१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वर्षाले अर्ब बढीको इँटा नष्ट

रुपन्देहीमा वर्षाले नष्ट भएको काँचो इँटा। तस्बिर ः महम्मद/नागरिक

संघीय ब्यूराे

काठमाडौं - शुक्रबार र शनिबारको हिउँदे वर्षाले तराई भेगमा एक अर्बभन्दा बढीको काँचो इँटा नष्ट गरेको सम्बद्ध व्यवसायीले बताएका छन्। वर्षाले कैलाली र कञ्चनपुरका ७० वटा इँटा उद्योगमा तयार भएको १० करोड ५० लाख रुपैयाँ बराबरको काँचो इँटा नष्ट भएको सेती महाकाली इँटा व्यवसायी संघका अध्यक्ष विनोदकुमार शाहले बताए।

‘बनाएर घाममा सुकाएको सबै इँटागलेर माटो बनेको छ। यसबाट व्यवसायीलाई ठूलो नोक्सान भएको छ,’ उनले भने।
विगतमा पुस अन्तिम वा माघ पहिलो साता पर्ने पानी यस वर्ष भने मंसिर अन्तिम सातामै पर्दा भट्टीमा हाल्न ठिक्क पारेको सबै इँटा नष्ट भएको उनले बताए। असोजदेखि मंसिरसम्म काँचो इँटा बनाउने र सुकाउने गरेर शीतलहर चल्ने पुस–माघमा भट्टामा पोल्ने चलन रहेको उनको भनाइ छ।

‘यो वर्ष घाममा सुकाइएका इँटा सबै गलेर नष्ट भएकाले बजारमा अभाव हुन सक्छ,’ संघका महासचिव दिपेन्द्र श्रेष्ठले भने, ‘काँचो इँटा बनाउने भनेकै यही समय हो, त्यसपछि भट्टीमा हालेर पोल्ने हो, तर घाममै सुकाउँदैमा नष्ट भयो।’ शीतलहर चल्ने बेला काँचो इँटा बनाउन नमिल्ने उनी बताउँछन्। ‘त्यो बेला हामी अहिले उत्पादन गरेका इँटा पोल्ने र बजारमा पठाउने गर्छौं,’ श्रेष्ठले भने, ‘त्यही इँटा भिजेर नष्ट हुँदा अर्को लटको इँटा नै बजारमा नआउने भयो।’

काँचो इँटा नष्ट हुँदाको परिणाम मूल्यवृद्धि र अभावको रुपमा प्रकट हुने व्यवसायीको भनाइ छ।

आफूहरुको व्यवसाय खुला आकाशमुनि हुने भएकाले सरकारले व्यावसायिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उनले बताए। ‘हामीले सरकारलाई कर तिरिरहेका छौं,’ उनले भने,‘कर तिर्दा पनि हाम्रो व्यवसायको आर्थिक सुरक्षाको ग्यारेन्टी सरकारले गरिदिँदैन।’ सरकारले इँटाको पनि बिमा गर्न पाउने व्यवस्था गरिदिए व्यवसायी घाटामा नपर्ने र उपभोक्तालाई पनि महँगो नपर्ने उनले बताए। ‘वर्षाले काँचो इँटा नष्ट गर्दा त्यसको क्षतिपूर्ति पाकेको इँटाबाट निकाल्नुपर्ने हुन्छ,’ उनले भने,‘त्यसले गर्दा उपभोक्ता मारमा पर्ने निश्चित छ।’

यता, प्रदेश नम्बर ५ इँटा उद्योग व्यवसायी संघ नेपालले शुक्रबार परेको पानीले रुपन्देहीसहित प्रदेश ५ का दुई सय सातवटा उद्योगको ८६ करोड रुपैयाँ बराबरको काँचो इँटा नष्ट गरेको जनाएको छ। अधिकांश उद्योगको काँचो इँटा नष्ट भएको संघको भनाइ छ।

संघका अध्यक्ष थानेश्वर घिमिरेले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रदेशमा रहेका उद्योगले पोल्नका लागि तयार पारेको ८६ करोड ६८ लाख मूल्य बराबरको इँटा नष्ट भएको बताएका छन्। प्रदेश नम्बर ५ इँटा उद्योग व्यवसायी संघको कार्यक्षेत्र नवलपरासी पश्चिममा दुई करोड, नवलपरासीपूर्वमा दुई करोड, रुपन्देहीमा तीन करोड ५० लाख, कपिलवस्तुमा तीन करोड, दाङमा दुई करोड २५ लाख, बाँकेमा तीन करोड, बर्दियामा दुई करोड ५० लाख गोटा इँटा नष्ट भएको विज्ञप्तिमा उल्लेख छ।

