८ वैशाख २०८१ शनिबार
अर्थ

उज्यालो देखाउँदै सगरमाथा आँखा अस्पताल

लहान - सगरमाथा चौधरी आँखा अस्पताल लहानले झन्डै एक करोड आँखाका बिरामीको उपचार गरेको छ। विभिन्न शाखा अस्पतालले समेत गरी ३७ वर्षमा ९८ लाख आँखाका बिरामीको उपचार गरेको जनाएको हो। अस्पतालले ३७ वर्षगाँठमा सार्वजनिक गरेको तथ्यांकअनुसार देश र विदेशका गरी ९८ लाख आँखा विरामीको उपचार गरेको जनाएको छ।

पूर्वाञ्चल आँखा उपचार कार्यक्रम अन्तर्गत सञ्चालित सगरमाथा चौधरी आँखा अस्पताल मात्रले ५८ लाख १९ हजार ८ सय ४३ जना बिरामीको उपचार गरेको छ। यस अस्पतालको शाखा अस्पताल तथा उपचार केन्द्रहरु गरी ९८ लाख बिरामीको उपचार गरिएको अस्पतालले जनाएको छ। कार्यक्रमका संयोजक सुधिर ठाकुरकाअनुसार सगरमाथा चौधरी आँखा अस्पताल, विराटनगर आँखा अस्पतालसहित २३ वटा आँखा उपचार केन्द्रहरुबाट ९८ लाख आँखा बिरामीले उपचार सेवा प्राप्त गरेका छन्। यस अस्पतालमा १८ लाख आँखाका बिरामीको शल्यक्रियमार्फत दृष्टि फर्काइएको उनले बताए। सगरमाथा चौधरी आँखा अस्पतालको शाखा अस्पतालको रुपमा १४ वर्षअघि बिराटनगर आँखा अस्पतालको सेवा सुरु भएको थियो।

सगरमाथा चौधरी आँखा अस्पताल बिरामी संख्याको हिसावले विश्वकै तेस्रो ठूलो आँखा अस्पताल हो। यस अस्पतालमा देशको ७६ वटा जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेको तथ्यांक छ। यहाँ भारत, बंगलादेश, भुटानसहित अन्य देशबाट पनि आँखाका बिरामी आउँछन्।

भारतमै विश्वको पहिलो र दोस्रो ठूलो आँखा अस्पताल छ। तर, भारतीय विरामी समेत उपचारका लागि सगरमाथा चौधरी आँखा अस्पताल आउने गरेको अस्पतालले जनाएको छ। ‘संसार देख्ने आस मारिसकेका, हामीलाई संसार देखाउने आदरणीय चिकित्सकलाई धन्यवाद।’ आँखाको ज्योती गुमेर सगरमाथा चौधरी आँखा अस्पताल लहानमा उपचारपछि घर फर्केका भारत मधेपुरा जिल्लाका रामअवतार र शिवशंकर भगतले संयुतm रुपमा अस्पतालप्रति आभार व्यतm गर्दै पठाएको पत्रमा उल्लेख छ।

शल्यक्रियापछि संसार देख्न पाएका धेरैले भगतद्वयजस्तै धन्यवादसहित पत्र पठाएका छन्। जसमध्ये केही पत्र अस्पतालको वार्डहरुमा झुन्डिएका छन्। भारतमै थुप्रै अस्पतालले आँखा उपचार सेवा गर्दै आए पनि भारतीय बिरामी माझ सगरमाथा चौधरी आँखा अस्पतालको उपचारप्रतिको विश्वास छ। सगरमाथा चौधरी आँखा अस्पतालले सगरमाथा जस्तै नेपालको नाम विश्वभर फैलाइरहेको छ, बुद्धिजिवी विश्वनाथ महतोले भने। प्रायः हुनेखाने नेपालीहरु स्वास्थ्यमा समस्या भयो कि उपचारका लागि भारत दौडन्छन्। तर छिमेकी मुलुक भारतका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्नुले यसको गुणस्तरीयतालाई पुष्टि गर्छ, उनले भने। शल्यक्रियाको आधारमा विश्वमै अब्बल यो आँखा अस्पताल प्रदेश नम्बर २ का लागि ‘चिकित्सा पर्यटन’ को बलियो स्रोत भएको उनको कथन छ।

अहिलेसम्म कुनै विवादमा नपरेको यस अस्पतालमा वार्षिक जचाउन आउने बिरामीको संख्या लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा दैनिक आउने बिरामीमा नेपाली र विदेशीको संख्या बराबरी छ। विदेशी बिरामीमध्ये करिब ९० प्रतिशत भारतीय हुने गरेका छन्।

‘यस प्रकारको ‘चिकित्सा पर्यटन’ (मेडिकल टुरिज्म) ले प्रदेश २ को व्यापारमात्र होइन, गौरव पनि बढाएको जेएस मुरारका बहुमुखी क्याम्पस लहानका प्रमुख तुलसीराम पोखरेलले बताए। ‘यसबाट औषधि पसल, वाहन, होटेल र खुद्रे पसलको व्यापार वृद्धि भएको छ,’ उनले भने, ‘रोजगारीका अवसर पनि सिर्जना भएका छन्।’

