८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल–भारत खुला सिमानाको असर, राजस्व संकलनमा चुनौती

नेपालगन्ज - नेपाल–भारत खुला सीमाका कारण अवैध रुपमा सामान निकासी, पैठारी हुँदा राजस्व संकलन गर्न नेपालगन्ज भन्सार कार्यालयमाथि चुनौती थपिएको छ। कार्यालयले चुनौतीको सामना गरिरहेका बेला भन्सार विभागले भने बर्सेनि राजस्व संकलन गर्न वार्षिक लक्ष्य बढाउँदै लगेको छ। चालु आर्थिक वर्ष ०७६/७७ का लागि कार्यालयले साढे १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएकोे छ।

चालु आवको ६ महिना बित्दा कार्यालयले कुल राजस्व पाँच अर्ब ९३ करोड १९ लाख ३९ हजार रुपैयाँ मात्र असुलेको छ। ‘यो हिसाबले लक्ष्य भेटाउन धेरै मेहेनत गर्नुपर्ने हुन्छ, गत वर्ष धेरै मेहेनत गरेर मात्र अन्तिममा लक्ष्य प्राप्त गरेका थियौं, गत वर्ष लक्ष्य पूरा गरेको हुँदा यो वर्ष विभागले लक्ष्य बढाइदियो, यस वर्ष लक्ष्य भेटाउन चुनौती नै छ,’ नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भने।

निरौलाका अनुसार लक्ष्य भेटाउन नसक्नुका पछाडि केही प्रमुख चुनौती छन्। ‘पहिलो कारण नेपाल–भारत खुला सिमानाबाट हुने अवैध सामान निकासी, पैठारी हुनु, दोस्रो भौतिक पूर्वाधारको समस्या हुनु हो,’ निरौलाले भने। भौतिक पूर्वाधारलाई चुस्त बनाउन सकेमा व्यवसायीलाई सहज हुने, भन्सार कर्मचारीलाई काम गर्ने वातावरण हुने र राजस्व संकलन गर्न सहज हुने उनको बुझाइ छ। पछिल्लो समयमा अवैध निकासी, पैठारी नियन्त्रण गर्न कडाइका साथ प्रस्तुत भएको कार्यालयको दाबी छ।

बाँकेमा नेपाल–भारत खुला सीमा क्षेत्र ६५ किलोमिटर रहेको छ। अवैध सीमा नाकाबाट हुने निकासी, पैठारी रोक्न तथा सीमा अपराध नियन्त्रण गर्न भनि विभिन्न स्थानमा सरकारले सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ। भन्सार कार्यालयमै एक सय ६० सशस्त्र प्रहरी तथा केही संख्यामा नेपाल प्रहरी कार्यरत छन्। यस बाहेक सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा ६ वटा बोर्डर आउट पोस्ट (बिओपी) राखेको छ। अझै पनि तीन स्थान–खडैचा, गुर्दनगौडी र बानुवा नाका)मा सशस्त्र प्रहरीले बिओपी राख्न विभागबाट स्वीकृति पाइसकेको छ।

कार्यक्षेत्रका हिसाबले सशस्त्र प्रहरी बल नेपालको बिओपी संख्या भारतीय सीमा सुरक्षा बल (एसएसबी)को तुलनामा न्यून रहेका छन्। भारतले सीमा अपराध र तस्करी नियन्त्रण गर्न सीमापारी करिब एक–एक किलोमिटरको फरकमा एसएसबी क्याम्प राखेको छ। स्रोतसाधनको कमी, भौगोलिक विकटता, जनशक्ति अभावलगायत विविध कारणले गर्दा पूर्ण रुपले तस्करी नियन्त्रण गर्न सहज नभएको सशस्त्र प्रहरीका अधिकारी बताउँछन्।

सशस्त्र प्रहरीका एक अधिकृतले भने, ‘सीमा अपराध र तस्करी नियन्त्रण गर्न राज्यले हामीलाई जिम्मेवारी दिएको त छ, तर भौगोलिक विकटता, स्रोतसाधनको कमी र जनशक्ति अभावको समस्या छ, यस्तो अवस्थाले कसरी सीमा अपराध र तस्करी नियन्त्रण गर्न सहज होला र ?’ खुला सीमा भएका कारण जहाँबाट पनि सजिलैसँग अवैध सामान ओसार–पसार हुने गरेको सुरक्षाकर्मी बताउँछन्।

भारतबाट आउने एक सय रुपैयाँभन्दा बढी मूल्यको सामानको पनि भन्सार महसुल असुल्ने भन्सार विभागको नीति छ। तर पनि नेपालगन्ज नाकाबाट एउटै व्यक्तिले सहज रुपमा हजारौं मूल्यका सामान ओसार्न पाइरहेका छन्। कतिपय व्यक्तिले भारतको रुपैडिहाबाट दिनहुँ अवैध सामान ओसारेरै आफ्नो जीविका चलाइरहेका छन्। कतिपय सुरक्षाकर्मी र भन्सार कर्मचारीकै सेटिङमा त्यसरी सामान ओसार्ने गरिएको प्रत्यक्षदर्शी बताउँछन्।

प्रकाशित: ७ माघ २०७६ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App