६ वैशाख २०८१ बिहीबार
अर्थ

धनगढी विमानस्थल अन्तर्राष्ट्रिय स्तरकाे बनाउन गुरुयोजना

कैलालीको गेटस्थित धनगढी विमानस्थलमा अवतरण गरिएका हवाइजहाज । फाइल तस्बिर : नागरिक

धनगढी - सुदूरपश्चिम प्रदेशको राजधानीमा रहेको धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन गुरुयोजना तयार गरिएको छ। २० वर्षमा धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गुरुयोजना धनगढीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा प्रस्तुत गरिएको थियो।

रियलपाथ इन्जिनियरिङ कन्सल्टेन्ट प्रालिले बनाएको गुरुयोजनालाई अन्तिम रुप दिन शनिबार धनगढीमा सरोकारवालासँग छलफलकालागि प्रस्तुत गरिएको थियो। प्राधिकरणका महानिर्देशक राजु पोखरेलले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन करिब १७ अर्ब रुपैयाँ खर्च गरिने बताए। ‘पाँच अर्ब घरजग्गा अधिग्रहण र १५ अर्ब पूर्वाधार विकासमा खर्च गर्ने गरी गुरुयोजना तयार पारिएको छ,’उनले भने।

घरजग्गा अधिग्रहण र पूर्वाधार विकासको काम तीन चरणमा गर्नुपर्ने गुरुयोजनामा उल्लेख छ। सन् २०२४ सम्म विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने गुरु योजना बनाइएको रियलपाथ इन्जिनियरिङ कन्सल्टेन्ट प्रालिका निर्देशक गुरुदत्त अधिकारीले बताए।त्यसपछि सन् २०२४–३० सम्म दुई हजार पाँच सय ५० मिटर लामो र ३० मिटर चौडा धावनमार्ग निर्माण गरिसक्ने गरी गुरुयोजना रहेको उनको भनाइ छ। तेस्रो चरणमा त्यसपछिको १० वर्षमा आवश्यक सबै पूर्वाधार निर्माण गरेर धनगढीलाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाइने गुरुयोजनामा उल्लेख छ।

धनगढी विमानस्थलमा अहिले पूर्व–पश्चिम एक हजार आठ सय मिटर लामो धावनमार्ग छ। यो धावनमार्गको लम्बाई त्रिभुवन विमानस्थलपछिको देशभरमै सबैभन्दा बढी हो। अन्तर्राष्ट्रिय विमानस्थल बनाउनदुई सय ४४ बिघा जग्गा अधिग्रहण गरिने छ। चालु आर्थिक वर्षमा गुरुयोजना बनाएर अर्को वर्षबाट काम थालिने महानिर्देशक पोखरेलले बताए।धनगढी विमानस्थललाई विस्तार गर्ने प्रक्रिया तुरन्तै सुरु गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए।‘धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तयार पारिएको गुरुयोजना सरकारले कार्यान्वयन गर्ने छ,’उनले भने।

सुदूरपश्चिम क्षेत्रका राजनीतिक दलका नेता, पर्यटन व्यवसायी, नागरिक समाजलगायतले भने अन्तर्राष्ट्रिय विमानस्थलका लागि २० वर्ष पर्खनुपर्ने गुरुयोजना उचित नभएको बताए। काठमाडौं नजिकको पोखरा, निजगढ र लुम्बिनीमा एक–दुई वर्षमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तर सुदूरपश्चिमका लागि २० वर्ष कुर्नुपर्ने कुरा न्यायोचित नभएको पर्यटन व्यवसायी गोपाल हमालले बताए। सुदूरपश्चिमबाट लाखौं युवा रोजगारीका लागी भारतको दिल्ली, मुम्वई लगायतका शहरमा जाने गरेको उल्लेख गर्दै धानगढीवाट अन्तराष्ट्रिय हवाई सेवा उडान गरिनुपर्ने नेकपाका सचिव रणबहादुर चन्दले बताए।‘धनगढी बिमानस्थललाई छिटो अन्तराष्ट्रिय बिमानस्थल बनाएर भारतका शहरमा हवाई सेवा शुरु गरिहाल्नुपर्छ।

यसैगरि नेपाली काग्रेस कैलालीका उपसभापती प्रकाश बमले वरपरको जमिन अधिग्रहण गरेर बिमानस्थललाई विस्तार गरि छिटोभन्दा छिटो क्षेत्रिय र अन्तराष्ट्रिय सेवा शुरु गरिनुपर्ने बताएका छन। कैलाली क्षेत्र नम्वर ५ का प्रतिनिधी शभा सदस्य नारदमुनी रानाले विमानस्थल आसपास बाक्लो बस्ती नभएकाले अहिले जग्गा अधिग्रहण गर्न पनि सहज रहेको बताए।‘अहिले जग्गा अधिग्रहण गर्न शुरु गरेर धनगढी बिमानस्थवाट क्षेत्रिय र अन्तराष्ट्रिय हवाई सेवा छिटोभन्दा छिटो संचालन गरिनुृपर्छ’उनले भने। स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गाको रेखाङ्कन गरेर कारोबार र संरचना निर्माणमा रोक लगाउन पर्ने उनले बताए।

स्थानीयस्तरको प्रयास र दवावपछि २०६२ सालमा विमानस्थलको धावनमार्ग कालोपत्रे भएको थियो। निजीक्षेत्रले करिव २५ लाख संकलन गरेर कालोपत्रे अभियान शुरु गरेका हुन। १८ सय मिटर धावन मार्ग रहेको बिमानस्थल विस्तार भएमा ठूला जहाज पनि अवतरण गर्न सक्ने छन। १५ वटा जहाज पार्किङ्ग गर्न सकिने जनाइएको छ। साढे दुई सय जना यात्रु बोक्ने एअर बस र बोइङ विमान उडान गर्न सकिने छ। सुदूरपश्चिममा डडेल्धुरा वाहेक सवै जिल्लामा बिमानस्थल रहेका छन। सुदूरपश्चिममा १० बिमानस्थल छन भने डडेल्धुरामा बिमानस्थल प्रस्ताव    गरिएको छ। प्रजातन्त्र स्थापना अघि सम्म सुदूरपश्चिमका दिपायल, महेन्द्रनगरको मझगाउँ, बैतडीको पाटन लगायतमा हवाई उडान हुने गरेकोमा अहिले बन्द छन। धनगढीवाट सुदूरपश्चिमका पहाडीजिल्लामा हवाईसेवा सुचारु गर्न पनि स्थानियको माग छ।

धनगढी बेस बनाएर पहाडी जिल्लामा उडान शुरु गर्नुपर्ने नेपाल उद्योग वाणिज्य सघ कैलालीका अध्यक्ष पुष्प कुँवरले बताए।डोटीको दीपायल, दार्चुलाको गोकुले, बैतडीको पाटनलगायत विमानस्थल सरकारले कालोपत्रे गर्दैछ। ‘तत्काल क्षेत्रीय र त्यसपछि अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्ने हाम्रो माग हो’उनले भने।

प्रकाशित: २६ माघ २०७६ ०१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App