१३ आश्विन २०७७ मंगलबार
अर्थ

बिचौलियाको मारमा किसान

बाँके खजुराका लालबहादुरले गरेको टमाटर खेती निरीक्षण गर्न पुगेको कृषि ज्ञान केन्द्रका कर्मचारी। तस्बिर: कमल/नागरिक

बाँके - बाँकेको खजुरा तरकारीमा आत्मनिर्भर बन्दै गएको क्षेत्र हो। पछिल्लो समय खजुरा क्षेत्रमा व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसानको संख्या बढ्दैछ। तरकारी खेतीमा आकर्षण बढिरहेका बेला यस क्षेत्रका किसान बिचौलियाको मारमा परेका छन्।

खजुरा गाउँपालिका ‘ए’ गाउँमा तरकारी खेती गरिरहेका अगुवा किसान लालबहादुर खत्री भन्छन्, ‘नेपाली किसानको प्रमुख समस्या बजार हो। बिचौलियाको हातमा छ बजार। किसानले सहि मूल्य पाउँदैनन्। ठ्याक्कै आधा रकम बिचौलियाले एक दिनमा आम्दानी गर्छन्। किसान र उपभोक्ता दुवै ठगिएका छन्। उपभोक्ताले महँगोमा किन्न परिरहेको छ।’

सरकारले बिचौलियाले खाने कमिसनरोक्नसके नेपाल तरकारीमा आत्मनिर्भर बन्नसक्ने बताउँछन् खत्री। ६१ वर्षे खत्रीले खजुरा ‘ए’ गाउँमा तीन बिघा जमिनमा टमाटर खेती र एकबिघामा आलु खेती गरेका छन्। गत वर्ष उनले १८ सय क्विन्टल टमाटर बिक्री गरेका उनले यो वर्ष २५ सय क्विन्टल टमाटर बिक्री गर्ने लक्ष्य लिएका छन्। टमाटर बिक्री गर्ने क्रम सुरु भइसकेको छ। अहिले प्रतिकिलो ४० रुपैयाँका दरले उनी टमाटर नेपालगन्जपु¥याइरहेका छन्। नेपालगन्जमा त्यही टमाटार ८० रुपैयाँमा बिक्री हुन्छ। खत्रीले भोगेको घटनाले नेपालको कृषि उत्पादन बिचौलियाको हातमा रहेको पुष्टि गर्छ। नियमन निकायले किसानले भोगेका पीडामा चासो नदिएको खत्रीको अनुभव छ। सरकारले चासो नदिएका कारण तरकारीबाट नेपालको अर्बौं रकम भारत र तेस्रो मुलुक गइरहेको छ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले पनि बिचौलियाका कारण किसान मार परेको बताउँछन्। बिचौलिया नियन्त्रण गर्न स्थानीय स्तरमा किसान र स्थानीय सरकारले सहकार्य गरेर काम गर्नुपर्ने सुझाव दिन्छन्। कृषिमा २० देखि २५ प्रतिशत नाफा व्यापारले राख्न सक्ने राज्यले नै सुधिवा दिएको छ। कृषिजन्य वस्तु छिटै नोक्सान हुने गर्छ। यसकै फाइदा लिएर व्यापारीले बीचमा धेरै फाइदा लिने गरेका छन्। ढकाल भन्छन्, ‘किसानले गुनासो गर्छन्। हामी यसलाई समाधान गर्न लागिरहेको छौं। हाटबजार, कृषि बजारलाई विस्तार गर्न जरुरी छ। स्थानीय स्तरमा कृषि सहकारीले आफैं बजार व्यवस्थापन गरे किसानले उचित मूल्य पाउन सक्छन्।’

सरकारले नीतिगतमा रुपमा बिचौलिया समस्या कम गर्ने प्रयास गरेको ढकालले बताए। उनले थपे, ‘प्रमुख तरकारी बजारमा केही स्टल किसानका लागि छुट्याउने प्रयास भइरहेको छ। यसले किसानलाई सहयोग गर्छ। नीतिगत रुपमा केही सुधार पनि गर्नुपर्ने छ।’

नेपाली किसानले भारतीय बजारसँग प्रतिस्पर्धा गरिरहनु परेको अवस्था छ। भारतमा किसानलाई पानी निःशुल्क उपलब्ध छ। बीउ, मल, उपकरण र बजारीकरणमा सरकारले सहयोग गरिरहेको छ। किसानको लागत खर्च कम छ। उत्पादन धेरै हुन्छ। नेपाली बजारमा पनि भारतीयकै प्रभाव छ। यसको प्रत्यक्ष मारमा छन् सीमावर्ती क्षेत्रमा किसान। बिहान उठ्ने बित्तिकै भारतीय बजारबाट साइकल, रिक्सा, टोकरीमा तरकारी ल्याएर बिक्री गरेको देखिन्छ। उनीहरुले तरकारी ल्याउँदा भन्सार कर पनि तिर्दैनन्। यससँगै विषादीयुक्त तरिकारी नेपाली बजारमा आइरहेको छ।

चार वर्षअघि बाँकेको कुल जनसंख्या चार लाख ९१ हजार तीन सय १३ रहेको थियो। प्रतिव्यक्तिलाई दैनिक तीन सय ग्राम तरकारी चाहिन्छ। यो अनुपातमा दैनिक बाँकेको जनसंख्यालाई एक सय ४७.३९ मेट्रिक टन तरकारी चाहिन्छ भने वार्षिक ५३ हजार सात सय ९७ मेट्रिक टन तरकारी आवश्यक पर्छ। बाँकेमा ६ हजार सात सय २९ हेक्टर जमिनमा तरकारी खेती गरिने गरिएको जिल्लास्थित कृषि कार्यालयको तथ्यांकले देखाउँछ।

तथ्यांकअनुसार उक्त जमिनमा ७४ हजार १३ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ। उत्पादित तरकारी जिल्लामा खपत गरेर पनि बाहिरी जिल्लामा निर्यात हुने गरेको छ। हाल जिल्लाको जनसंख्यालाई आवश्यक ५३ हजार सात सय ९७ मेट्रिक टन खपत गरेर उत्पादित बाँकी २० हजार दुई सय २१ मेट्रिक टन तरकारी बाहिरी जिल्लाका साथै भारतीय बजारसम्म निर्यात हुने गरेको कृषि विकासको तथ्यांकले देखाएको छ। र यो बढ्दो क्रममा छ।

कुल खेतीयोग्य ५२ हजार तीन हेक्टर जमिनमध्ये बाँकेमा दुई हजार आठ सय ७५ हेक्टरमा आलु र चार हजार दुई सय ५० हेक्टर जमिनमा हिउँदे तरकारी खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र नेपालगन्जको तथ्यांकमा उल्लेख छ। बिचौलिया र भारतबाट खुल्ला रुपमा तरकारी आउने क्रमलाई रोक्नसक्ने नेपालको अर्थतन्त्रमै कृषिले सहयोग गर्न सक्ने सुझाव दिन्छन् अगुवा किसान खत्री। खत्री भन्छन्, ‘नेपाललाई आर्थिक रुपमा बलियो बनाउने क्षेत्र कृषि हो। तराईमा त झन कृषिले अर्थतन्त्रमा ठूलो प्रभाव पारिरहेको छ। यसमा सरकारले नीतिगत रुपमा सहयोग गरे किसानले देशको अर्थतन्त्रमा सहयोग गर्न सक्छन्।’

प्रकाशित: ११ पुस २०७६ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App