coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

समस्यामा परेकालाई घर फर्काउने व्यवस्था होस्

काठमाडौ- १० जना जापानी कलाकार ल्याएर सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेका पाटन, मंगलबजार घर भई हाल जापानमा बस्दै आएका नरेश महर्जनले हाललाई उक्त कार्यक्रम स्थगित गरेका छन् । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको त्रासले गर्दा सरकारले जापान लगायतका मुलुकबाट हुने आवागमनलाई प्रतिबन्ध लगाएपछि उक्त कार्यक्रम स्थगित गरिएको उनले बताए ।

अमेरिका, चीन तथा युरोपका कैयौं विकसित भनिएका मुलुकमा समेत कोरोना भाइरसको जोखिम बढिरहेकाले खाडी, मलेसिया तथा अन्य मुलुकमा रहेका जो कोही नेपाली असुरक्षित हुन सक्छन् भन्ने कुरा नेपाल सरकारले बुझ्नु पर्ने रोजगारीका लागि विभिन्न मुलुक पुगेकाहरू बताउँछन् ।

कोरोना भाइरस रोकथामका लागि सरकारले पूर्व सावधानी अपनाउँदै आवागमनमा रोक लगाउने निर्णयलाई जापानमा रहेका अधिकांश नेपालीले सकारात्मक रूपमा लिएको उनको भनाइ छ । ‘रोग फैलनुअघि नै आवागमनमा प्रतिबन्ध नलगाएका कारण यतिखेर जापान सरकार आलोचित छ,’ उनले सोमबार नागरिकसँग भने, ‘जे होस् कोरोना भाइरस नियन्त्रणमा नेपाल सरकारले समयमै ध्यान दिएको देखियो ।’

कोरोना भाइरसबाट सुरक्षित हुन सरकारले रोग फैलिएको मुलुकबाट हुने आवागमनलाई प्रतिबन्ध लगाए पनि समस्यामा परेका व्यक्तिसमेत स्वदेश फर्कन नपाउने भएकाले त्यसमा ध्यान पुर्‍याउन आवश्यक देखिएको जापानमा रहेका नेपालीको भनाइ रहेको महर्जनले बताए ।

‘विदेशमा कुनै अप्ठेरो पर्‍यो भने सबभन्दा पहिला सम्झने भनेको स्वदेश र घर परिवार नै हो,’ उनले भने, ‘तर सरकारको अहिलेको निर्णयले समस्यामा परेका समेत घर फर्कन नपाइने अवस्था सिर्जना भएको छ ।’ जापानको अध्यागमनका अनुसार हाल त्यहाँ ९२ हजार आठ सय चार नेपाली वैधानिक रूपले बस्दै आएका छन् । २७ वर्षदेखि जापानको सिजुओकामा बस्दै आएका महर्जनका अनुसार अहिलेसम्म कुनै पनि नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको सूचना छैन । महर्जनले  हिँड्डुल गर्दा समूह बनाउने र सरकारको निर्देशन पालना नगर्ने हुँदा जापानमा रहेका नेपाली कोरोको जोखिममा भने रहेको बताए ।

पूरै जापानभरि कोरोनाबाट संक्रमित हुनेको संख्या एक हजार सात सय २७ पुगिसकेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । हङकङबाट जापान जाँदै गरेको पानी जहाजका यात्रुको स्वास्थ्य परीक्षण नगर्दा एकैचोटी सात सय १२ जनामा कोरोना संक्रमण भएपछि मात्र जापान सरकार रोकथामका लागि सक्रिय भएको थियो । यतिखेर भने जापान सरकारले आफ्नो मुलुक प्रवेश गर्न खोज्ने ३८ मुलुकका नागरिकलाई प्रतिबन्ध लगाइसकेको छ ।

त्यस्तै संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित अलइत्तिहाद क्रेडिट ब्युरोमा काम गरिरहेका शिबजी ढकाल सरकारले स्वदेशमा रहेका नेपालीको सुरक्षाका लागि गरेको प्रयास सकारात्मक रहेको बताउँछन् । ‘स्वदेशमा रोग फैलन नदिन गरेको प्रयास सकारात्मक छ,’ उनी भन्छन्, ‘तर वैदेशिक रोजगारीमा रहेका नागरिकको सुरक्षामा भने सरकार गम्भीर देखिएन ।’

