गणेश विशु
वीरेन्द्रनगर - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सयौं युवायुवती रोजगारीका लागि विदेश गएका छन्। थोरै लगानीमा राम्रो आम्दानी गर्न सक्ने सीपको पहिचान नगर्दा र सानो काम गर्दा समाजको लाजले उनीहरू विदेशिए। तर, त्यहीँ कामका लागि भारतको बहराइचका विग्रेश थापा वीरेन्द्रनगरमा छन्।
आठ वर्षअघि पश्चिम नेपालको सुर्खेतस्थित वीरेन्द्रनगर पुगेका उनको आम्दानीको स्रोत चाट पसल बनेको छ। उनले यही चाट पसलबाट दैनिक एक हजारदेखि १५ सय रूपैयाँसम्म आम्दानी गर्छन्। २५ हजार लगानीमा चाट पसल खोलेका उनको आम्दानीको स्रोत यही पसल हो। नेपाल आउनुअघि भारतको सिमलाको एक होटेलमा काम गर्ने उनी दैनिक गुजारा चलाउन समस्या भएपछि वीरेन्द्रनगर आएका हुन्।
उनीजस्तै भारतका रधु गुप्ता पनि रोजगारीका लागि यहाँ आएका छन्। गाउँघरमा आफूअनुकूल रोजगारी नपाएपछि उनी यहाँ आएको बताउँछन्। ‘यहाँका मान्छे अर्काको देश गएर कमाउँछन्,’ उनले भने, ‘तर हामी अर्काको देशबाट यहाँ आएर कमाउँछौं।’
भारतका रामजीव गुप्ताको चारजनाको परिवार वीरेन्द्रनगरमा छ। उनको दैनिकी भनेको चाट बिक्री गर्नु हो। चार÷पाँच महिनाको एकपटक घर जाने गरेको उनको भनाइ छ। ‘घर जाँदा एक÷डेढ लाख रूपैयाँ लिएर जान्छौं,’ उनले भने, ‘त्यो देख्दा घरपरिवार खुसी हुन्छन्।’
वीरेन्द्रनगरमा मात्र होइन कर्णालीका दुर्गम जिल्लामा भारतीय कामदार भित्रिएका छन्। उनीहरू सामान्य कामका लागि यहाँ आएका छन्। उनीहरू यहाँ लेबर, चाट पसल, कवाडी, मदजुरीलगायतका काम गर्दै आएका छन्। यहाँका युवायुवती नपाइँदा भारतीय कामदार प्रयोग गर्दै आएको यहाँका निर्माण व्यवसायीहरू बताउँछन्।
‘यहाँका युवायुवती सामान्य काम गर्न लाज मान्छन्,’ इन्जिनियर नवीन थापाले भने, ‘त्यही काम भारतीय आएर गर्छन्।’ जसले गर्दा यहाँको रकम बाहिर जाने गरेको उनको भनाइ छ। भारतका कामदार कर्णालीका प्रायः सबै जिल्ला (कर्णालीमा १० जिल्ला छन्) मा छन्। ‘यहाँका कामदार एक दिन काम गर्ने, अर्काे दिन नगर्ने पनि हुन्छन्,’ उनले भने, ‘भारतीय कामदार घर छाडेर आएकाले नियमित काम गर्छन्।’ यसले गर्दा पनि भारतीय कामदार यहाँको रोजाइमा पर्ने गरेका छन्।
श्रमको सही सम्मान नहुँदा पनि नेपाली युवायुवती रोजगारीका लागि बिदेसिनुपरेको कतिपयको भनाइ छ। काममा सम्मान र कामअनुसार पारिश्रमिक भए धेरै युवायुवती बिदेसिनबाट रोकिने सुन्दर नेपालका कार्यकारी निर्देशक खिमबहादुर रेग्मीले बताए। ‘सरकारले साना–साना अवसरको पहिचान गर्नुपर्छ,’ उनले भने, ‘उनीहरूलाई तालिमसहित उचित सम्मान र पुरस्कृत गर्नुपर्छ।’
आफूले गरेको काम सुरक्षित भएको भारतीय कामदारहरूको भनाइ छ। जसले गर्दा उनीहरूको यहाँ आकर्षणसमेत बढ्दै गएको छ। दक्ष र अनुभवी कामदार दोस्रो मुलुक (भारत) बाट नेपाल आउने गरेका छन्। तर, यहाँ कति भारतीय कामदार छन् भन्ने अभिलेख छैन। जसका कारण कति कामदार कर्णालीमा छन् भन्ने यकिन छैन।
साना रोजगारीका अवसरको पहिचान गर्न सके र साना कामको लाज नमान्ने हो भने घरअगाडि नै रोजगारीका थुप्रै अवसर भएको कर्णाली प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन्। ‘सरकारले युवालाई आकर्षण गर्न कृषिलगायत अन्य क्षेत्रमा लगानी गरेको छ,’ उनले भनिन्, ‘तर त्यसको वास्ता नगरी बिदेसिनु दुःखद् हो।’
देश संघीयताका गइसकेको अवस्थामा विकास निर्माणले तीव्रता पाउँदा विदेशी कामदारको संख्यामा वृद्धि भएको सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री केसीले बताइन्। यही चाट पसल गरे पनि नेपाली युवायुवतीले लाखौं कमाउन सक्ने भन्दै उनले सानो काम गर्न लाजकै कारण कतिपय बिदेसिएको बताइन्।
प्रकाशित: २६ मंसिर २०७६ ०१:५२ बिहीबार