गुणस्तरीय, सस्तो र सबैखाले सहजताले गर्दा उपचार गराउन आउनेमा बढी भारतीय हुने गरेको सो आँखा अस्पतालका प्रबन्धक अभिषेक रोशनले बताए। सन् १९८३ सालमा स्थापित यो अस्पताल बिरामीले तिर्ने न्यूनतम शुल्क एवं दातृसंस्थाको सहयोगले चलिरहेको छ। यस अस्पतालमा मुलुककै १५ उत्कृष्ट आँखारोग विज्ञसहित झन्डै चार सय चिकित्सक एवं प्रशासनिक कर्मचारी कार्यरत छन्। यस अस्पतालमा वार्षिक जँचाउन आउने बिरामीको संख्या पाँच लाख ३४ हजार पाँच सय ५७ र शल्यक्रिया गराउनेको संख्या ५९ हजार एक सय ५७ छ। यस भन्दा अघिल्लो वर्ष जचाउन आउने बिरामीको संख्या चार लाख ८८ हजार पाँच सय ४९ र शल्यक्रिया गराउनेको संख्या ५८ हजार चार सय ७८ थियो।

अस्पताल प्रशासनकाअनुसार गत वर्ष ४६ हजार २१ मोतिविन्दु विरामीको शल्यक्रिया गरिएको थियो। जसमा फेको प्रविधिमार्फत ९ हजार ३ सय ३३ जनाको शल्यक्रिया गरिएको थियो। यो प्रविधि यसै अस्पतालका संस्थापक निर्देशक डा. एलब्रेच्ट हेनिङको आविष्कार हो। यो प्रविधि विश्वभरका नेत्र विज्ञहरुले प्रयोग गर्दै आएका छन्।

यो अस्पतालमा जाँचका लागि आउने बिरामीको संख्या बढ्दो क्रममा रहेको अस्पताल प्रशासनले जनाएको छ। पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्तर्गत नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गैरनाफामूलक सो अस्पतालमा आधारभूत दृष्टि जाँचदेखि विश्वकै अति विकसित अस्पतालमा हुने जटिल शल्यक्रियासम्म हुन्छ। मोतियाबिन्दु, जलबिन्दु, पर्दा (रेटिना) को रोग, कोर्निया (नानी) प्रत्यारोपण, कोर्नियासम्बन्धी सम्पूर्ण जाँच एवं उपचार, अकुलोप्लास्टी (कृत्रिम आँखा राख्ने), बालबालिकाको मोतियाबिन्दु र आँखाको डेढोपन (स्विकन्ट) सम्बन्धी शल्यक्रिया यहाँ हुन्छ।

बस्न लाग्ने खर्चसहित एक हजार दुई सय रुपैयाँमा मोतियाबिन्दुको शल्यक्रिया यहाँ हुन्छ। प्रबन्धक रोशनका अनुसार कुल रोगीमा ७० प्रतिशत मोतियाबिन्दुका र अन्यमा कोर्निया, रेटिना एवं जलबिन्दुलगायत हुन्छन्। ५० रुपैयाँ पुर्जीशुल्क तिरेपछि आँखाको सम्पूर्ण परीक्षण हुन्छ। ‘संसारमै सबभन्दा कम शुल्क १२ हजार रुपैयाँमा रेटिनाको शल्यक्रिया गर्छौं,’ प्रबन्धक रोशनले भने, ‘सेवासुविधाको तुलनामा निकै कम शुल्क राखेकाले हामी सबै वर्गको पहुँचमा छौं।’

ठूलो रकम खर्चेर मात्र स्तरीय उपचार पाइन्छ भन्ने जनमानसमा फैलाइएको भ्रम र हल्लाको आफूहरूले सशक्त जवाफ दिइरहेको रोशनले बताए। ‘उपलब्ध सुविधा, न्यूनतम शुल्क, विज्ञ र गुणस्तरीयताको हिसाबले एसियाको मात्र नभएर विश्वकै यो तेस्रो सबभन्दा उत्कृष्ट आँखा अस्पताल भएको दाबी गर्छौं,’ रोशनले भने। पहिलो र दोस्रो स्थानमा भने भारतकै मध्यप्रदेशको चित्रकुट एवं तमिलनाडु राज्यमा रहेका आँखा अस्पताल छन्। राजधानीको आँखा अस्पतालले पनि दिन नसक्ने उपचार लहानमा उपलब्ध रहेको रोशनले बताए।

नेपाल नेत्रज्योती संघका केन्द्रिय सदस्य समेत रहेका यस अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीले हामी गुणस्तरीय उपचार मात्र गरिरहेका छैनांै, वार्षिक अडाई करोड रुपैयाँ बराबरको निःशुल्क आँखा उपचारको सेवा समेत दिँदै आएका छौं। लहान र बिराटनगर आँखा अस्पतालले वार्षिक डेढडेढ करोड रुपैयाँ बराबरको च्यारेट्रि उपचार गर्दै आएको उनले बताए।

पैसा नभएर आँखाको उपचार नगर्ने अवस्था यहाँ छैन् उनले थपे,‘आर्थिक विपन्नताका कारण रोग पालेर बसेकाहरुलाई हामी निःशुल्क उपचार दिँदैछौं।’ ‘हाम्रो मूल मन्त्र अन्धोपन निवारण हो उनले भने, हामी यस अभियानमा अघि बढिरहेका छौं।’

नेपाल नेत्र ज्योती संघका अध्यक्ष प्राध्यापक चेतराज पन्तले यो अस्पताल अन्धोपन निवारणको क्षेत्रमा महत्वपूर्ण एवं उपलब्धिमूलक कार्य गरिरकेको बताए।

प्रकाशित: ५ फाल्गुन २०७६ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App