काठमाडौं – नोवेल कोरोना भाइरसको उच्च जोखिमा रहेका देशबाट निर्वाध रुपमा पर्यटक भित्रिन दिइरहेको भन्दै सरकारको आलोचना सुरु भएको छ। विश्वका धेरैै देशले संक्रमित देशसँगको हवाई सेवा बन्द गरिसकेको अवस्थामा नेपालले पनि तत्काल अन्तर्राष्ट्रिय हवाई आवातजावत बन्द गर्नुपर्नेमा माग उठेको हो।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक सुन्दरमणि दिक्षितले चीनबाट कोरोना संक्रमण विश्वभर फैलिएकोले सरकारले गम्भीर भएर सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्। सरकारले नेपाल भ्रमण वर्ष–२०२० को प्रचार गर्न र कसरी बढीभन्दा बढी पर्यटक भित्र्याउने भनेर ध्यान दिएको तर संक्रमण भित्रन नदिने उपाय अवलम्बन नगरेको दिक्षितको भनाई रहेको छ। ‘हाम्रो सरकारलाई पैसा कमाउनेमात्रै ध्यान छ। कोरोना भाइरसबारे खासै वास्ता नै छैन। यो दुःखद पक्ष हो,’ उनले भने, ‘कतै सरकारले टुरिस्ट आऊ, टुरिस्ट आऊ भन्दै नेपाललाई खाऊँ त भनिरहेको होइन।’
अहिले भाइरस संक्रमण अफ्रिकासम्म पुगिसकेको भन्दै उनले नेपालले यसरी बेवास्ता गर्नु गलत भएको प्रतिक्रिया दिए। उनले थपे, ‘त्यत्रो टाढा फैलिइसकेको छ भने नेपाल नआइकन बसेको होला र ?’ उनले दक्षिण कोरियाको एउटा चर्चमा मात्रै नौ हजार मानिसमा यो भाइरसको संक्रमण फैलिएको सुनाए। दीक्षितले चीन, दक्षिण कोरियालगायत कोरोना फैलिएका देशबाट खुलेआम नेपाल आउन नदिन समेत सरकारको ध्यानाकर्षण गराए। जापानमा पनि यसको संक्रमण फैलिएपछि अहिले उसले कडा व्यवस्था अपनाएको सुनाउँदै यस्तो बेलामा नेपालबाट दुई सय ५० जनाको जम्बो टोली नेपाल एयरलाइन्सको उडानमा जापानको नारिता उडेको भन्दै उनले उक्त कदमको समेत आलोचना गरेका छन्। ‘सर्वोच्च अदालतले समेत रोक लगाएको अवस्थामा नेपाल वायुसेवा निगम अटेरी गरेर जापान गयो। यो दुःखद् पक्ष हो,’ उनले भने।
हाम्रो सरकारलाई पैसा कमाउनेमात्रै ध्यान छ। कोरोना भाइरसबारे खासै वास्ता नै छैन। यो दुःखद पक्ष हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कोरोना नेपालमै उत्पादित रोग नभएको प्रस्ट पार्दै बाहिरबाट आउने यात्रुको निगरानी बढाएको बताए। देवकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ–डेस्क’ राखेर काम गरिरहेको स्पष्ट पारे। उनले भने, ‘रुघाखोकी, ज्वरो, छाति दुःख्ने र श्वासप्रश्वासमा गाह्रो भएको लक्षण देखियो भने चेकजाँच गरिन्छ। विमानस्थलमा टेम्परेचर लिने र स्क्यान गर्ने काम हुन्छ। सयभन्दा बढी फरेनहाइट टेम्परेचर देखियो भने निगरानीमा राखिन्छ।’ उनले विमानस्थलमा हरेक यात्रुलाई चेकजाँच गरिने गरिएको सुनाए। विमानस्थलको हेल्थ डेस्कमा जनशक्ति बढाइएको पनि उनको भनाइ छ।
‘अहिले १९ जनाको जनशक्तिले काम गरिरहेको छ। ६ वटा थर्मोमिटर प्रयोग भएको छ। व्यवस्थापन चुस्तदुरुस्त बनाएका छौं,’ उनले भने। हवाई नाकामात्रै नभएर उनले चीन र भारतसँगको स्थलमार्गमा समेत निगरानी बढाइएको स्पष्ट पारे। शुक्रराज ट्रपिकल अस्पतालमा सय बेड रहेको र त्यसमा पनि ३० वटा आइसोलेसन बेड राखिएको उनको भनाइ रहेको छ। शुक्रराज ट्रपिकल, पाटन अस्पताल र सशस्त्रमा बेड तयारी अवस्थामा राखिएको बताउँदै उनले उपत्यकाका सबै अस्पताललाई स्ट्यान्डबाई राखिएको दाबी गरे। अहिले देशभित्र मास्कको अभाव भएको समाचार आइरहेकाले त्यसलाई सरकारले गम्भीरताका साथ लिएको उनको भनाइ छ। उनले भने, ‘मास्क अभाव हुनुमा हामीसँग उत्पादन क्षमता कम छ, अर्को कुरा मेटेरियल पनि बाहिरबाट ल्याउनुपर्ने भएकोले अहिले समस्या देखिएको हो।’
भर्खरै २५ हजार मास्क ल्याएको र छिट्टै अरु पनि बन्दोबस्त गर्ने योजना उनले सुनाए। मास्कमा कालोबजारी गरेको थाहा पाए सरकारले हदैसम्मको कारबाही गर्ने उनले चेतावनी दिए्। उनले सरकारी उच्च तहबाट अन्तर्राष्ट्रिय विमानस्थल ‘लक्ड–अप’ गर्ने निर्णय नभएको समेत स्पष्ट पारे। चीनको वुहान सहरबाट गत डिसेम्बरदेखि फैलिएको कोरोना संक्रमणको बिरामी नेपालमा मंगलबारसम्म नभेटिएको सरकारी दाबी छ। संक्रमणबाट दक्षिण एसियाका देशहरु बढी प्रभावित हुने जोखिममा रहेको र हालसम्म विश्वका ७३ मुलुक प्रभावित भइसकेको विश्व स्वास्थ संगठनले जनाइएको छ।
प्रकाशित: २१ फाल्गुन २०७६ ०४:२४ बुधबार