काठमाडौं- संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धी प्रकृया रद्ध गरी खुल्ला प्रतिस्पर्धाबाट खरिद गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धी अहिलेको प्रकृया रद्ध गरी आवश्यक भए खुल्ला प्रतिस्पर्धाबाट खरिद गर्न निर्देशन दिएको हो।
समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत सेक्युरिटी प्रेस स्थापनामा दुरुपयोग भए नभएको छानविन गर्न निर्देशन दिएको छ। त्यस्तै समितिले जिटुजी सम्बन्धमा सम्बन्धित मन्त्री र मुख्य सचिवसँग छलफल गर्ने तथा खरिद प्रकृयाको लागत अनुमान लगायतका विषयमा समेत छानविन गर्ने भएको छ।
बैठकमा सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस आवश्यक भएको तर यसको खरिद प्रकृयामा सरकारलाई स्पस्ट निर्देशन दिनुपर्नेमा जोड दिएका छन्। सांसदहरुले यसअघि भएका गतिविधिमा समेत अनुसन्धान हुनु्पर्नेमा जोड दिएका छन्। सांसद मिनेन्द्रप्रसाद रिजालले खरिद प्रकृयामा बदमासी गर्नेमाथि समिति मौन बस्न नहुने बताए। उनले मन्त्रीले बोलेका विषयमा अख्तियारले छानविन गर्दैछ भनेर बस्न पनि नहुने बताए।
सांसद राजेन्द्र केसीले लेखा समितिले खरिद गर्ने या नगर्ने निर्णय गरेर निर्देशन दिन नहुने बताए। उनले खरिद गर्न आवश्यक भए जिटुजी प्रकृयाबाट खरिद गर्न निर्देशन दिनुपर्नेमा जोड दिए। यस्तै, सांसद शरतसिंह भण्डारीले सेक्युरिटी प्रिन्टिङ प्रेस देशको लागि आवश्यक रहेको तर त्यसको खरिद प्रकृया पारदर्शि बनाउनुपर्नेमा जोड दिए। उनले खुल्ला रुपमा प्रतिस्पर्धा आवश्यक रहेको बताए। उनले नीतिगत रुपमा सरकार पारदर्शि हुनुपर्ने र समितिले समेत भूमिका बढाउनुपर्नेमा समेत जोड दिए।
प्रकाशित: ३० फाल्गुन २०७६ १०:१५ शुक्रबार