८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

ग्यास र पेट्रोलियम व्यवसायी चिन्तित

काठमाडौं – सरकारले विद्युत् प्रयोगलाई प्रोत्साहन गरिरहँदा खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायी आफ्नो भविष्यप्रति चिन्तित देखिएका छन्। नेपालमा विद्युत् उत्पादन बढिरहेको र सन् २०३० बाट पेट्रोलियम सवारी विस्थापित गर्ने बताइरहँदा व्यवसायीले आफ्नो व्यवसाय भविस्यमा के हुने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

नेपाल एलपी ग्यास उद्योग संघको २० औं वार्षिकोत्सवमा शनिबार बोल्ने वक्ताहरुले व्यवसायीका समस्यामा सरकार गम्भिर हुनुपर्ने बताए। घरमा खाना पकाउने विद्युतीय उपकरण र विद्युतीय सवारीको प्रोत्साहन गरे पनि इन्धन क्षेत्रमा भएको लगानीका विषयमा कसैले चासो नदेखाएको गुनासो पोखे।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ५० वर्षदेखि ग्यास प्रयोग हुँदै आएकाले यो क्षेत्रको अर्बौं लगानीको संरक्षण गर्ने दायित्व सरकारको भएको बताए। इन्धन कारोबारमा सम्पूर्ण लगानी निजी क्षेत्रको भए पनि राज्य नियन्त्रित व्यवसाय भएकाले राज्यका निकायले सघाउनुपर्ने उनले बताए।

संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले बुलेट सञ्चालनमा निजी क्षेत्रको अर्बौं रुपैयाँ लगानी फसेको बताए। ‘निजी क्षेत्रको लगानी डुब्दा राज्यलाई पनि घाटा हुन्छ,’ उनले भने, ‘यो व्यवसायलाई व्यवस्थित गर्न सरकारले पनि सघाउनुपर्छ।’

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पेट्रोलियम कारोबारको लगानी जोखिममा रहेको बताए। उनका अनुसार अहिले व्यवसाय गरिरहेका ३७ प्रतिशत पम्पमात्र नाफामा रहेको बताए। ‘अहिले लागतका आधारमा प्रतिफल पाएका छैनन्,’ उनले भने, ‘अध्ययन नगरी नयाँ पम्पको लाइसेन्स दिने तयारी भएको छ।’

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराले अर्बौं रुपैयाँ लगानी भएको इन्धन कारोबार ऐनबिना चलेको बताए। ‘अहिलेसम्म पेट्रोलियम ऐन छैन,’ उनले भने, ‘राज्यले व्यवसायीको मनोबल बढाउनुप-यो।’ ग्यास उद्योगीले बुलेट सञ्चालनको अनुमति गरेर करोडौं लगानी गरे पनि सञ्चालन गर्न राज्यले पहल नगरेको टिप्पणी गरे।

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले व्यवसायीका समस्या समाधान गर्न निगम सकारात्मक रहेको बताए। ‘ग्यास र पेट्रोलियम कारोबार गर्ने व्यवसायीसँग छलफल गर्दै आएका छौं,’ उनले भने। व्यवसायीले गुनासो गरे पनि लगानी सुरक्षित गर्न निगम प्रतिबद्ध भएको उनले बताए। पेट्रोलियम पाइपलाइन बनेपछि वेरोजगार बनेका एक सय ट्यांकर अन्य क्षेत्रमा चलाएर व्यवस्थापन गरेको उनले बताए। व्यवसायीले निगमले आवश्यकताभन्दा धेरै ग्यास उद्योग र पेट्रोल पम्प वितरण गरेको गुनासो गरेका थिए। व्यवसायीलाई प्रतिउत्तर दिँदै पौडेलले भने, ‘खुल्ला बजारमा व्यवसाय गर्न रोक्न मिल्दैन। लगानी गर्नेले विश्लेषण गरेर लगानी गर्नुप-यो।’

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायीका गुनासा सम्बोधन गर्न सरकार तयार रहेको बताए। ग्यास तथा पेट्रोलियम पदार्थको कारोबारमा चिन्तित हुने बेला नआएको उनले बताए। ‘इन्धनको आवश्यकता कम भएको छैन,’ मन्त्री भट्टले भने। उनले नागरिकको सुरक्षाप्रति ग्यास उद्योगी संवेदनशील हुनुपर्ने बताए। कार्यक्रममा संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तवले एलपी ग्यासमा निकै जोखिम रहेकाले उपभोक्ताको सुरक्षा र गुणस्तरमा ध्यान दिन आग्रह गरे।

नागरिककर्मी पौडेल सम्मानित
नेपाल एलपी ग्यास उद्योग संघले नागरिक दैनिकका वरिष्ठ संवाददाता दिलीप पौडेललाई नगदसहित सम्मानपत्रले सम्मानित गरेको छ। आमनागरिकलाई पत्रकारिताका माध्यमबाट सुसूचित गरी र सञ्चारका माध्यमबाट आर्थिक विकासमा योगदान पु¥याएको भन्दै संघले आफ्नो वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ।

शनिबार आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पौडेललाई सम्मान गरेका थिए। सो अवसरमा बिजमाण्डु डटकमबाट विज्ञान अधिकारी, कान्तिपुरका राजु चौधरी, अन्नपूर्ण पोस्टका राजेश बर्मा, नयाँ पत्रिका दैनिकका अजित अधिकारी, न्यूज २४ बाट नवराज चालिसेलाई पनि सम्मान गरिएको थियो।

प्रकाशित: ७ पुस २०७६ ०५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App