१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

कर्णालीमा कृषि: माग बढ्दो, उत्पादन घट्दो

जुम्ला - कर्णालीमा उत्पादित अर्गानिक कृषि बस्तुको माग अत्यधिक बढेको छ। कर्णाली भित्रिने हरेक अन्तरिक तथा बाह्य पर्यटकले स्थानीय बालीबाट बनेको खाना निकै मनपराउँछन्।उनीहरुको माग पनि अत्यधिक हुने गरेको होटल ब्यवसायीहरु बताउँछन्। तर अर्गानिक कृषि उत्पादन क्षेत्र दिनप्रतिदिन घट्दै गइराखेको छ।

कर्णालीमा घुम्न आउने पर्यटकहरूले स्थानीय रातो मार्सी धानको चामल, चिनो, कागुनो, कोदोलगायतका कर्णालीमा पाइने खाद्यान्नबाट बनेका खानाको परिकार निकै रुचाउछन्, स्थानीय किसान जीवनबहादुर बुढा भन्छन्,¬‘ माग उच्च भए पनि जनसंख्या वृद्धि र युवाहरूको पलायनले उत्पादन घट्दै गएको हो। यो अवस्थामा यहाँका किसानले बाहिर जिल्लाबाट आयतित खाद्यन्न  उपभोग गरिराखेका छन्। यो राम्रो बिषय होेइन्।

सिँचाइ र स्थानीय बाली उत्पादन गर्ने कृषकको अभाव छ। उनले भने,‘त्यसैले रैथाने स्थानीय बाली उत्पादन घट्दो अवस्थामा छ।’ कर्णालीमा आउने पर्यटकहरूको पहिलो रोजाइमा यहाँका स्थानीय बालीबाट उत्पादन भएका खानाका परिकारहरू पर्छन्। स्थानीय बालीबाट उत्पादन भएका खानाको परिकारको माग उच्च छ तर उत्पादनमा कमी आउनाले पर्यटकहरूको माग पूरा गराउन समस्या रहेको कालिकोट मान्ममा रहेको होटल हिलसाइटका सञ्चालक धर्मराज शाही बताउँछन्। ‘कर्णालीमा घुम्न आउने अधिकांश मानिसहरूले यहाँको स्थानीय उत्पादनबाट बनेका परिकार नै खोज्छन्’ उनले भने, ‘उत्पादनमा आएको ह्रासका कारणले मागअनुसार पूर्ति गर्न सकिएको छैन।’

कर्णालीको रारा, जुम्ला घुम्न आउने पर्यटक स्थानीय उत्पादन चाख्न चाहान्छन्।यहाँको कृषि उत्पादनबाट बनेको परिकारको स्वाद लिन चाहान्छन्। तर उत्पादन कम हुदाँ परिकार नै नपाउने अवस्था आउन थालिसकेको छ। कर्णालीमा पाइने स्थानीय बाली रातो मार्सी धान, चिनो, कागुनो, कोदोलगायतका स्थानीयस्तरमा उत्पादन हुने बाली कमैले उत्पादन गर्न थालेका छन्। धेरै जसो किसान बाहिरबाट आउने खाद्यन्नको प्रयोग गर्न थालिसकेका छन्।

बाहिरबाट आउने खाद्यान्नलाई त्यति मेहनत गर्न नपर्ने भएका कारणले बाहिरबाट आउने खाद्यान्नतर्फ स्थानीय आक्रर्षण बढेको कालिकोट खाँडाचक्र नगरपालिकाका कृषि शाखा प्रमुख परशुराम काफ्ले बताउँछन्। कर्णालीमा उत्पादन हुने रातो मार्सीको चामल मोटो र खस्रो हुन्छ। बाहिरबाट आउने चामल मीठो र मसिनो पनि हुन्छ। मार्सी उत्पादनमा मेहनत पनि धेरै गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले यहाँका स्थानीयवासी बाहिरबाट आउने खाद्यान्नतर्फ आकर्षित भएका छन्। तर यो राम्रो पक्ष होइन्। पोषकतत्व यही हाम्रो माटोमा उत्पादन भइरहेको बालीनालीमा नै हुन्छ।’

सडक सञ्जाल नभएको बेला र बाहिरबाट खाद्यान्न आयात नहुँदा यहाँका स्थानीयवासीले रातो मार्सी धान, चिनो, कागुनो र कोदो उत्पादन राम्रो गर्ने गरेका थिए। त्यही खाद्यन्नको अधिकतम प्रयोग भइरहेको थियो। तर, अहिले बाहिरबाट आयात हुँदा त्यसको उत्पादनमा ह्रास आएको स्थानीय बताउँछन्। स्थानीय खड्क भण्डारी भन्छन्, ‘अहिले सडक सञ्जालले छोयो। यहाँका मानिसले स्थानीय बालीभन्दा बाहिरबाट आएको खाद्यान्न बाली मन पराउँछन्। त्यसैले पनि उत्पादन हुन छाड्यो। अब यहाँ उत्पादित बालीनालीको खेति बिस्तार गर्न जरुरी देखिएको छ। कृषि लक्षित अनुदानका कार्यक्रम वास्तविक किसान सम्म पुग्नुपर्छ।’

कर्णालीमा पाइने रातो चामल र पोषकीय हिसाबले राम्रो मानिने चिनोको चामलको मूल्य बराबर छ। स्थानीयस्तरमा रातो चामलको मूल्य १ सय ५० छ भने चिनोको मूल्य पनि १ सय ५० नै रहेको स्थानीय बताउँछन्। कर्णाली प्रदेश सरकारले पनि स्थानीय उत्पादनलाइ प्रोत्साहित गर्न अर्गानिक खेतिप्रर्णाली तर्फ जोड दिइएको छ। जुम्ला एक दशक अघि देखि नै अर्गानिक जिल्लाका रुपमा घोषित भइसकेको छ।

आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटकको माग संवोधन गर्न कृषिमैत्री कार्यक्रम सञ्चालन गरेर अर्गानिक कृषि उत्पादनमा जोड दिनु पर्ने कृषि विज्ञ बताउँछन्। सडकले नछुँदा सम्म कर्णालीमा अर्गानिक खेति हुन्थ्यो। अहिले बाहिर जिल्ला हुदै खाद्यन्न जाने गरेकोले किसानको जोश जाँगर हराउँदै जान थालेको हो।

प्रकाशित: १० फाल्गुन २०७६ ०५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App