१६ चैत्र २०८० शुक्रबार
अर्थ

८० प्रतिशत सडक मर्मतसम्भार

काठमाडौं - सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत सडक मर्मतसम्भार गरेको दाबी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सडक मर्मतसम्भार र खाल्डाखुल्डी पुर्न निर्देशन दिएसँगै सडक विभागले संघीय सरकार मातहतका ८० प्रतिशत सडक मर्मतसम्भार गरेको दाबी गरेको हो।

सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनसँगै ८० प्रतिशत सडकको खाल्डाखुल्डी पुर्ने र मर्मतसम्भार लगायत काम सकिएको बताए। ‘अहिलेसम्म ८० प्रतिशतभन्दा धेरै सडक मर्मतसम्भार र ‘ओभर लेप’को काम सकिएको छ,’ उनले भने, ‘हामीले युद्धस्तरमा नै सडक कालोपत्रे गर्ने काम गरिरहेका छौं।’ प्रवक्ता सापकोटाले सडकका खाल्डाखुल्डी पुर्ने र मर्मतसम्भारको कामलाई युद्धस्तरमा गरेको दाबी गरे।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकासहित देशभरको राजमार्ग र सडकका खाल्डाखुल्डी पुर्नको लागि निर्देशन दिएका थिए। विभागका प्रवक्ता सापकोटाले सडक मर्मतसम्भारको नियमित कामअन्तर्गत नै मर्मतसम्भार गर्दै आइरहेको दाबी गरे। ‘हामीले नियमित बजेटमार्फत सडक कालोपत्रे र मर्मतसम्भारको काम गरिरहेका छौं,’ उनले भने, ‘माघमहिनासम्म सडक मर्मतसम्भार र खाल्डाखुल्डी पुर्ने काम सम्पन्न गर्नेछौं।’ सडक विभागले यो सिजनमा नौ हजार किलोमिटर सडक मर्मतसम्भार गर्ने लक्ष्य राखेको छ। सडक मर्मतसम्भारका लागि दुई अर्ब रुपैयाँ विनियोजन गरिएको छ।  

प्रवक्ता सापकोटाले काठमाडौं उपत्यकामा रहेका सडकका खाल्डाखुल्डी पुर्ने देखि ओभरले सम्मका कार्य दु्रत गतिमा भइरहेको बताए। ‘काठमाडौं उपत्यकामा पनि तीव्र गतिमा काम भइरहेको छ,’ उनले भने, ‘अहिले धेरैजसो सडकका खाल्डाखुल्डी पुर्ने काम करिब सकिन लागिसक्यो। बाँकी काम पनि तीव्र गतिमा भइरहेको छ। सडक विभागले गौशाला–चाबहिल सडक खण्डको सडक कालोपत्रे गर्नका लागि ठेक्का प्रक्रिया अघि बढाइसकेको छ। यस खण्डमा खानेपानी लिकेज हुने समस्याको दीर्घकालीन समाधान गरिने भएको छ। सडक डिभिजन कार्यालय काठमाडौंले गौशला–चाबहिल सडकखण्डको चुहावटको दीर्घकालिन समाधानको लागि ठेक्का सम्झौता गरिसकेको छ।

सडक विभागले बारम्बार सडक भत्किने गरेकाले पनि दीर्घकालीन समाधानको लागि खानेपानीको चुहावट र सडक निर्माण दुवै गर्न लागिएको हो। सडक डिभिजन कार्यालय काठमाडौंले गौशाला–चाबहिल सडक खण्ड कालोपत्रे र खानेपानीको चुहावट नियन्त्रणको लागि सोमबार २१ करोडको ठेक्का सम्झौता गरेको हो। उक्त सडक खण्ड चालु आवभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको हो। सरकारले चालु आवको चार महिनामा तीन सय १६ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेकामा दुई सय ७७ किलोमिटर कालोपत्रे गरेको छ।सरकारले चालु आर्थिक वर्षमा १२ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ। गत वर्ष ०७५/७६ मा मुलुकभर नौ सय १५ किलोमिटर सडक कालोपत्रे गरेको थियो।

संघीय सरकारले आर्थिक वर्ष ०७५/७६ माचार सय नौ किलोमिटर ग्राभेल सडक निर्माण गरेको छ। त्यसैगरी, नौ सय ७१ किलोमिटर कच्ची सडक विस्तार गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष ०७४/७५ मा मुलुकभर नौ सय चार किलोमिटर सडक कालोपत्र गरेको थियो।

प्रकाशित: २८ पुस २०७६ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App