‘अधिकांश उद्योगले पोल्न तयार पारेको १८ करोड २५ लाख गोटाभन्दा बढी इँटा अचानक आएको पानीले नष्ट भएको छ। यसबाट इँटा व्यवसायी मर्कामा परेका छौं। यस अवस्थामा इँटा उद्योगलाई धराशयी हुनबाट जोगाउन संघीइ सरकार एवं प्रदेश सरकारसँग यस आर्थिक वर्षको माटो र भस्कटमा तिर्नुपर्ने रोयल्टीमा छुटको व्यवस्था गरिदिन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

यस्तै, लुम्बिनी इँटा उद्योग व्यवसायी संघले बेमौसमी वर्षाका कारण रुपन्देही जिल्लाका ५२ वटा इँटा उद्योगका तीन करोड ५० लाख गोटाभन्दा बढी काँचो इँटा नष्ट भएको जनाएको छ। संघका महासचिव अजयकुमार गुप्ताले विज्ञप्तिमार्फत पोल्ने तयारी अवस्थामा राखिएको १६ करोड ६२ लाख मूल्य बराबरको इँटा नष्ट भएको जनाएका छन्। यो वर्ष इँटा उत्पादन र आपूर्ति घट्ने पनि संघले जनाएको छ।

वर्षाका कारण काँचो इँटा गुमाएका व्यवसायीले शनिबार पत्रकार सम्मेलन गरी नयाँ इँटा उत्पादनको सिजन सुरु नहुँदै भएको ठूलो नोक्सानीले आफूहरु मर्कामा परेको बताए। लुम्बिनी इँटा उद्योग व्यवसायी संघका महासचिव गुप्ताले विकास–निर्माण क्षेत्रमा मेरुदण्डका रुपमा रहेका इँटा उद्योगको संरक्षणमा सरकारले कदम चाल्नुपर्ने बताए।

काँचो इँटाको बिमा गर्ने व्यवस्था नहुँदा हरेक वर्ष हिउँदमा हुने अनियमित वर्षाले करोडौं रुपैयाँको क्षति पु-याउने गरेको संघको भनाइ छ। लाखौं लगानी गरेर खुला आकाशमुनि सञ्चालित इँटा उद्योग प्राकृतिक प्रकोपको सिकार बन्दा उद्योगी आर्थिक संकटमा परेकोे संघका सदस्य दिपक पौडेलले बताए। उनले पनि इँटाको बिमा गर्ने व्यवस्था गर्न माग गरे।
रुपन्देहीमा दुई सिजन गरी करिब आठ करोड इँटा उत्पादन हुने व्यवसायी बताउँछन्। छिमेकी जिल्लाबाट पनि सोही परिमाणमा इँटा आउने गरेको छ। रुपन्देही र छिमेकी जिल्लामा उत्पादित इँटाले पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी लगायत जिल्लाको माग समेत धान्ने गरेको छ।

उता, बाँकेको मनिकापुरस्थित श्याम इँटा उद्योगका सञ्चालक रामबाबु गुप्ताले शुक्रबारको वर्षाले आफ्नो करिब ४० लाख रुपैयाँ बराबरको काँचो इँटा नष्ट भएको बताएका छन्। ‘वर्षाले हामीलाई बर्बादै पा-यो, उठ्नै नसक्ने बनायो,’ उनले नागरिकसँग भने। करिब दुई महिनादेखि तयार गरेको सबै इँटा पोल्ने बेलामा झरीले नष्ट गरिदिएको उनको भनाइ छ।
इँटा व्यवसायी संघका अनुसार बाँकेमा ५२ वटा उद्योग सञ्चालनमा छन्। वर्षाले सबैजसो उद्योगको इँटा नष्ट गरिदिएको छ। हरेक उद्योगमा२० लाखभन्दा बढीको इँटा नष्ट भएको संघले जनाएको छ।

नेपालगन्जको उदयपुरस्थित किसान इँटा उद्योगका म्यानेजर अशोककुमार यादवले बिमा गर्ने व्यवस्था नहुँदा हरेक वर्ष इँटा उद्योगले क्षति बेहोर्नुपरेको दुखेसो पोखे। ‘पोहोर पनि यही बेला वर्षाले काँचो इँटामा क्षति ग¥यो, यो वर्ष पनि उस्तै भयो,’ उनले भने, ‘हरेक वर्ष यस्तै भइरह्यो भने उद्योग चलाउनै गाह्रो हुन्छ।’ वर्षाले आफ्नो करिब २६ लाख रुपैयाँ बराबरको काँचो इँटानष्ट पारेको उनले बताए। आफ्नो उद्योगले श्रमिकलाई एउटा काँचो इँटाबराबर एक रुपैयाँका दरलेभुक्तानी गरेको यादवको भनाइ छ।

(पुष्पराज जोशी/कैलाली, अर्जुन ओली/नेपालगन्ज र महम्मद हबिब/भैरहवा)

प्रकाशित: २९ मंसिर २०७६ ०४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App