काठमाडौं – स्मृति बोर्डिङ स्कुल र जनज्योति पब्लिक स्कुलले क्विक्स कप अन्तरस्कुल फुटबलमा छात्रतर्फ जित निकालेका छन्।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) कम्प्लेक्समा मंगलबारको पहिलो खेलमा अर्बिना पौडेलको ह्याट्रिकप्रेरित स्मृतिले नेपालयलाई ४–१ गोलअन्तरले पराजित ग-यो। स्मृतिको जितमा अर्बिनाले ह्याट्रिकसहित चार गोल गरिन्। अर्बिनाकै आत्मघाती गोलमा नेपालयले खाता खोलेको थियो। अर्बिनाले १७औं, २८औं र ५७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन्। खेलको इन्जुरी समयमा अर्बिनाले चौथो गोल गरेकी थिइन्।
४०औं मिनेटमा उनकै आत्मघाती गोलबाट नेपालयको खाता खोलिएको थियो। अर्को खेलमा दिक्षा चन्दको ह्याट्रिक प्रेरणाबाट जनज्योतिले एसएमडी स्कुललाई ५–० ले हरायो। जनज्योतिको जितमा दिक्षा चन्दले ह्याट्रिक गरिन्। दिक्षाले ३०औं, ५६औं र ६८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्। जनज्योतिका लागि अन्जली चौधरी र पवित्रा चौधरीले १/१ गोल थपिन्।
तेस्रो खेलमा बार्चुली सेकेण्डरीले छहारी शिक्षा सदनमाथि २–१ को जित निकाल्यो। बार्चुलीका लागि सलिना थारु र रजनी घर्तिमगरले एक एक गोल गरिन्। छहारीका रविना सुवेदीले एक गोल फर्काइन्।
प्रकाशित: २३ पुस २०७६ ०५:४५ बुधबार





