६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय व्यापारमा सुधारको संकेत

काठमाडौं - केही वर्षयता उच्च आयातले अर्थतन्त्र समस्यामा परेका बेला चालु आर्थिक वर्षको सुरुदेखि नै निर्यातमा सुधार देखिएको छ। मुलुकको वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यातको अंश ज्यादै कम छ। त्यसैले निर्यातमा आएको ठूलै सुधारले पनि ठूलो आकारको व्यापार घाटा कम गर्न उल्लेख्य योगदान दिन सक्दैन। यही बेला आयातमा समेत कमी आएकाले वैदेशिक व्यापारमा झिनो रुपमा भए पनि सुधार देखिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार निर्यातमा सुधार र आयातमा कमी आएका कारण यो बेला व्यापार घाटा ८.९ प्रतिशतले घटेको छ। अहिलेसम्म चार सय १४ अर्ब दुई करोड व्यापार घाटा पुगेको हो। गत वर्ष यो बेला व्यापार घाटा ३७.८ प्रतिशतले बढेको थियो। निर्यात–आयात अनुपात ८.१ प्रतिशत छ। अघिल्लो वर्ष यो अनुपात ६.१ प्रतिशत थियो।

बैंकका अनुसार चालु आवको पहिलो चार महिनामा वस्तु निर्यात २३.९ प्रतिशतले बढेको छ। गत साउनदेखि कात्तिकसम्म मुलुकले ३६ अर्ब २८ करोड रुपैयाँ बराबरका सामान निर्यात गरेको हो। अघिल्लो वर्ष यही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो। बैंकका अनुसार भारततर्फ ४५.६प्रतिशतले निर्यात बढेको छ। चीनतर्फको निर्यात ६प्रतिशत र अन्य मुलुकतर्फ ४.७ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पाम तेल, अलैंची, धागो (पोलिस्टर तथाअन्य), जुटका सामान, आयुर्वेदिक औषधि लगायत वस्तुको निर्यात बढेको छ। यस्तै जस्तापाता, तार, तयारी पोसाक, जुस,ऊनी गलैंचा लगायत वस्तुको निर्यात घटेको छ।

–निर्यात २३.९ प्रतिशतले बढ्यो
–आयात ६.९ प्रतिशतले घट्यो
–कुल व्यापार घाटामा ८.९ प्रतिशतले कमी

बैंकका अनुसार यो अवधिमा वस्तु आयात ६.९ प्रतिशतले घटेको छ। अहिलेसम्म चार सय ५० अर्ब ३० करोड रुपैयाँका सामान आयात गरिएको छ। अघिल्लो वर्ष यही समयमा आयात ३५.८ प्रतिशतले बढेको थियो। भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १०.९ प्रतिशत र ८.७ प्रतिशतले घटेको छ। चीनबाट भएको आयात १२.८ प्रतिशतले बढेको छ। कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण, विद्युतीय सामान लगायतको आयात बढेको छ। एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाईजहाज तथा पार्टपुर्जा, सिमेन्ट लगायत वस्तुको आयात घटेको छ।

वीरगन्ज, विराटनगर, मेची, तातोपानी र कञ्चनपुर बाहेकका भन्सार नाकाबाट हुने निर्यात घटेको छ। सुक्खा बन्दरगाह, तातोपानी, कञ्चनपुर र रसुवा बाहेकका भन्सार नाकाबाट आयात घटेको छ। बैंकका अनुसार कात्तिकमा मूल्यवृद्धि ५.७६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो ४.१५ प्रतिशत थियो। कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.९६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.०७ प्रतिशत छ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्यवृद्धि उच्च छ। गैर–खाद्य तथा सेवा समूहतर्फ घरायसी उपयोगिताका वस्तु एवं सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्यवृद्धि केही बढी छ।

कात्तिकमा काठमाडौं उपत्यकामा ६.५० प्रतिशत, तराईमा ६.०४ प्रतिशत, पहाडमा ४.५६ प्रतिशत र हिमालमा ४.०१ प्रतिशत मूल्य बढेको छ। गत वर्ष कात्तिकमा यी क्षेत्रमा क्रमशः ४.५० प्रतिशत, ३.७९ प्रतिशत, ४.३१ प्रतिशत र ४.६२ प्रतिशत मूल्य बढेको थियो।

चालु आवको चार महिनासम्ममा विप्रेषण आप्रवाह २.३ प्रतिशतले घटेको छ। अहिलेसम्म तीन सय चार अर्ब ९७ करोड रुपैयाँ विप्रेषण आएको हो। अघिल्लो वर्ष विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो। अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५.६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो। पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ९.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो।

बैंकका अनुसार यो अवधिमा चालु खाता घाटा ३७ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो घाटा ८८ अर्ब ४३ करोड थियो। यस्तै प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ९२ करोड रहेको छ। अघिल्लो वर्ष प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब २४ करोड रहेको थियो।

यो अवधिमा शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोडले घाटामा थियो। चालु आवमा विदेशी विनिमय सञ्चिति ६.२ प्रतिशतले बढेको छ। गत असारमा १०३८ अर्ब ९२ करोड रहेको सञ्चिति कात्तिक मसान्तमा ११०३ अर्ब १२ करोड पुगेको हो। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत छ।

चालु आवको सुरुका चार महिनासम्मको आयातलाई आधार मान्दा सो अवधिको विदेशी विनिमय सञ्चिति ९.९ महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३१.८ प्रतिशत, ७२.५ प्रतिशत र २९.९ प्रतिशत छ।

यो अवधिमा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ६५ अर्ब ९२ करोडले बचतमा छ। अघिल्लो वर्ष सरकारी वित्त स्थिति५१ अर्ब एक करोडले बचतमा थियो। यो अवधिमा संघीय सरकारको कुल खर्च दुई सय १९ अर्ब १७ करोड पुगेको छ। अघिल्लो वर्ष यो बेला दुई सय सात अर्ब ६८ करोड खर्च भएको थियो।

प्रकाशित: ३ पुस २०७६ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App