१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनसान बन्यो लेकसाइड

पोखरा - चीनबाट सुरु भएको नोवेल कोरोनाभाइरसको प्रभाव विश्वव्यापी रुपमा फैलिँदै जाँदा सबैभन्दा बढी प्रभाव नेपालमा पर्यटन क्षेत्रले खेप्नुपरेको छ। कोरोनाभाइरस संक्रमणको त्रास बढेसँगै नेपाल आउन चाहेका चिनियाँ पर्यटकले बुकिङ रद्द त गरेकै थिए, अरु मुलुकका पाहुनाको पनि आगमन दर घट्ने सम्भावना बढेको भन्दै यहाँका व्यवसायी चिन्तित छन्।

फेब्रुअरीबाट पर्यटकीय सिजनको सुरुआती चरण मानिन्छ। यो सिजन मेसम्म चल्छ। सिजनकै  सुरुमा भाइरस संक्रमण तीव्र रुपमा बढ्दै जाँदा त्यसको सबैभन्दा बढी मार पर्यटन क्षेत्रमा परेको व्यवसायीले बताए। संक्रमणका कारण पाहुना अभाव खेप्दै गएको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान देखिन थालेको छ। यहाँका चल्तीका होटल पाहुनाविहीन छन् भने बेलुकीपख पाहुनाले खचाखच हुने रेस्टुरेन्ट पनि रित्तै देखिन थालेका छन्। चिनियाँ व्यवसायीद्वारा सञ्चालित होटल, रेस्टुरेन्ट त झनै शून्य छन्। अरु मुलुकका पाहुना चिनियाँका होटल र रेस्टुरेन्टमा कमै जाने भएकोले पनि ती व्यवसायी झनै बढी मर्कामा परेका छन्।

अफसिजन घर्केर सिजनको सुखद पर्खाइमा व्यवसायी थिए। यो बेला पाहुना आउने विश्वासमा रहेका व्यवसायी एकाएक कोरोनाभाइरस संक्रमणका कारण व्यवसाय खस्किँदा खर्च धान्नै नसक्ने अवस्था आउने चिन्तामा छन्। यो बेला नयाँ वर्ष मनाउन पर्याप्त चिनियाँ नेपाल आउने भएकाले व्यवसायी ढुक्क थिए। उनै चिनियाँ पाहुना आउनै नपाउने अवस्था आएको र अरु मुलुकका पाहुनाको हिँडडुल पनि रोकिने त्रास बढेको व्यवसायीले बताए।

भाइरस संक्रमणको त्रासले अन्य मुलुकका पाहुनाको आउजाउ पनि रोकिने संकेत व्यवसायीले पाइसकेका छन्। त्यसले गर्दा पर्यटन क्षेत्र चुनौतीपूर्ण बन्दै गएको उनीहरुको गुनासो छ। चिनियाँ पर्यटककै बुकिङ भने आगामी मार्चको पहिलो सातासम्मको रद्द भइसकेको उनीहरुले बताए। ‘मार्च पहिलो सातासम्मको चिनियाँको बुकिङ रद्द भइसकेको छ। अब त अरु मुलुकका विदेशी पनि नेपाल नआउने सम्भावना छ,’ पाँचतारे होटल पोखरा ग्रान्डका महाप्रबन्धक रोशन खवासले भने, ‘अहिलेसम्म चीनबाहेकका मुलुकका पाहुनाको बुकिङ नै रद्द भइसकेको होइन। तर भाइरस विश्वव्यापी फैलिँदै गर्दा त्यसको मारमा कुनै पनि मुलकका पर्यटक पर्न सक्ने सम्भावना छ।

चिनियाँ पर्यटकको बुकिङ डरलाग्दो तरिकाले रद्द भएको उनले बताए। पोखरा ग्रान्डको फेब्रुअरीको बुकिङ ८५ प्रतिशत हाराहारी थियो। तीमध्ये आधा हिस्सा चिनियाँको रहेकोमा चिनियाँजति सबै रद्द भएको उनले बताए। आन्तरिक, भारतीय र जापानी पर्यटकको भरमा मात्र यतिबेला होटलमा केही पाहुना राखेको उनले बताए। अहिले रद्द भएको बुकिङले आगामी २–४ महिनाकै आम्दानीमा धक्का पुग्न सक्ने महाप्रबन्धक खवासले बताए।

माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईका अनुसार फेब्रुअरीको चिनियाँको सबै बुकिङ रद्द भएको छ। अर्काे फिस्टेल लजका अपरेसन म्यानेजर किरण लामाले पनि बहुसंख्यक पाहुनाको हिस्सा ओगटेको चिनियाँ पाहुनाको आगमन रोकिएको बताए। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान)का पूर्वअध्यक्ष समेत रहेका रेस्टुरेन्ट व्यवसायी सूर्य भुजेलका अनुसार चिनियाँको आगमन शून्य छ भने अरु मुलुकका पनि आउन डराएका छन्। एकाध भारतीय र केही आन्तरिक पाहुनाको भरमा व्यवसाय चलिरहेको उनले बताए।

प्रकाशित: २२ माघ २०७६ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App