१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पूर्व क्षेत्रका ११ जिल्लाको पुल निर्माण गति सुस्त

इटहरी -  उदयपुरको चौदण्डी रानीटार र भोजपुरको मइनटरबीचमा पर्ने पुल निर्माणका लागि ठेक्का लागेको चार वर्ष बितिसक्यो। यो अवधिमा १५ प्रतिशत मात्र काम भएको  छ। रसुवा–एसएनएस–पप्पु जेभीले निर्माणको जिम्मा लिएकोमा सुस्त गतिमा काम अघि बढेको हो।

काम तीव्र गतिमा अघि नबढ्नुमा ठेकेदारकै लापरबाही रहेको पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ धरालने जनायो। रसुवा–एसएनएस–पप्पुले चार वर्षअघि नै निर्माणको जिम्मा लिएको उदयपुरकै साउने थापलाङ र खोटाङबीचको पुलको काम पनि १८ प्रतिशत मात्र सकिएको छ। झापाको चन्द्रगढीदेखि हुलाकी राजमार्ग हुँदै सुनसरीको दुहबी जोड्ने सडक खण्डको झापामा रतुवा पुल निर्माणका लागि ठेक्का लागेको पनि तीन वर्ष भइसक्यो। शर्मा–एपेक्स जेभीले ठेक्का लिएको पुल निर्माण कार्य अहिलेसम्म १८ प्रतिशत मात्रै सकिएको छ।

यस्तै, धनकुटाको मुगा हुँदै भोजपुर घोडेटार जोड्ने पुल निर्माण २५ प्रतिशत भएको छ। एक सय ८० मिटर लम्बाइको पुल निर्माणका लागि लुम्बिनी–महाबिर–सञ्जीवनी जेभीले ठेक्का लिएको हो। यसरी, पूर्वका ११ जिल्लामा अहिले ठूलो लगानीमा २८ वटा पुल निर्माणाधीन छन्। यी पुल ताप्लेजुङ। झापा, इलाम, मोरङ, सुनसरी, सिन्धुली, रौतहट, संखुवासभा, सोलुखुम्बु, महोत्तरी र उदयपुरमा  निर्माणाधीन छन्। निर्माणाधीन पुलमध्ये तोकिएको समयमा ९९ प्रतिशत काम पूरा गर्ने एउटा मात्र छ।

पुुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ को रेकर्ड अनुसार मोरङको  लेटाङ–केरबारी सडक खण्डको चिसाङ पुलको काम मात्र अहिलेसम्म ९९ प्रतिशत पुगेको छ। यस्तै, मोरङको जुडी खोलाको पुल र इलामको महामाई रवि सडक खण्डको माई खोला पुलको निर्माण ९०–९० प्रतिशत सकिएको छ। अरु कुनै पनि पुलको तोकिएको समयभित्र काम पूरा भएको छैन। ‘तोकिएको समयमा काम पूरा नहुनुमा कहीँ जग्गा विवाद, कहीँ डिजाइन परिवर्तन त कहीँ ठेकेदारको लापरबाही मुख्य कारण देखिएको छ,’ पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ का प्रमुख कैलाश देवले भने, ‘अधिकतम पुलको निर्माण कार्य सुस्त छ।’ सेक्टर योजनाले निर्माण सुस्त ढंगले अघि बढाउने कार्यको सम्पूर्ण विवरण संकलन थालेको छ।

प्रकाशित: २९ पुस २०७६ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App