९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

सिजन सुरु भयो उद्योग खुलेनन्

तस्बिर: रेखा/नागरिक

बुटवल - नवलपरासीको प्रतापपुरका टेकनारायण थारु यसपालि अजीवको दोसाँधमा छन्। ‘बारीमा यो सिजनको उखु तयार भइसकेको छ। तर, ती उखु काटेर अब कहाँ लैजाने ? पोहोरकै पैसा नदिएर झुलाएका उद्योग कहिले खुल्छन्? पोहोरजस्तै ढिलो गरी उद्योग खुल्ने अनि सुकेका उखुबाट पर्ता परेन भनेर मिल छिट्टै बन्द गरिदिने हुन्कि ? यो वर्षपनि उखु सुकाएर दाउरा बाल्नु पर्ने हो कि ? केही दिनअघिको नागरिकसँगको भेटमा चौधरीले मनको बह एकै स्वासमा पोखे। ‘उद्योग खुल्ने आसमा बस्ने कि सस्तोमै भएपनि क्रसरलाई दिएर खेतमा अर्को बाली लगाउँ दोधारमा परेको छु,’ चौधरीले भने।

उखु क्रसिङ गर्ने मुख्य सिजन सुरु भइसक्दा पनि चिनी उद्योग सञ्चालन नभएपछि नवलपरासीका उखु किसान मर्कामा परेका छन्। मंसिर पहिलो सातादेखि उखु क्रसिङको सिजन सुरु हुन्छ। माघसम्म यो सिजन रहन्छ। तर, नवलपरासीका चिनी उद्योगले भने मंसिर तेस्रो सातासम्म उद्योग खोल्ने सुरसारै गरेका छैनन्। गत वर्ष पनि विभिन्न बहानामा उद्योगीले तीन महिना ढिलोगरी उद्योग सञ्चालन गरेका थिए। ढिलोगरी खुलेका उद्योग सुकेका उखुबाट पर्ता परेन भनेर दुई महिनामै बन्द गरिदिए। करिब ७०–७५ बिघामा रहेको पाँच करोड रुपैयाँबराबरको उखु खेतमै सुक्यो। किसानले त्यही उखु दाउरा बाल्न बाध्य भए। यसपालिपनि त्यस्तै अवस्था आउने हो कि भन्ने चिन्तामा यहाँका किसान छन्।

मंसीर सुरुदेखि क्रसिङको सिजन सुरु भएर माघसम्म रहन्छ। तर नवलपरासिका चिनी उद्योगले भने मंसीर तेस्रो सातासम्म उद्याग खोल्ने सुसारै गरेका छैनन्।

नवलपरासीका उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले जिल्लाका तीनवटै उद्योग सञ्चालनकालागि आग्रह गरिएपनि क्रसिङ सुरु नभएको बताए। सिजन सुरु भएपछि मूल्यको किचलो झिकेर उद्योग नचलाइदिँदा उद्योगी र सरकारसँग उखु किसानले बर्सेनि हारगुहार गर्नुपर्ने बाध्यता छ। यसपालिपनि आफूहरुले चिनी उद्योगमै पुगेर क्रसिङ सुरु गर्न पटकपटक आग्रह गरेको बताउँछन् किसान विश्वबन्धु यादव। ‘हामीले भनेको भन्यै छम। मिल चलाइदिनुस् तर, चलाइदिँदैनन्,’ यादवले भने।

यो वर्ष सरकारले पोहोरकै मूल्य कायम रहने गरी उखुको समर्थन मूल्य तोकेको छ। प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५० पैसा समर्थन मूल्य कायम गरिएको हो। जुन मूल्यमा नवलपरासीका किसानले चित्त बुझाएका छैनन्। वर्षौंदेखि उधारोमा उखु बेच्नुपर्ने बाध्यता झेल्दै आएका किसानले लागत मूल्य बढी पर्ने भएकाले मूल्य बढाउनु पर्ने माग पनि गरेका छन्। यता उद्योगीले भने पोहोरकै मूल्य पनि धेरै भएको प्रतिक्रिया दिएका छन्। समर्थन मूल्य तोकिएपनि उद्योगीले विगतमा जस्तै  किसानलाई सस्तोमा उखु बेच्न बाध्य पार्ने नियतले उद्योग सञ्चालनमा ढिलाइ गरिरहेको किसानको गुनासो छ।

अहिले गहुँ र मसुरो छर्ने सिजन सुरु भइसकेको छ। पोहोर–परारकै भुक्तानी नपाएका किसानले उखु काट्नै नपाएपछि दलहन र तेलहन बाली लगाउन समेत पाएका छैनन्। नयाँबाली लगाउन खेत खाली गर्नुपर्ने किसानको बाध्यता बुझेका उद्योगीले जानीजानी किसानलाई अप्ठ्यारोमा पार्न मिल नचलाइदिएको उखु उत्पादक कृषक समितिका अध्यक्षयादवले बताए। मिल सञ्चालन नभएपछि कतिपय किसानले सस्तैमा भएपनि जुस पेल्ने साना व्यवसायी तथा क्रसरलाई उखु बेच्न थालेका छन्। जसबाट खेतालाको ज्यालासमेत नउठने प्रतापपुर–९ का किसान टेकनरायण चौधरीले बताए।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले उद्योगी,उखु कृषक र प्रशासनबीच छलफल गरेर छिट्टै उद्योग सञ्चालन गर्ने वातावरण मिलाइने बताए। नवलपरासीमा तीनवटा चिनी उद्योग छन्। सुनवल नगरपालिकामा लुम्बिनी चिनी कारखाना,सुस्ता गाउँपालिकाको कुँडियामा बागमाती सुगर मिल र प्रतापुरको गंगापुरमा इन्दिरा सुगर मिल छन्। जिल्लामा करिब एक सय भेली उद्योग छन्। करिब साढे सात हजार बिघा क्षेत्रफलमा उखु लगाइएको उखु उत्पादक कृषक समितिले जनाएको छ। जिल्लाका १० हजार किसान परिवार उखुमा आस्रित छन्।

प्रकाशित: २६ मंसिर २०७६ ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App