१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

५० प्रतिशत छुट दिँदा पनि होटल खालि

काठमाडौं - चीनबाट फैलिएको कोरोना भाइरसका कारण नेपाल आउने पर्यटक संख्या घटेपछि ठमेल क्षेत्र सुनसान बनेको छ। वसन्तु ऋतुको सुरुआतसँगै पर्यटकले भरिभराउ हुने ठमेल कोरोना संक्रमणकै कारण सुनसान बनेपछि त्यहाँका केही होटल व्यवसायीले ५० प्रतिशत छुटसहित कोठा उपलब्ध गराउँदै आएका छन्। तर दुई महिनापहिले बुकिङ गरिएका कोठासमेत रद्द हुने क्रम बढेपछि व्यवसायी चिन्तित बनेका छन्।

सरकारले नेपाल कोरोनामुक्त रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउन नसकेको भन्दै व्यवसायीले आक्रोश पोखेका छन्। मुख्य सिजनमा पर्यटक कम हुँदा लगानी घरापमा परेको व्यवसायीको भनाइ छ। भाइरसको त्रासले कम पर्यटक आएको र आएकाले ठमेलमा छोटो समय बिताउँदा होटल, रेस्टुरेन्टलगायत व्यवसायमा प्रत्यक्ष असरे परेको जनाइएको छ। होटल, रेस्टुरेन्ट, डान्स बार र क्लबमा पर्यटकको बाक्लो चहलपहल हुने ठमेल सुनसान बनेको व्यवसायीको भनाइ छ। राजधानीका तारे होटलमा मात्रै नभएर कोरोनाको त्रासले बौद्ध, पाटन दरबार क्षेत्र, झम्सीखेल तथा भक्तपुर दरबार क्षेत्रका होटल, रेस्टुरेन्टमा समेत पर्यटकको अभाव देखिएको व्यवसायीको भनाइ छ।

ठमेल, नर्सिङ चोकस्थित स्काइलाइन होटलले विगत केही महिनादेखि ठमेल क्षेत्र सुनसान बन्दै गएको र कोरोनाको असरले व्यवसाय प्रभावित भएको जनाएको छ। होटलमा आएका बुकिङ पनि अन्तिम समयमा रद्द भएको स्काइलाइनको भनाइ छ। होटलमा बुकिङका लागि फोन गर्ने नेपाली ग्राहकले समेत कोरोनाको त्रासबारे सोध्ने गरेको होटलसम्बद्ध कर्मचारी बताउँछन्। भ्रमण वर्षमा धेरै पर्यटक आउने अपेक्षामा व्यापारमा लगानी बढाएका व्यवसायी चिन्तित बनेका छन्। पछिल्लो समय ताइवान, भारत, कोरिया, जर्मनी तथा जापान लगायत मुलुकबाट आउने पर्यटकको चहलपहल निकै घटेको ठमेलका रुद्राक्ष व्यापारी राजुकाजी शाक्यले बताए।

वसन्तु ऋतुको सुरुआतसँगै पर्यटकले भरिभराउ हुने ठमेल कोरोना संक्रमणकै कारण सुनसान बनेपछि त्यहाँका केही होटल व्यवसायीले ५० प्रतिशत छुटसहित कोठा उपलब्ध गराउँदै आएका छन्। तैपनि पर्यटक छैनन।

‘वसन्त ऋतुको सुरुआतसँगै समूह बनाएर आउने पर्यटक देखिएका छैनन’ उनले भने, ‘सरकारले नेपाल रोगबाट मुक्त छ भन्ने सन्देश अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत सम्प्रेषण नगरेसम्म लगानी धरापमा छ।’ सरकारले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा समेत कोरोना भाइरस संक्रमित व्यक्ति पहिचान गर्न उपयुक्त हेल्थ डेस्कको व्यवस्था गर्न ध्यान नदिएको उनले आरोप लगाए। सरकारले विमानस्थलमा ज्वरो नाप्ने यन्त्रमात्रै राखेर जनतामा भ्रम फैलाइरहेको र भोलिको दिनमा नेपालमा उक्त भाइरस फैलिए भगवान भरोसा मात्रै हुने र नियन्त्रणको सम्भावना समेत नहुने उनको भनाइ छ।

एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा जडान गरिएको एउटा ‘थर्मल स्क्यानर’ बिग्रिएको एक महिना हुँदा समेत सरकारले परिवर्तन गर्न नसकेको भन्दै उनले चलेको थर्मल स्क्यानरले समेत सही तापक्रम देखाउनेमा शंका व्यक्त गरे। सरकारले लाखौं पर्यटक भित्र्याउने लक्ष्य राखे पनि उल्लेख्य पर्यटक नआउँदा हुने घाटाको मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ। ठमेलमा रहेका पाँच हजारभनदा बढी व्यवसाय पर्यटक लक्षित रहेकाले सबैमा कोरोनाको मार परेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले बताए। कोरोनाकै कारण नयाँ वर्ष मनाउन चीन पुगेका ठमेलका व्यवसायी नेपाल फर्कन नपाउँदा लगानीमा समेत असर देखिएको उनले बताए। कोरोनाको असरले ठमेल क्षेत्रमा पर्यटकको संख्यामा कमी आए पनि पछिल्लो साता भने केही चहलपहल बढेको ठमेलस्थित पर्यटन प्रहरी सूचना केन्द्रले जनाएको  छ।

‘सात दिनअघिसम्म सुनसान हुने ठमेल क्षेत्रमा विस्तारै पर्यटकीय चहलपहल सुरु हुन थालेको छ,’  पर्यटन प्रहरी सूचना केन्द्रकी इन्चार्ज दुर्गा श्रेष्ठले भनिन्, ‘ठमेल क्षेत्रमा कति पर्यटकले प्रवेश गरे भन्ने यकिन तथ्यांक  नभए पनि पर्यटक कमै देखिएको थियो । तर पछिल्लो समय चहल पहल बढेपछि पर्यटकको सुरक्षाकै निम्ति युनिटले रात्रिकालीन सेवासमेत बढाएको छ।’ रात्रिकालीन सेवा सुरु गरेपछि पर्यटकले थप सुविधा पाउने उनको दाबी छ।

प्रकाशित: १८ फाल्गुन २०७६ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App