१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भ्रमण वर्ष सार्न व्यवसायीको सुझाव

काठमाडाैँ - चीनबाट फैलिएको कोरोना भाइरसका कारण नेपालमा आउने पर्यटकको संख्या घट्दो क्रममा छ। कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढ्दै गएपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी विदेशमा हुने नेपालको प्रचारप्रसार कार्यक्रम स्थगित गरेको छ। कोरोना भाइरस (कोभिड–१९) ले विश्वका धेरै देशमा असर गरिरहेका बेला नेपाल सरकार विदेशमा प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने मनस्थितिमा पुगेको हो।

अहिले चीनसहित विश्वका धेरै देशमा भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा अन्तर्राष्ट्रिय प्रचारप्रसारमा जोड दिँदा नकरात्मक सन्देश जाने भन्दै हाललाई विदेशमा गरिने प्रचारप्रसार बन्द गरिएको जनाइएको छ। तर कोरोना भाइरसको विश्वव्यापी संक्रमणमा नेपाल पर्न सक्ने भन्दै विश्व स्वास्थ संगठनले समेत सचेत गराइसकेको अवस्थामा सरकारले विदेशमा गरिने प्रचारप्रसारमा रोक लगाउनुभन्दा भ्रमण वर्ष अभियान नै सार्न उपयुक्त हुने पर्यटन व्यवसायीको भनाइ छ।

कोरोनाका कारण सरकारले लिएको २० लाख पर्यटक भिœयाउने अभियानमा ठूलो असर परेको जनाउँदै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी नवराज दाहालले परिस्थिति अनुकूल नहुँदासम्म अहिलेकै अवस्थामा सरकारले अभियान जारी राख्दा खर्चमात्रै हुने बताए। आन्तरिक पर्यटनमा जोड दिँदै भ्रमण वर्ष अभियान हाललाई रद्द गर्नु नै उपयुक्त हुने उनको भनाइ छ। ‘भाइरसको संक्रमण कुनै निश्चित देशमा मात्रै सीमित भएको भए सरकारी लक्ष्यलाई प्रभाव पर्ने थिएन,’ उनले भने, ‘अहिले अन्तर्राष्ट्रिय रूपमै कोरोनाले प्रभाव पारेको छ। संक्रमणको अवस्थामा कुनै पनि देशका नागरिक भ्रमणमा आउन सक्दैनन्। सरकारले संक्रमणलाई आधार बनाएर हाललाई अभियान रद्द गर्नुको विकल्प छैन।’

नेपाल आउने पर्यटकको संख्या भ्रमण वर्षको सुरुवातसँगै कम हुँदै गएको र चीनबाट आउने पर्यटकको विकल्पमा अन्य देशबाट समेत पर्यटक भित्र्याउने अवस्था नभएका कारण अहिलेको अवस्थाले सरकारी लक्ष्य हासिल नहुने उनको भनाइ छ। ‘कारोनाको कारण अहिले पर्यटन व्यवसाय नै सुस्ताएको छ,’ उनले भने, ‘सरकारले नआत्तिकन आउने दिनमा राम्रो हुन्छ भन्ने योजनासहित अर्काे वर्ष वा अनुकूल समयमा अभियान अघि बढाउनु उपयुक्त हन्छ।’ एक देशका नागरिक अर्काे देशमा गएर निस्फिक्री भ्रमण तथा बिदा मनाउने अवस्था नआएसम्म सरकारले भ्रमण वर्ष उद्घाटनको समयमा उठाइएका विषयवस्तुको अध्ययन गर्ने तथा आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिँदा फरक नपर्ने उनको भनाइ छ।

