१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नौ दिनमा १४ करोडको पाम तेल निर्यात

विराटनगर - पाम तेल आयातमा भारत सरकारले लगाएको प्रतिबन्ध फुकुवा गरेपछि विराटनगर नाकाबाट तेल निर्यात हुन थालेको छ। विराटनगर नाकाबाट नौ दिनमा १४ करोड रूपैयाँको पाम तेल निर्यात भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

विराटनगर भन्सार कार्यालयका प्रवक्ता गोपी उप्रेतीका अनुसार फागुन ९ देखि १८ गतेसम्मको तथ्यांक अनुसार विराटनगर नाकाबाट १४ करोड ६ लाख ५५ हजार रूपैयाँको १२ सय ५२ मेट्रिक टन पाम तेल निर्यात भएको हो। हाल विराटनगर नाकाबाट निर्वाध रूपमा पाम तेल भारततर्फ निर्यात भइरहेको उप्रेतीले जानकारी दिए। उनले भने, ‘पाम तेल निर्यातमा कुनै अवरोध छैन।’ विराटनगरका उद्योगहरूले निर्यातका लागि भन्सार जाँचपास गरिसकेको अवस्थामा भारत सरकारले पाम तेल आयातमा कडाइ गरेपछि भन्सारकै गोदाममा थन्किएको थियो। भारतले नेपालबाट चाहिँ पाम तेल आयात गर्न दिने निर्णय गरेसँगै भन्सारको गोदाममा राखिएको तेल भारततर्फ गइसकेको प्रवक्ता उप्रेतीले बताए। उनले भने, ‘भन्सार क्लियरेन्स गरेर गोदाममा राखिएको पुरानो स्टक निर्यात भइसकेको छ।’

कोटामा किचलो
भारत सरकारले पाम तेल आयात खुला गरे पनि कोटा लागू गरेपछि नेपाली व्यापारीबीच विवाद सुरू भएको छ। कोटा खोसाखोसले विवाद पैदा गरेको हो। संघीय सरकारको पहलमा भारत सरकारले नेपालबाट पाम तेल निर्यात गर्ने व्यवस्था मिलाएको थियो। सरकारले स्वदेशी उद्योगको उत्पादन क्षमता अनुसार पाम तेलको कोटा उपलब्ध गराउन भारतलाई आग्रह गरेको थियो। भारतले वार्षिक चार लाख मेट्रिक टनको कोटा नेपाललाई दिएको पशुपति खाद्य तेल उद्योगका सञ्चालक पवनकुमार सारडाले बताए। नेपालले पाएको चार लाख टन बराबरकै कोटा उपलब्ध गराउन सरकारसँग माग राखेका थिए। सरकारको पहलमा भारत सरकारले त्यहाँका व्यापारीलाई नेपालबाट वार्षिक चार लाख टन पाम तेल आयात गर्न लाइसेन्सको व्यवस्था गरेको हो। नेपालमा विराटनगर र वीरगन्जका उद्योगीले पाम तेल प्रशोधन गरेर भारत निर्यात गर्दै आएका थिए।

फागुन ९ देखि १८ गतेसम्मको तथ्यांक अनुसार विराटनगर नाकाबाट १४ करोड ६ लाख ५५ हजार रूपैयाँको १२ सय ५२ मेट्रिक टन पाम तेल निर्यात भएको हो।

भारतीय व्यापारीले पाएको कोटामध्ये ८० प्रतिशतभन्दा बढी वीरगन्जका केही उद्योगीले कब्जा गरेपछि विराटनगरकालाई समस्या भएको सारडाले बताए। ‘वीरगन्जका उद्योगीले बदमासी गरेपछि विराटनगरका उद्योग समस्यामा परेका छन्,’ सारडाले भने, ‘तीन महिनापछि नै विराटनगरबाट तेल निर्यात रोकिन सक्ने अवस्था छ।’ वीरगन्जका व्यापारीले बद्नियतपूर्वक आफ्नो क्षमताभन्दा बढी कोटा कब्जा गरेको सारडाले बताए। उनले विराटनगरका उद्योगीलाई थप कोटा उपलब्ध गराउन पहल थाल्ने तयारी भइरहेको पनि जानकारी दिए। भारतले पाम तेल आयात रोकेपछि विटनगरका उद्योगीकै दबाबमा सरकारले प्रतिबन्ध हटाउन भारत सरकारसँग पहल गरेको सारडाले दाबी गरे।

विराटनगरका पाँचवटा तेल उद्योगले पामको तेल प्रशोधन गरी निर्यात गर्दै आएका छन्। पाम तेल निर्यात हुन थालेपछि सुनसरी मोरङ औद्योगिक करिडोरमा अन्य चारवटा उद्योग पनि सञ्चालनमा आउने क्रममा छन्। विराटनगरका बाबा, श्रीराम, स्वस्तिक, क्वालिटी, पशुपति लगायत तेल उद्योगले पाम तेल निर्यात गर्दै आएका छन्। वीरगन्जका आठवटा उद्योगले यो निर्यात गर्छन्। गत वर्ष विराटनगर नाकाबाट मात्रै चार अर्बको पाम तेल निर्यात भएको थियो। चालु आर्थिक वर्षको पाँच महिनामै साढे चार अर्बभन्दा बढीको तेल निकासी भइसकेको विराटनगर भन्सार कार्यालयको अभिलेखले देखाउँछ।

प्रकाशित: २३ फाल्गुन २०७६ ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App