उनी पनि वैदेशिक रोजगारीमा रहेका नेपाली गम्भीर संकटमा पर्दा स्वदेश फर्कन पाउनुपर्ने तर्क गर्छन् । ‘कतिपय गन्तव्य मुलुकमा रहेका नेपालीको अवस्था स्वदेशमा भन्दा राम्रो पनि होला,’ उनी भन्छन्, ‘यसो भनेर अप्ठेरोका बेला आफ्ना नागरिकको सुरक्षा गर्ने दायित्वबाट सरकार पन्छिन मिल्दैन ।’

उनका अनुसार रोजगारीका लागि दुबईमा रहेका दुई नेपाली कोरोना भाइरसबाट संक्रमित भएको चर्चा छ । ‘युएईले राम्रो सुरक्षा अपनाएको कारण धेरै नेपाली जोखिममा छैनन्,’ उनले भने, ‘सबै गन्तव्यमा नेपालीले राम्रो उपचार र सुरक्षा पाउँछन् भन्ने आधार छैन ।’ कोरोनाको संक्रमण बढ्दै गएपछि दुबईका कतिपय रोजगारदाताले दुई साताका लागि छुट्टि गरेका छन् भने कतिपयले काम गर्ने अवधि घटाएका छन् ।

ढकालले बुडदुबई लगायतका नेपाली जमघट हुने स्थानमा भीड पनि कम हुन थालेको बताए । घर बिदामा गएकालाई रोजगारदाताले ढिलो काममा हाजिर हुन पनि खबर गरिरहेको बताइएको छ । युएईमा करिब साढे तीन लाख नेपाली रहेको अनुमान छ ।

त्यस्तै रुकुमको खारा–८ घर भई हाल मलेसियाको केएलमा बस्दै आएका महेशकुमार ओलीलाई पनि सरकारले सबै नागरिकलाई प्रवेशमा लगाइएको रोकप्रति चित्त बुझेको छैन ।

‘सरकारको उक्त निर्णयले वैदेशिक रोजगारीमा रहेका सबै नेपाली सुरक्षित छन् भन्ने जस्तो देखियो,’ उनले भने । अमेरिका, चीन तथा युरोपका कैयौं विकसित भनिएका मुलुकमा समेत कोरोना भाइरसको जोखिम बढिरहेकाले खाडी, मलेसिया तथा अन्य मुलुकमा रहेका जो कोही नेपाली असुरक्षित हुन सक्छन् भन्ने कुरा नेपाल सरकारले बुझ्नु पर्ने रोजगारीका लागि विभिन्न मुलुक पुगेकाहरू बताउँछन् । ‘गन्तव्य मुलुकमा जब बस्ने अवस्था हुँदैन । त्यस्तो बेला स्वदेश प्रवेशमा रोक लगाउनु सुहाउँदैन,’ मलेसियामा रहेको जनप्रगतिशील मोर्चाका संयोजक समेत रहेका ओलीले भने ।

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा करिब ४६ लाख युवा पुगेका छन् । तीमध्ये अझै कति वैदशिक रोजगारीमा छन् र कति फर्किए भन्ने कुनै तथ्यांक छ्र्रैन । किनकि अहिलेसम्म विभागले विदेशबाट फर्कनेको विवरण राख्ने गरेको छ्रैन । विभिन्न गन्तव्य मुलुकमा रहेका नेपाली राजदूताबास र स्वयम्सेवी संस्थाहरूका अनुसार अझै पनि श्रम स्वीकृति लिएकामध्ये करिब २०–२५ लाख युवा रोजगारीको क्रममा विदेशमा छन् ।

त्यस्तै भारतमा रहने नेपालीको संख्या पनि यकिन छैन । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने अहिलेसम्म आधिकारिक रूपमा वैदेशिक रोजगारीमा रहेका कुनै पनि नेपाली कोरोना संक्रमित भएको जानकारीमा नआएको बताए ।

‘कोही समस्यामा परेको छ भने मात्र समाधानको पहल गर्ने हो,’ उनले भने । अध्ययन गर्न गएका युवालाई चीनबाट उद्धार गरे जसरी समस्या पर्दा खाडी मुलुक र मलेसियाबाट पनि त्यसैगरी उद्धार हुन सके मात्र सरकारको समान व्यवहार हुने वैदेशिक रोजगारीमा रहेका युवा बताउँछन् ।
विभिन्न गन्तव्य मुलुकमा रहेका नेपालीको अनुमानित संख्या
देश           नेपालीको संख्या
मलेसिया    ४,६९,१३१
कतार        ४,३७,०००
युएई         ३,५२,६६७
साउदी       ३,५२,०००
कुबेत        ८२,०००
कोरिया      ५३,०००
बहराइन     २८,०००
स्रोत सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूताबास ।
 

प्रकाशित: ११ चैत्र २०७६ ०४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App