१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जहाज फर्किदा भरिभराउ यात्रु

काठमाडौं - अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ सुरु गरेको नेपाल वायु सेवा निगमले जापानको नारितामा गर्न लागेको व्यावसायिक उडानको टिकट बिक्री सन्तोषजनक रहेको जनाएको छ। निगमले अन्तर्राष्ट्रियस्तरमा प्रचलित भुक्तानी कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट टिकट बुकिङ गर्न सकिने र आगामी फागुन १९ गतेबाट जापानको नारिता उडान सुरु गर्ने जनाएको छ।

पहिलो उडानमा काठमाडौंबाट नारिता जान एक सय ६६ टिकट र नारिताबाट काठमाडौं आउन दुई सय ५२ जनाले टिकट बुकिङ गरेको निगम स्रोतले जनाएको छ। उक्त जहाजमा बिजनेस र इकोनामी गरी दुई सय ७४ सिट छ। जापानको ओसाका उडान बन्द गरेर नारिता उड्ने तयारीमा रहेको निगमले उक्त गन्तव्यमा देखिएको आकर्षणलाई संस्थाको व्यावसायिक सफलतासँग जोडेर हेरिएको निगमकी प्रवक्ता अर्चना खड्काको भनाइ छ।

‘सोमबारसम्म भएको टिकट बुकिङलाई सन्तोषजनक रुपमा लिन सकिन्छ,’ उनले भनिन्, ‘टोकियो नजिक र धेरै नेपालीले सेवा लिन सक्ने गन्तव्य भएकाले पनि हामीले अपेक्षा गरे जस्तै आर्कषण पहिलो उडानमा देखिएको छ।’ नारिताको सिधा उडानले नेपालबाट त्यहाँ जाने यात्रुले झेल्नुपर्ने ट्रान्जिटको झन्झटअन्त् यगर्नेछ।

ओसाका उडान भर्दै आएको निगमले उक्त गन्तव्यबाट अपेक्षित फाइदा लिन नसके पनि नारितामा उडान सुरु गर्ने अनुमतिलगायत प्रक्रियामा सहयोग पुगेको उनले बताइन्। सुरुको केही उडान जहाजको क्षमताअनुसार नभए पनि पछिल्लो समय भने आउ–जाउमै सफलता मिल्दै गएको उनको भनाइ छ। नारिता उडानबाट अझ घेरै सफलता मिल्नेमा आशावादी रहेको उनले बताइन्।

नारिता जापानको राजधानी टोक्यो नजिक भएकाले घेरै नेपालीतथा नेपाल आउने पर्यटकले उक्त विमानस्थल प्रयोग गर्छन्। यसले गर्दा नै अफसिजनमा समेत राम्रो प्रतिक्रिया पाएको खड्काले बताइन्।

ओसाकाजस्तै नारितामा पनि निगमले सातामा तीन उडान भर्नेछ। सोमबार, बुधबार र शुक्रबार उडान भर्ने तयारी गरेको निगमले हाललाई काठमाडौं–नारिता उडानको दुईतर्फी भाडा ७३ हजार रुपैयाँ तोकेको छ। एकतर्फी भाडा ३७ हजार रुपैयाँ तोकेको छ। ‘अहिले तोकिएको भाडा नयाँ गन्तव्यको प्रमोसनल फेयर (प्रवद्र्धनात्मक भाडा) हो,’ उनले भनिन्, ‘भविष्यमा यात्रुको अकुपेन्सीअनुसार भाडादर तलमाथि हुनेछ।’

निगमको ए३३०–२०० वाइडबडीले काठमाडौंबाट नारिता पुग्न साढे नौ घन्टा लगाउनेछ। काठमाडौंबाट राति १ः२५ बजे नारिता उड्ने विमानस्थानीय समय अनुसार विहान ११ बजे त्यहाँ अवतरण गर्ने खड्काले जानकारी गराइन्। नारिताबाट स्थानीय समयअनुसार दिउँसो १ बजे उडेर नेपाली समय अनुसार ६ः२५ मा काठमाडौं अवतरण गर्नेछ।

उक्त उडानमार्फत बिजनेस क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २५ किलोका दुईवटासम्म ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३ केजीका दुईवटा ब्यागेजको सुविधा पाउनेछन्।

नारिता उडानका लागि निगमले जापान सिभिलएभिएसनब्युरो (जेक्याप)सँग गत मंसिरमा ग्राउन्ड ह्यान्डलिङसम्बन्धी सम्झौता गरेको थियो।
सुरुदेखि नै नारिता उडान भर्ने योजना बनाएका निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारको योजना उल्टाउँदै हालै राजीनामा दिएका कार्यकारी अध्यक् षमदन खरेलले ओसाका सुरु गरेकाथिए। लामो गन्तव्यमा उडान भर्न नसकेको भनेर आलोचित बन्दै आएको निगमले वाइडबडी नेपाल भित्र्याएको एक वर्षपछि गतभदौ १२ गते ओसाका उडान सुरु गरेको थियो।

निगमको दुई सय ७४ सिट क्षमताको वाइडबडी ए३३०–२०० जहाजले ओसाकाको पहिलो उडान भरेको थियो। ओसाका उडान सुरु गरेको पाँच दिनमै यात्रु संख्या ५०–६० जनामात्रै भएको र आउजाउ खर्च एक करोड रुपैयाँभन्दा बढी भएको भन्दै निगमले साप्ताहिक उडान संख्या तीनबाट दुईमा झारेको थियो।

सन् १९९४ देखि ओसाका उडान थालेको निगमले सन् २००७ मा जहाजको संख्या नपुगेपछि स्थगन गरेको थियो। त्यसको १२ वर्षपछि निगमका जहाज पुनः जापान उड्न थालेका छन्। जपान उडानले नेपाल भ्रमण वर्षमा विदेशी पर्यटक संख्या बढाउन योगदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १३ फाल्गुन २०७६ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App