५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान सफल, नियमित उडान तत्काल नहुने

ओखलढुंगा– ओखलढुंगाको पर्यटकीय क्षेत्र खिजीदेम्वास्थित खिजीचण्डेश्वरी विमानस्थलमा परीक्षण उडान भएको छ।

सोमबार बिहान तारा एयरलाईन्सको विमानले सफलता पूर्वक परीक्षण उडान गरेको हो। निर्माण कार्य अझै नसकिएकाले नियमित उडान हुन भने समय लाग्ने देखिन्छ। 

परीक्षण उडान तथा विमानस्थल निरीक्षणका लागि पर्यटनमन्त्री योगेश भट्टराई र संघीय संसदको विकास समितीका पदाधिकारी र प्राविधिक टोली चण्डेश्वरी विमानस्थलमा आएको थियो। पर्यटकीय क्षेत्रलाई लक्षित गरेर निर्माण थालेको उक्त विमानस्थलमा गत हप्ता मात्रै ग्राभेलको काम पुरा भएको थियो। 

निर्माण सकिनासाथ परीक्षण उडान भरेर सुधार तथा नियमित उडानका लागि पहल थालिएको पर्यटनमन्त्री भट्टराईले बताए। विमानस्थल थप चौडा बनाएर कालोपत्रे गर्न पहल गर्ने मन्त्री भट्टराईले प्रतिबद्धता जनाएका छन्। यस क्षेत्रको पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा मन्त्रालयले बजेट व्यवस्था गर्ने पनि मन्त्री भट्टराईको भनाइ छ। 

यहाँका स्थानीयले यो विमानस्थलको स्तरोन्नति र कालोपत्रे गर्न पर्यटन मन्त्री भट्टराई समक्ष माग गरेका छन्। ओखलढुंगा हुँदै सोलुखुम्बुको सगरमाथा क्षेत्र जान अति उपयुक्त पदमार्गको बीचमा रहेको यो विमानस्थलमा नियमित हवाईजहाज चल्न सके पर्यटक जिल्लामा भित्र्याउन सहज हुने संघिय सांसद यज्ञराज सुनुवारको भनाइ छ। 

पर्यटन मन्त्री भट्टराई सहितको टोली समक्ष स्थानीयले माग पत्र नै पेश गरेर खिजी क्षेत्रको पर्यटन विकासमा ध्यान दिन माग गरेका छन्। ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटीको अगुवाइमा पेश गरिएको माग पत्रमा खिजीचण्डेश्वरी विमानस्थलमा ठूला जहाज अवतरण गर्न मिल्ने गरि स्तरोन्नति र कालोपत्रेको माग गरिएको छ। 

पर्यटकीय क्षेत्रको विकासमा मन्त्रालयले बजेट व्यवस्था गरेर पर्यटन वर्ष २०२० मा हजारौं पर्यटक खिजी क्षेत्रमा आकर्षित गर्न सहयोग गर्न माग गरिएको पर्यटन व्यवसायी पेम्वा शेर्पाले बताए। मन्त्री भट्टराईले स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। 

यो विमानस्थलको निर्माण कार्य सुरु भएको १३ वर्ष पछि ग्राभेलको काम सकिएको हो। आर्थिक वर्ष २०६३/०६४ सालमा विमानस्थल निर्माणका लागि जग्गाको व्यवस्था गरिएको थियो।

आर्थिक वर्ष २०६९/०७० बाट विमानस्थलको जग्गा सम्याउने काम सुरु भएको आयोजना प्रमुख एवम् नागरिक उड्यान प्राधिकरणका ईन्जिनियर विनायक भट्टराईले बताए। हाल विमानस्थलमा ग्राभेल, माटो कटिङ्ग, फिलिङ्ग, ड्रेन निर्माण र अस्थाई टावरघरको निर्माण सम्पन्न भएको भट्टराईले जानकारी दिए। 

विमानस्थलमा ग्राभेल लगायतको काम एक वर्षमा सम्पन्न गर्नेगरी २०७३ फागुन २४ गते गाल्भा–निसान–पुर्णीमा जेभिले ठेक्का लिएको थियो। ठेकेदार कम्पनीले निर्धारित समयमा काम नसकेपछि थप गरिएको म्याद पनि गत असोज १५ गते सकिएको छ। केहि दिन अघिमात्र ठेकेदार कम्पनीले विमान स्थलको ग्राभेल लगायतको काम सकेको हो। 

कम्पनीले २ करोड ५ लाख ३३ हजार ७ सय ४० रुपैयाँमा ठेक्का पाएको थियो। पाँच सय ८० मिटर लम्बाई र ४० मिटर चौढाई विमानस्थलको रनवे ग्राभेल गरिएको आयोजना प्रमुख तथा ईन्जिनियर भट्टराईले बताए। 

कुल छ सय ५० मिटर लम्बाई भएको विमानस्थलमा दुई वटा ट्वीनअटर विमान पार्किङ्ग गर्न सकिने छ।

प्रकाशित: ७ पुस २०७६ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App