमुख भिमबहादुर धरलाले बताए । जिल्ला कृषि विकास कार्यालयको समन्वयमा जुम्लाको दाजु भाई नर्सरीले नेपाली एजेन्ट मार्फत पन्ध्र हजार बिरुवा खरिद गरेर डोल्पा पुर्‍याएको हो ।

सात समुन्द्र पारी टर्कीबाट ल्याइएको च्यालन्दर जातको ओखरले भने लगाएको एक बर्षमै फल दिने जिल्ला कृषि विकास कार्यालको दाबी गरेको छ । माघको अन्त्यमा जिल्लामा पुर्‍यायर लगाइसक्नु पर्ने भएता पनि ढिला गरि मात्रै आईपुगेकोमा स्थानीय जनप्रतिनिधि र कृषकहरुले गुनासोका साथै कृर्षि कार्यालयको नियतमाथि नै प्रश्न खडा गरेका छन ।ढिला गरेर आइपुगेका ओखरका विरुवाको बैद्यता र गुणस्तरलाई लिएर ब्यापक आलोचना हुन थालेपछि प्रमुख जिल्ला अधिकारी शुरेस सुनार, ठुलिभेरी नगरपालिकाका प्रमुख गणेश बहादुर शाही, प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकार, शसत्र प्रहरी नायव उपरिक्षक चेत थापा, जिल्ला अनुसन्धान प्रमुख दिनेश रेग्मी, कृषि कार्यालय प्रमुख भिम बहादुर धरला र पत्रकार सहितको टोलीले विरुवाको अनुगमन गरेको छ ।

अनुगमनको क्रममा ठुलीभेरी नगरपालिकाका मेयर गणेशबहादुर शाहीले कृषि कार्यालयले विगतका वर्षहरुमा स्थानीय तहसंग सहकार्य नगरि आफूखुसी आफन्त नातागोताका मानिसहरुलाई योजना बाँड्ने योजनाको नाममा कृषकहरुबाट नाजायज आर्थिक फाइदा लिने गरेको बताए । उनले भने कृषि कार्यालयबाट कृषकलाई वितरण गरिने साना सिँचाइ सडक  र पकेट क्षेत्र जस्ता कार्यक्रममा ब्यापक आर्थिक अनियमितता हुने गरेकोले आगामी दिनहरुमा पनि यस्तै गतिविधि कायम रहे र स्थानीय सरकारसंग सहकार्य नगरेमा कडा कारवाही गरिने पनि मेयर शाहीले बताए ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले लकडाउनकै कारणले ओखरका विरुवा ढिला गरि पुगेको बताइएपनि कृषि कार्यालयको समन्वयकारी भूमिकाको अभावमा यस्तो अवस्था आएको बताए । जिल्लास्तरीय उच्च पदाधिकारीबाट अनुगमन गराएर कृर्षि विकास कार्यालयले बाह्र हजार बिरुवा जहाजबाट जुफाल विमानस्थलमा पु¥याएर त्रिपुरासुन्दरी नगरपालिका र ठुलिभेरी नगरपालिकाका कृषकहरुलाई पनि बितरण सुरु गरिएको छ ।

यसैगरि तीन हजार विरुवा सडक मार्गबाट तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिका लागि पठाइएको छ । जिल्ला भरिमा सात वटा ओखर पकेट र एउटा ब्लग रहेको छन् । एउटा पकटेलाई चार सय र ब्लगलाई तीन हजारका दरले बिरुवा बितरण गरिएको छ । बिरुवा लगाउन इच्छुक तर पकेट र ब्लगमा नसमेटिएका कृषकलाई समेत पाँच देखि दश वटा सम्म सात सय पचासका दरले बितरण गरिएको छ । यो वर्ष एउटा ओखर पकेटमा चार लाख र ब्ल्गमा पैँतालीस लाख अनुदान रकम गएको र दश बर्षसम्म लगातार गइराख्ने कृषि कार्यालयले जनाएको छ ।

ढिलै गरि जिल्लामा विरुवा पुगेको भएपनि बिदेशी उन्नत जातको बिरुवा गाउँमै पाएकाले कृषकहरु भने खुशिले दंग भएका छन् । त्रिपुरासुन्दरी नगरपालिका १ अन्तरगत नाइढुङ्गा नाउला ओखर पकेट क्षेत्रका संचालक अध्यक्ष बमबहादुर सार्कीले आफ्नो पकेट क्षेत्रको लागि ४ सय विरुवा बुझेर लिएको र पकेट क्षेत्रका कृषकहरुलाई वितरण गरिएको बताए । उनले भने बिरुवालाई हुर्काएर राम्रो आम्दानी लिन सकेमा कृषकको आर्थिकजीवनस्तर माथि उठाउन सकिने छ ।

 

प्रकाशित: २२ वैशाख २०७७ ११:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App