४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्याउ बिरुवा बेचेर करोडौं कमाउँदै जुम्ला

नर्सरी धनीले बिक्रीका लागि राखेका स्याउका बिरुवा। तस्बिर / नागारिक

जुम्ला - जुम्लाको गुठीचौर गाउँपालिकाका रुद्र देवकोटाले यो वर्ष स्याउका बिरुवा सोलुखम्बु पठाए। उनको नर्सरीबाट सोलुखुम्बुमा मात्र ६ सय बिरुवा निर्यात भयो। उनीसँग स्याउका बिरुवाको माग अत्यधिक छ। गोडमेल गरेपछि अर्को चरणमा बिरुवा पठाउने तयारीमा रहेको उनी बताउँछन्। उनले भने, ‘स्याउको दाना बेचेर मात्र जुम्लाले रुपैयाँ कमाउँदैन, स्याउका बिरुवा बेचेर पनि करोडौं रकम भित्र्याउँछ।

चन्दननाथ नगरपालिकाका नरबहादुर रावत यहाँ उत्पादित स्याउका बिरुवा देशैभर पुग्ने गरेको अनुभव सुनाउँछन्। उनले भने, ‘किसानले गुणस्तरीय बिरुवा उत्पादन गर्नुपर्छ। सबै बिरुवा बिक्री भइहाल्छ। किसानलाई स्याउका बिरुवा खेर गयो भनेर पछुताउनुपर्ने हुँदैन।’ जुम्लाको १४औं जिल्ला परिषद्ले एक घर एक स्याउ बगैंचाको अवधारणा ल्याएदेखि नै उनले स्याउको बिरुवा उमार्न थालेका हुन्। उनले भने, ¬‘पहिले जिल्लाभित्रै स्याउका बिरुवा खपत हुन्थे। अहिले सडक सञ्जालले जोडिएपछि पूर्वको सोलुखुम्बुदेखि पश्चिमको दार्चुलासम्म पुग्ने गरेका छन्। उनको नर्सरीबाट यो वर्ष आठ सय स्याउका बिरुवा बाहिरका जिल्ला निर्यात भइसकेको छ।

गुठिचौरका रुद्र र तलिउमका नरबहादुर उदाहरण मात्र हुन्। उनीजस्ता स्याउ किसानले जुम्लामा एक सय १० नर्सरी दर्ता गरेका छन्। जुम्लामा उत्पादित बिरुवाको माग जिल्लाबाहिर बढी छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा भन्छन्, ‘यस वर्ष जिल्लामा ६ लाख स्याउका बिरुवा उत्पादन भएको थियो। नर्सरी बारीमै प्रतिबिरुवाको मूल्य ४० रुपैयाँ कायम गरिएको छ। यो वर्ष झन्डै दुई करोड ४० लाख रुपैयाँबराबरको स्याउको बिरुवा बिक्री भयो।’ कृषि प्रमुख देवकोटाका अनुसार कुल उत्पादनको २० प्रतिशत मात्रै जिल्लामा खपत हुने गरेको छ। ८० प्रतिशत उत्पादनको बजार जिल्ला बाहिर नै हो। ‘जुम्ला डेलिसियस’ जातको स्याउका बिरुवाको राष्ट्रिय स्रोत केन्द्रका रूपमा स्थापित भइसकेको उनी बताउँछन्।

‘किसानले गुणस्तरीय बिरुवा उत्पादन गर्नुपर्छ। सबै बिरुवा बिक्री भइहाल्छ। किसानलाई स्याउका बिरुवा खेर गयो भनेर पछुताउनुपर्ने हुँदैन।

स्याउका बिरुवाको माग बझाङ, बाजुरा, सोलुखुम्बु, रसुवा, डोल्पा, मुगु, हुम्ला, कालीकोटलगायत जिल्लामा बढी छ। व्यापारीले नर्सरीमै पुगेर बिरुवा खरिद गरिरहेका छन्। दुई वर्षअघि २५ रुपैयाँमा बिक्री हुने गरेका बिरुवाको मूल्य अहिले ४० पुगेको छ। यहाँका एक नगरपालिकासहित सातवटा गाउँपालिकाले फलफूल खेतीलाई प्राथमिकतामा राखेका छन्। फलफूलमा स्याउखेती सबैको प्राथमिकता हो। किसानलाई अनुदानमा बिरुवा वितरण गर्ने र हुर्काउन अनुदान दिने स्थानीय सरकारले गर्दै आएका छन्। तातोपानी गाउँपालिकाले प्रतिबिरुवा हुर्काउन वार्षिक एक सय रुपैयाँ वितरण गरिरहेको छ।   स्याउखेतीमा स्थानीयको आर्कषण बढ्दै गएपछि स्याउ उत्पादन हुने क्षेत्रफल बढ्दै गइरहेको कृषि प्राविधिक बताउँछन्।

पाँच वर्षको अवधिमा जुम्लामा करिब सात लाख स्याउको बिरुवा उत्पादन भएको कृषि विकास कार्यालयको तथ्यांक छ। जुम्ली किसानले स्याउसँगै नर्सरीबाट पनि आम्दानी गरिहेका छन्। जुम्लाका आठै स्थानीय तहमा स्याउखेतीको सम्भावना राम्रो छ। जुम्लाका झन्डै १६ हजारभन्दा बढी घरधुरी स्याउखेतीमा निर्भर छन्।   यतिबेला जुम्लाका किसानले स्याउ बगैंचा व्यवस्थापनको काम सकाएका छन्। बोटको कोपिला पलाउने र फुल्ने मौसम सुरु हुन थालेपछि किसानले बगैंचा व्यवस्थापनलाई जोड दिइएका थिए।    ‘राम्रो काटछाँट नभए स्याउले उत्पादन राम्रो दिँदैन्,’ स्याउ किसान जीवनबहादुर खत्रीले भने, ‘स्याउलाई गुणस्तरीय बनाउन आवश्यक मलखाद्य र व्यवस्थापनको जरुरी छ। यसका लागि यहाँका किसान लागि परेका छन्।’ हिउँका डल्ला हिउँ संकलन पोखरीमा संकलन गर्ने, स्याउ बिरुवाको वरिपरि राख्ने, कोलिया बनाउने, घेरबार गर्ने, कलमी गर्ने, गोडमेल गर्ने, बोडो पेस्ट लगाउने स्याउ किसानले गरिसकेका छन्।

प्रकाशित: १८ फाल्गुन २०७६ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App