८ वैशाख २०८१ शनिबार
अर्थ

नेपालमा रेल, सवा दुई सय कर्मचारी भर्ना तयारी

काठमाडौं - करिब आठ वर्षपछि जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चलाउन अन्तिम तयारी गरिएको छ। ६ महिनाअघि नै चलाउने भनिए पनि लम्बेतान प्रक्रियाका कारण रेल विभाग बल्ल सञ्चालनको अन्तिम तयारीमा जुटेको हो।

अर्थ मन्त्रालयले रेल चलाउन आवश्यक कर्मचारीको दरबन्दी थप गर्ने भौतिक पूर्वाधार मन्त्रालयको प्रस्ताव केही दिनअघि स्वीकृति गरेको थियो। अर्थको स्वीकृति लगत्तै विभागले सुरुमा २६ दक्ष कर्मचारी नेपाली नै भर्ना गर्न खोजेको थियो। सोको लागि विभागले आह्वान गरेको विज्ञापनमा कसैले पनि आवेदन नदिएपछि ती दक्षसहित थप दुई सय कर्मचारी भर्ना गर्न अर्को विज्ञापन प्रकाशन गर्ने तयारी भइरहेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

विभागले केही दिनअघि चालक लगायत २६ कर्मचारी भर्ना गर्न जारी गरेको विज्ञापनमा स्वदेशीले इच्छा नदेखाएपछि विदेशी जनशक्ति लिने तयारी भएको हो। ‘२६ दक्षमा विदेशी र बाँकी दुई सयमा नेपालीले आवेदन दिन सक्छन्,’ मिश्रले भने, ‘कर्मचारी भर्ना भइसकेपछि मात्र रेल सञ्चालन हुन्छ।’

सरकारले जनकपुर–जयनगर–कुर्थामा रेल चलाउन एक वर्षअघि नै भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडलाई दुई थान डेमो रेल बनाउन जिम्मा दिएको थियो। दुईमध्ये एक रेल तयार छ। अर्को रेल पनि केही दिनमै तयार हुने विभागले जनाएको छ। दुई थान रेल खरिद गर्न विभागले कोकन रेलवेजसँग ८५ करोड ६५ लाख रुपैयाँमा सम्झौता गरेको थियो।

उक्त संख्यामा २६ जना दक्ष प्राविधिक कर्मचारी विदेशी हुनेछन्।

कोकनले बनाएको रेलमा १२ सयले (पाँच सय बसेर र बाँकी उभिएर) यात्रा गर्न मिल्नेछ। चालु आर्थिक वर्षमा रेल चलाउन अर्थ मन्त्रालयले सुरुमा ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। त्यति रकमले दुईवटा डेमो रेल खरिद गर्न अपुग भएपछि मन्त्रिपरिषद्ले बजेट थप गरी ८५ करोड ६५ लाख रुपैयाँ पु-याएको छ। सुरुको सम्झौता अनुसार पहिलो रेल आइपुगेको एक महिनापछि दोस्रो रेल नेपाल आउनुपर्छ।

नेपालमा रेल चलाउने प्रयास लामो समयदेखि भइरहेको हो। जनकपुर–जयनगर–कुर्था (४४ किमी) खण्डमा चल्ने रेल निर्माण गर्न भारतीय कम्पनीले सन् २०१८ को अप्रिलमा नै मूल्यसहित नेपाललाई प्रस्ताव गरेको थियो।  त्यतिबेला पनि अनेक कारणले रेल खरिदमा समस्या आएको थियो।

विगतमा सञ्चालन हँुदै आएको जनकपुर–जयनगर खण्डलाई कुर्थासम्म बढाएर मर्मत सम्भार गरेपछि पुनः रेल चलाउन लागिएको हो। सोही खण्डमा चल्दै आएको एक मात्र रेल निकै जीर्ण भएका कारण आठ वर्षदेखि बन्द छ। जीर्ण भएको पुरानो रेलमार्गलाई भारतले नै मर्मत गरेपछि पुनः रेल चलाउने तयारी भएको हो।

सोही रेल सञ्चालन भएको दुई वर्षभित्र जनकपुर–बर्दिबास (६९ किलोमिटर) सम्म रेल विस्तार हुने बताइएको छ। हाल बर्दिवास खण्डमा भारतीय पक्षले नै रेलमार्गको निर्माण गरिरहेको छ। जनकपुर–बर्दिबास खण्डबाहेक भारतको सहयोगमा काँकडभिट्टा, विराटनगर, भैरहवा र नेपालगन्ज नाकामा रेलमार्ग निर्माण हुने बताइएको छ। महानिर्देशक मिश्रले डेमो रेलमा अघिल्लो र पछिल्लो भागमा इन्जिन रहने हुनाले घुमाउन नपर्ने र प्रतिघन्टा एक सय किलोमिटर कुद्ने जानकारी दिए।

छोटो दूरीमा कुदाउनुपर्ने भएकाले डेमो रेल आवश्यक परेको स्टेसनमा रोक्न सकिने गरी तयार गरिएको छ। भारतमा चल्ने गरेका अधिकांश रेललाई अघिल्लो भागमा राखिएको इन्जिनले तान्ने भएकाले छोटा स्टेसनमा रोक्न कठिन हुने बताइन्छ। तर डेमो रेलको प्रत्येक डिब्बामा विद्युत् आपूर्तिको सुविधा हुने र यसले गर्दा छोटा स्टेसनमा रोक्न सहज हुने बताइएको छ।

विभागका अनुसार भारतबाट रेल ल्याइसक्नुपर्ने सम्झौताको अन्तिम मिति ३१ मार्च २०२० सम्म छ। विभागका एकजना अधिकारी उक्त मितिमा दुईवटा रेल एकसाथ आउने सम्भावना निकै कम रहेको बताउँछन्। ‘एउटा रेल तयार गर्न नै करिब एक वर्ष लाग्यो,’ ती अधिकारीले भने, ‘सम्झौता अवधिमा दुईवटा  रेल ल्याएर चलाउन सकिएला जस्तो छैन।’

कर्मचारी भर्नाको प्रक्रिया पूरा गर्न पनि समय लाग्ने अनुमान गरिएको छ। मिश्रले भने चालु आर्थिक वर्षभित्रै रेल सञ्चालन गर्ने प्रयास भइरहेको बताए। रेल निर्माण गर्ने कम्पनीको सर्त मान्ने हो भने अबको १५ दिन जतिमा रेल चलाउन सकिने अधिकारीहरू बताउँछन्।

कोकन रेलवेजले मासिक सात लाख रुपैयाँ हाराहारी पारिश्रमिक दिने हो भने तुरुन्त दक्ष जनशक्ति पठाउन सकिने विभागलाई खबर गरेको छ। तर विभागले त्यति धेरै रकम तिरेर कर्मचारी लिनुको साटो विज्ञानपमार्फत नयाँ जनशक्ति लिने तयारी गरेको छ। हाल विभागसँग २० जना जति कर्मचारी छन्। नयाँ पदपूर्तिपछि विभागसँग सबै गरी कर्मचारी संख्या साढे दुई सय पुग्नेछ।

 

प्रकाशित: ४ चैत्र २०७६ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App