१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

आठ खर्बका पाँच हजार आयोजना प्रभावित

काठमाडौं  -  नोबेल कोरोना भाइरसको संक्रमणको सन्त्राससँगै मुलुकभर करिव आठ खर्बका पाँच हजारभन्दा धेरै विकासे आयोजना प्रभावित भएका छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासले मुलुकभरका पाँच हजारभन्दा धेरै आयोजनाको निर्माण कार्य  ठप्प भएका छन्। कोरोना भाइरसको कारणले एकाध आयोजना बाहेक अधिकांश आयोजना निर्माण कार्य रोकिएको सम्बन्धित आयोजनाले जनाएका छन्। जसमा राष्टिय गौरवका २३ वटा, जलविद्युत् ठूला सडक, पुल, भवन लगायतका विकासे आयोजना समावेश छन्।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कोरोना भाइरसको कारणले आठ खर्बभन्दा बढी लागतका पाँच हजारभन्दा धेरै आयोजना प्रभावित भएको दावी गर्छन। ‘कोरोना भाइरसको कारणले आठ खर्बभन्दा धेरै लागतमा करिव पाँच हजारभन्दा धेरै आयोजना प्रभावित भएका छन्। यसले पूर्वाधार निर्माणमा ठूलो धक्का लागेको छ। ’ उनले भने, ‘यो आयोजना चालु आवका मात्रै होइन्, सम्पूर्ण क्रमागत आयोजनालाई समावेश गरेर गरिएको हिसाब हो।’

अध्यक्ष सिंहले कोरोना भाइरसको विकास निर्माण क्षेत्रमा ठूलो असर पारेको बताए। यतिबेला मुलकभर लकडाउनकै कारणले विकास निर्माणको कार्य ठप्प जस्तै छ,’ उनले भने, ‘निर्माण क्षेत्रका करिव ३० लाखभन्दा धेरै मजदूर बेरोजगार बनेका छन्।’ अध्यक्ष सिंहले सरकारले कोरोना भाइरसकै कारणले समस्या भोगेका निर्माण व्यवसायीलाई बैंकको ऋणमा सहुलियत तथा कर्जा छुट लगायतको सुविधा माग गर्दे आइरहेका छन्।
 

कोरोना भाइरसको कारणले मुख्य प्रभावित आयोजनामा जलविद्युत् पनि अर्काे हो। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का उपाध्यक्ष कोरोना भाइरसको कारणले २८ सय मेगावाट बढीका एक सय १५ वटा जलविद्युत् आयोजनाको काम ठप्प भएको बताए। 

‘लकडाउनकै कारणले एक सय १५ वटा जलविद्युत् आयोजनाको काम रोकिएको छ,’ उनले भने, ‘अधिंकाश जलविद्युत् आयोजनाको काम ठप्प छ। कतिपय मजदूर घर फर्किसके पनि कतिपय साइटमा नै बसिरहेका छन्।’ उपाध्यक्ष पाण्डेले  कोरोना भाइरसले जलविद्युत क्षेत्रको करिव तीन खर्ब रुपैयाँ जोखिममा पर्ने अवस्था सिर्जना भएको बताए।कोरानाकै कारणले जलविद्युत क्षेत्रका ५० हजारभन्दा धेरै मजदूर बेरोजगार बनेका छन्। कोरोना भाइरसको संक्रमणको जोखिमबढेसँगै जलविद्युत् आयोजनाका कफरड्याम,बाँध,नदीको बहाव नियन्त्रण लगायतका अत्यावश्यक काम समेत प्रभावित बनेको इप्पानले जनाएको छ।

