१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

लकडाउन मौकामा तरकारीको मूल्य अचाक्ली

इलाम – लकडाउनको मौका छोपेर व्यवसायीले तरकारीको भाउमा ‘ब्रम्हलुट’ गरिरहेका छन्। चोरबाटो हुँदै तराईका बजारबाट रातारात तरकारी ल्याएर व्यापारीले साविकभन्दा तेब्बर मूल्यमा बिक्री गरिरहेको पाएको छ। सदरमुकामका पसलमा अहिले कुनैपनि सामग्रीको मूल्यसूची नराखिएका कारण चामल, तेल, दाल, चिनीलगायत अत्यावश्यक खाद्यवस्तुको मूल्यसमेत बढेको छ। अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधन चल्न छुट दिइएपनि अनेक कारण देखाएर व्यापारीले बढी मूल्य लिइरहेको उपभोक्ताको गुनासो छ।

लकडाउनका कारण सहरदेखि गाउँसम्म सवारी साधन ठप्प हुँदा गाउँमा किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिइरहेको छ। र, कोरोना भाइरसको जोखिमबाट बच्न अहिले तराईका बजारबाटसमेत तरकारी ल्याउन पनि रोक लगाइएको छ। तर, रातारात ‘आँखा छलेर’ तराईबाट ल्याइएको तरकारीमा व्यापारीले अचाक्ली मूल्य लिइरहेको उपभोक्ताले बताएका छन्। 

साविकमा १५ देखि २० रूपैयाँमा विक्री भइरहेको सागको भाउ अहिले ४० रुपैयाँ पुगेको छ। प्याज प्रतिकिलो ६० देखि ७०, टमाटर प्रतिकिलो ३०, आलु प्रतिकिलो ३० देखि ४५, हरियो सिमी ५० देखि ७०, भिण्डी १ सय ४० देखि २ सय पुगेको छ। यी तरकारीको भाउ साविकमा आधाको हाराहारीमा मात्रै थियो। ‘चामलसमेत किलोमा ५ रूपैयाँसम्म बढाइएको पाइयो,’ होटल एसोसिएसनका जिल्ला अध्यक्ष देवी पौडेलले भने, ‘लकडाउनयता तरकारीमा चाहिँ उपभोक्ताले सबैभन्दा ठूलो मार खेप्नुपरेको छ।’ 

उपभोक्ताको गुनासो बढेपछि स्थानीय प्रशासनले इलाम सदरमुकाममा बजार अनुगमन ग¥यो। अनुगमन टोली पुगेपछि व्यापारीले उपभोग्य वस्तुको मूल्य नबढेको दाबी गरे। तर, प्रशासनको आँखा छलेर व्यवसायीले आफूहरूलाई बढी मूल्य लिने गरेको स्थानीय शैलेश श्रेष्ठले बताए। ‘अनुगमन टोली आउनुअघि साग प्रतिमुठा ४० रूपैयाँ थियो,’ तरकारी बजारमै भेटिएका श्रेष्ठले भने, ‘अनुगमन टोलीले व्यापारीसँग मूल्य सोध्दा त्यही सागको २० रुपैयाँ भनियो।’ तरकारी बजारमै भेटिएकी अर्की वृद्धाले अनुगमन टोलीलाई प्रतिकिलो १ सय ४० रूपैयाँ भनिएको भिण्डी व्यापारीले २ सय रुपैयाँसम्ममा बेचिरहेको बताइन्। ‘अनुगमन टोली बजारमा घुमुञ्जेल मूल्य घटाइन्छ,’ उनले भनिन्, ‘टोली यसो छड्किएपछि उही बढेको मूल्य लागू हुन्छ।’ 

इलाम चोक बजारमा रहेका केही फलफूल पसलमा २ महिनाअघि ल्याएर झिँगा भन्किरहेको फलफूलसमेत पाइएको छन्। ‘चोक बजारको माथिल्लोपट्टि रहेको पसलमा ९० प्रतिशत बिग्रिसकेको फलफूलसमेत रहेकाले खान नमिल्ने देखिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद नेउपानेले भने, ‘अखाद्य वस्तु बेच्नेलाई सचेत गरिएको छ, त्यसले पनि भए कानुनी कारबाही हुन्छ।’ यहाँका एक फलफूल व्यवसायीलाई केहि दिनअघि प्रशासनले कार्यालयमै बोलाएर केहीबेरपछि छाडेको थियो। तर, उनकै पसलमा पुनः उही हर्कत देखिएको हो।

सहायक प्रजिअ नेउपानेले लकडाउनको मौकामा तरकारीको भाउमा चाहिँ ब्रह्मलुट भइरहेको पाएको बताए। ‘अरू खाद्यान्नको मूल्य चाहिँ थोरै मात्र बढेछ, तरकारीमा चाहिँ ब्रह्मलुट नै रहेछ,’ उनले भने, ‘साविकभन्दा मूल्य बढाएको पाइए उद्योग वाणिज्य संघ वा प्रहरीमा खबर गर्न उपभोक्तालाई समेत भनेका छौं।’इलाम उद्योग वाणिज्य संघले सदरमुकामका पसलहरूमा यसअघिसम्म मूल्यसूची राख्ने गरेको थियो। तर, अहिले पसलहरूमा मूल्यसूची नपाइएको स्थानीय प्रशासनले जनाएको छ। ‘मूल्यसूची नहुँदा बजारमा कुनैपनि सामनाको मूल्य निश्चित पाइएन,’ सहायक प्रजिअ नेउपानेले भने, ‘संघलाई मूल्यसूची राख्ने वातावरण बनाउन भनिएको छ।’ संघले अत्यावश्यक सामग्री बेच्ने पसल बिहान ८ देखि १० र बेलुका ५ देखि ६ बजेसम्म खुला गरिरहेको छ। संघ अध्यक्ष ईश्वर चिपालु व्यवसायीलाई पनि भाइरस नसर्नेगरी सजग भएरमात्र पसल खोल्न अनुरोध गरेको बताउँछन्। ‘बजारमा मूल्य त अनिश्चित नै देखियो,’ उनले भने, ‘तर, संघले यसलाई निश्चित गर्न मूल्यसूचीको पहल गर्छ।’  

बिहान–बेलुका पसल खोल्दा पनि बजारमा उपभोक्ताको भीड लाग्ने गरेको छ । पसलहरूमा उपभोक्ताको भीडभाड हुन नदिन चाहिँ कुनैपनि सजगता अपनाइएको छैन। ‘बजार खुला गरेर उपभोक्ता बोलाएपछि कोरोनाको जोखिम झन् बढेको छ,’ इलाम नगरपालिकाका रूपबहादुर राईले भने, ‘लकडाउन भनिएको छ तर हरेक बिहान–बेलुका चाहिँ इलाम चोकबजारमा हाट नै लागिरहेको छ।’ व्यवसायी डम्बर श्रेष्ठले पनि केही पसल दिनभर खुलेपनि अनुगमन नगरिएको तर केहीलाई चाहिँ अत्यन्त कडा नियम लगाइएको गुनासो गरे। ‘प्रशासनले सबैलाई कानुन बराबर पालना गराउनुपर्छ,’ उनले भने, ‘तर, यहाँ अत्यावश्यक सामान बेच्ने पसलमा पनि भेदभाव गरिएको छ।’ 
 

 

प्रकाशित: १९ वैशाख २०७७ ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App