११ कार्तिक २०७७ मंगलबार
अर्थ

तातोपानीबाट दैनिक सय टन चिनियाँ प्याज आयात

सिन्धुपाल्चोक-  नेपाली बजारमा अभाव भएपछि चिनियाँ कृषिजन्य उत्पादन प्याजको आयात ह्वात्तै बढेको छ। उत्तरको मुख्य तातोपानी नाकाबाट तीन सातादेखि दैनिक कम्तिमा सय टनका दरले चिनियाँ प्याज आयात भइरहेको तथ्यांक छ।

मंसिरको सुरुदेखि नै चिनियाँ प्याजको आयात ह्वात्तै बढेको तातोपानी सुख्खा बन्दरगाह भन्सारले जनाएको छ। बिचौलियाका कारण छिमेकी भारतबाट हुने प्याजको आयात प्रभावित भएपछि नेपाली व्यापारीको आँखा चिनियाँ प्याजमा परेको हो। राजधानी काठमाडौंबाट तीन हजार पाँच सय किलोमिटर टाढा दुरीमा रहेका चीनका विभिन्न सहर पुगेर व्यापारीले प्याज आयात गरिरहेका छन्।

बन्दरगाह भन्सार अधिकृत केशवराज ओलीले नेपाली बजारमा अभाव देखिन थालेदेखि नै चिनियाँ प्याजको आयात बढेको बताए। ‘मंसिर लागेदेखि नै चीनबाट आयात हुने प्याजको आयात परिमाण ह्वात्तै बढेको हो,’ उनले नागरिकसँग भने। नाकाबाट दैनिक औसतमा १० कन्टेनर (एक सय टन) चिनियाँ प्याज राजधानी आयात भइरहेको ओलीले जानकारी दिए। यसअघि गत जेठ १५ गतेबाट नाका सञ्चालनमा आएयता सातामा दुई–चार कन्टेनर मात्र प्याज आयात हुन्थ्यो।

तीन साताबीचमा नाकाबाट एकै दिन दुई सय ५० टन (२५ कन्टेनर) सम्म चिनियाँ प्याज आयात भएको भन्सारको तथ्यांक छ। नाकाबाट दैनिक भित्रने सामग्रीको दुई तिहाइ हिस्सा चिनियाँ कृषिजन्य उत्पादनले ओगट्दा प्याजले एक तिहाइ स्थान लिइरहेको छ।  नाकाबाट यतिबेला दैनिक ३५ कन्टेनरसम्म चिनियाँ सामग्री आयात भइरहेको तथ्यांक छ।

आयातको पहिलो हिस्सा भने चिनियाँ स्याउ रहेको छ। सिजन सकिँन लाग्दा पनि नाकाबाट दैनिक १५ कन्टेनर (डेढ सय टन) सम्म स्याउको आयात भइरहेको भन्सारले जनाएको छ। दक्षिणी नाकामा गडबडी उत्पन्न भएर आयात प्रभावित हुँदा होस् या सिजनमा सस्तो पर्दा बिकल्पमा चिनियाँ सामग्रीले नेपाली बजार लिने गरेको छ। दसैं, तिहार लगायत गएको चाडबाडको सिजन सस्तोका कारण नेपाली र भारतीय छोडेर चिनियाँ स्याउमा नेपाली उपभोक्ताको आकर्षण बढेको थियो। अभाव भएकै कारण अहिले नेपाली बजार चिनियाँ प्याजले ओगटी रहेको छ।

तातोपानी भन्सारले प्रतिकेजी चिनियाँ स्याउको मुल्य अमेरिकी डलर ६० सेन्ट ( एक सय १४ रुपैयाँ) कायम गरेको छ। कृषि उत्पादनमा भने भन्सार शुल्क नलाग्ने सहमति छ। व्यापारीले भन्सारलाई प्याज आयात गर्दा १० प्रतिशत कृषि सेवा शुल्क तिरे पुग्छ।  तीन सय टन प्याज आयात गर्दा व्यापारीले भन्सारलाई दुई लाख ४० हजार शुल्क तिर्नुपर्छ। अभाव र सस्तोकै कारण चिनियाँ प्याज भारतको विकल्प बनेको हो।

चिनियाँ प्याज नेपाली उपभोक्ता माझ प्रतिकेजी डेढ सय रुपैयाँसम्ममा किनबेच भइरहेको छ। साताअघि दुई सय ४० रुपैयाँ तिर्दा पनि बजारमा भारतीय प्याज पाउन मुश्किल थियो। नेपालमा कम उत्पादन हुँदा र भारतीय प्याजको अभाव सिर्जना गरिँदा स्याउ दाना जत्रा हुने बेस्वादका चिनियाँ प्याज भान्छामा भित्र्याउँन नेपाली उपभोक्ता बाध्य बनिरहेका छन्। भन्सारका अनुसार प्याज लिन नेपाली व्यापारी चीनका खान्सु, सान्छी, सिङछ्याङ लगायत सहरमा पुगिरहेका छन्।

               

प्रकाशित: २५ मंसिर २०७६ १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App