व्यवसायीसमेत कोरोनापीडित रहेको जनाउँदै उनले सरकारले व्यवसायीलाई सान्त्वना दिन समेत ढिला गरेको बताए। ‘भ्रमण वर्षलाई नै मध्यजनर गर्दै व्यवसायीले आफ्नो व्यवसायको लगानी बढाएका थिए,’ उनले भने, ‘व्यवसायीले पनि बैंकबाट ऋण लिएका हुन्छन्। बैंकको ब्याज बुझाउनुपर्ने हुन्छ। कर्मचारीलाई तलब र सरकारलाई कर बुझाउनुपर्ने भएका कारण व्यवसायीसमेत अन्योलमा छन्। यस्तो समयमा सरकारले अभिभाकत्व देखाँउदै सान्त्वना दिनुपर्ने हुन्छ।’ तर पर्यटन बोर्डका पूर्वकार्यकारी निर्देशक दिपकराज जोशीले भने भ्रमण वर्ष रद्द गर्नुभन्दा रोग नै भित्रन नदिने उपाय अपनाउन आवश्यक रहेको बताए। नेपाल आउने र नेपालबाट जानेमाथि सरकारले कडा निगरानी बढाउँदै सक्रमण नियन्त्रणमा नआउन्जेल आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने उनको भनाइ छ।

‘अहिले व्यवसायीको आफ्नै प्रकारको पीडा छ। त्यो पीडालाई आन्तरिक पर्यटनका माध्ययमबाट समाधान गरिनुपर्छ,’ उनले भने, ‘चीनमा पनि सञ्चार माध्ययमले भनेकै जस्तो छैन। उनीहरू पनि कार्यालय गइरहेका छन्। क्लब गइरहेका छन्। बाटोमा हिँडेका छन्। सबै ठाँउमा हिँडडुल गर्न प्रतिबन्ध कहाँ छ र ?’ विश्व स्वास्थ संगठनले दक्षिण एसिया नै संक्रमणको जोखिममा रहको जनाए पनि हालसम्म भारत, बंगलादेश, श्रीलंकालगायत देशमा संक्रमण नभेटिएकाले अहिले नै भ्रमण वर्ष रद्द गर्न हतार गर्न आवश्यक नरहेको उनले बताए। चीनको वुहान लगायत केही प्रान्तमा संक्रमण बढेपछि त्यहाँको सरकारले आम नागरिकलाई भ्रमणमा रोक लगाएसँगै नेपालको पर्यटन क्षेत्रमा प्रभाव देखिएको छ। गत वर्ष भारतका केही सहरमा फैलिएको विषालु हावाले अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा प्रभाव परेको थियो। सरकारले भ्रमण वर्ष सफल पार्न चीनबाट मात्रै पाँच लाख पर्यटक भिœयाउने लक्ष्य राखे पनि उक्त लक्ष्य प्राप्तिमा यो वर्षको पहिलो र दोस्रो महिनामा नेपाल आएका पर्यटकको तथ्यांकले असम्भव देखाउँछ।

सन् २०१९ को अन्त्यदेखि सुरु भएको कोरोनाको कारण हाल चीनसँगको दैनिक उडान आठबाट घटेर हप्तामा दुईवटा हुन पनि मुस्किल छ। यो वर्षको पहिलो महिना (जनवरी)मा नेपाल आउने विदेशी पर्यटकको संख्या पोहोरको तुलनामा १६ सय कम अर्थात ७९ हजार ६ सय ८६ छ। त्यस्तै फेब्रुअरीमा ७७ हजार ७४ पर्यटक नेपाल आएका छन्। उनीहरू सबै हवाई तथा स्थलमार्गबाट नेपाल आएका हुन्। अध्यागमन विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै फेब्रुअरीमा चीनबाट ३२ सय पर्यटक नेपाल आएका छन् भने भारतबाट १२ हजार भित्रिएका छन्। जापानबाट २६ सय ३५ तथा दक्षिण कारियाबाट १७ सय दुई पर्यटक नेपाल आएका छन्। जनवरीमा मात्रै चीनबाट १३ हजार तीन सय तीन, भातरबाट १६ हजार आठ सय ८२, जापानबाट दुई हजार चार र दक्षिण कोरियाबाट चार हजार पाँच सय ५९ पर्यटक नेपाल आएको तथ्यांक छ।

प्रकाशित: १९ फाल्गुन २०७६ ०४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App