राष्टिय गौरवका चालु आवमा मात्रै एक खर्बका आयोजना अलपत्र 
सरकारले चालु आर्थिक वर्षमा राष्टिय गौरवका आयोजनालाई एक खर्ब दुई अर्ब आठ करोड रुपैयाँ विनियोजना गरेको थियो।तर,कोरोना भाइरसको कारणले अधिकांश राष्टिय गौरवका आयोजनाले पनि गति लिन सकेका छैनन्। राष्ट्रिय गौरवका आयोजनाले ६ महिनाको अवधिमा २० अर्ब ४१ करोड मात्रै बजेट खर्च गरेका छन्। यो विनियोजित बजेटको १९ प्रतिशतमात्र हो। सरकारले चालु आर्थिक वर्षमा एक खर्ब दुई अर्ब आठ करोड रुपैयाँ गौरवका आयोजनाको लागि छुट्ट्याएको थियो। अहिले राष्टिय गौरवका आयोजनामा २३ वटा आयोजना समावेश छन्। मेलम्ची खानेपानी आयोजनका कार्यकारी निर्देशक तिरेसप्रसाद खत्रीले कोरोना भाइरसको कारणले अधिकांश कामदार घर फर्किएकाले आयोजनाको काम प्रभावित हुदैं आएको बताए। ‘कोरोनाले भाइरसले विश्वव्यापी रुपमा असर पारिरहेको छ। त्यसैले मेलम्ची आयोजना प्रभावित नहुने कुरै भएन,’ उनले भने, ‘साइटमा उपलब्ध भएका केही कामदारबाट काम गराइरहेका छौं।’

सडकका एक खर्बका आयोजना प्रभावित र १५ सय रुग्ण प्रभावित
सडक विभागका अनुसार कोरोना भाइरसको संक्रमणको सन्त्राससँगै सानाठूला र क्रमागत योजनाका गरेर करिव एक अर्बका १५ सयभन्दा धेरै आयोजना प्रभावित भएको जनाएको छ। सडक विभागले हालसालै १५ सयभन्दा धेरै रुग्ण आयोजनाको लागि एक वर्ष म्याद थप गरेको थियो। अर्काेतर्फ नियमित तर्फ सडक विभागले चालु आर्थिक वर्षमा १२ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ।

चालु आर्थिक वर्षमा सडक विभाग मातहतका आयोजनाका लागि एक खर्ब २४ अर्ब बजेट बिनियोजन भएको मध्ये चालु आवको आठ महिनासम्म २८ प्रतिशत बजेट खर्च भइसकेको छ। सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले सडकका  कोरोना भाइरसको संक्रमणले सडकका साना ठूला गरेर १५ सय भन्दा धेरै आयोजना प्रभावित भएको बताउँछन्।  ‘भाइरस संक्रमण लामो समयसम्म रहेको खण्डमा धेरै असर पर्ने देखिन्छ,’ उनले भने, ‘लकडाउनपछि सडकका अधिकांश आयोजना रोकिएका छन।’ 

रुग्ण ठेक्का मात्रै ८६ अर्बका
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  गत फागुनमा सार्वजनिक गरेको रुग्ण ठेक्काको व्यवस्थापन अध्ययन तथा विश्लेषण २०७६ अनुसार मुलुकभर ८६ अर्ब ४४ करोड बराबरका १२ सय दुईवटा ठेक्का सम्झौता हालसम्म पनि क्रमागत अवस्थामा रहेको देखाएको थियो। सरकारले त्यस्ता आयोजनाको लागि सार्वजनिक खरीद नियमावलीको नवौं संसोधन मार्फत एक वर्ष म्याद थप गरेको छ। जसबाट  करिव एक खर्ब बराबरका रुग्ण आयोजनमा पनि कोरोना भाइरसको कारणले प्रभावित बनेका छन्। म्याद थप भएपनि आयोजनाले गति लिन पाएका छैनन। 

चालु आवमैं सकिने दुई सय पुल अलपत्र
सरकारले चालु आर्थिक वर्षमा बहुवर्षे ठेक्का अन्र्तगत विभिन्न आयोजनाको लागि तीन सयभन्दा धेरै पुल निर्माणको ठेक्का लगाएको छ। कोरोना भाइरसको कारणले ति सबै आयोजनाको काम प्रभावित हुने लगभग निश्चित प्रायः छ।

पुल महाशाखाका अनुसार सरकारले चालु आर्थिक वर्षमा स्थानीय सडकमा पुल निर्माणको लागि सुरुमा चार अर्ब ५७ करोड र चालु आवको बिचमा चार अर्ब ७५ करोड रुपैयाँ बजेट थप गरेको थियो। त्यसैगरी रणनीतिक सडक पुलको लागि भने तीन अर्ब ७५ करोड रुपैयाँ बिनियोजन गरेको थियो। सरकारले चालु आर्थिक वर्षमा मुलुकभर तीन सयभन्दा धेरै पुलनिर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। चालु आवको दोस्रो चौमासिकसम्म एक सय अर्थात ३३ प्रतिशत पुल निर्माणको काम सम्पन्न भइसकेका छन्।

प्रकाशित: २८ चैत्र २०७६ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App