६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुन बिक्री ७५ प्रतिशत घट्यो

काठमाडौं – सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा यसको खपत स्वाट्टै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ। दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले१० किलो पनि बिक्न नसकेको महासंघका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए।

लगातार मूल्य वृद्धि भएसँगै सुनकिन्नेभन्दा गहना बेच्ने बढेका छन्। राजधानीका चलेका सुन पसलमा नयाँ गहना किन्नेको संख्या अत्यन्त न्यून छ। सुनको भाउ घटेको बेला गहना बनाएका सर्वसाधारणले मूल्य बढेको भन्दै बेच्न थालेका छन्।
पछिल्लो समय विश्व बजारमा देखिएको व्यापार युद्धका कारण सुनको मूल्यमा भारी वृद्धि हुन थालेको हो। ‘अमेरिका–चीन व्यापार युद्ध, अमेरिका–इरान तनावका कारण पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको हो,’ अध्यक्ष सुनारले भने,‘महाशक्ति राष्ट्रबीचको बढ्दो तनावका कारण विश्वभरबाटै सुनमा लगानी हुन थालेको छ, व्यापार द्वन्द्वले सुनप्रति आकर्षण बढ्यो।’

साना तथा ठूला लगानीकर्ताले सुनमा गरिएको लगानीलाई सुरक्षित मान्न थालेको उनको भनाइ छ। चीन र अमेरिकाबीच हुने भनिएको वाणिज्य वार्ता निष्कर्षमा पुग्न नसक्दा पनि सुनको मूल्य वृद्धिमा सघाउ पुगेको अध्यक्ष सुनारले बताए। इकोनोमिक्स टाइम्सका अनुसार पछिल्लो सात वर्षमा सुनको मूल्य इतिहासकै उच्च दरले बढेको छ। मध्यपूवको तनावले सुरक्षित लगानी ठानिएको सुनमा अत्यधिक आकर्षण बढेको छ।

विश्वबजारमा सोमबार सुनको मूल्य प्रतिऔंस एक हजार पाँच सय ७३.५० अमेरिकी डलर पुगेको छ। भारतीय बजारमा छापावाल सुनको मूल्य प्रति १० ग्राम ४० हजार १० भारु र तेजाबी सुन प्रति १० ग्राम ३८ हजार एक सय भारु तोकिएको छ।

नेपाली बजारमा पनि सोमबार सुनको मूल्य प्रतितोला पाँच सयले बढेको छ। महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार निर्धारण गरेको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार सात सय कायम गरेको छ। चाँदीको भाउ पनि बढेको छ। आइतबार प्रतितोला नौ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार २० रुपैयाँले बढेको छ।

साताको पहिलो दिन आइतबार प्रतितोला एक हजारले वृद्धिभई छापावाल सुन ७५ हजार पाँच सयमा किनबेच भएको थियो। तेजाबी सुन प्रतितोला ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ। पुस महिनामा मात्रै स्थानीय बजारमा सुन प्रतितोला चार हजार पाँच सय रुपैयाँले महँगिएको छ। पुस १ गते छापावाल सुन प्रतितोला७१ हजार पाँच सयमा र तेजाबी सुन प्रतितोला ७१ हजार दुई सयमा कारोबार भएको थियो। पुस १ गते प्रतितोला आठ सय ५० मा कारोबार भएको चाँदीको भाउ सोमबार हुँदा ७० रुपैयाँले बढेको छ।

प्रकाशित: २२ पुस २०७६ ०३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App