घोराही उपमहानगरपालिकाले पछिल्लो नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र गरेको छ।
नगरप्रमुख नरुलाल चौधरीका अनुसार पछिल्लो नौ वर्षमा ४५८ किलोमिटर सडक स्तरोन्नति र ग्राभेल, २८० किलोमिटर नयाँ सडक निर्माण र ६८.३ किलोमिटर सडक मर्मत सम्पन्न भएको छ। नगरका सबै वडालाई केन्द्रसँग जोड्न २०७ कल्भर्ट र पाँच झोलुङ्गे पुल निर्माण गरिएका उनले बताए। सहरी सौन्दयीकरण र सरसफाइका लागि ९९ किलोमिटर ढल निर्माण तथा एउटा व्यवस्थित स्यानेटरी ल्यान्डफिल साइट सञ्चालनमा ल्याइएको छ। नदी नियन्त्रणका लागि २०.९ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरी बाढी र कटानको जोखिम कम गरिएको छ।
खानेपानी र सिँचाइमा आत्मनिर्भरता नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ १०८ कुवा र ७७ डिपबोरिङ निर्माण गरी हाल ९२ प्रतिशत घरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको नगरप्रमुख चौधरीले बताए। कृषि क्षेत्रलाई लक्षित गरी ४३ कृत्रिम जलाशय निर्माण गरिएका छन्। जसबाट ७३८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको उनको भनाइ छ। ऊर्जा क्षेत्रमा ८७ किलोमिटर प्रसारण लाइन विस्तार र सातवटा सौर्य ऊर्जा प्लान्ट स्थापना गरिएको छ।
नगरप्रमुख चौधरीका अनुसार शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा शिक्षा क्षेत्रमा २७ विद्यालय भवन र ३९ नयाँ कक्षाकोठा थपिएका छन् भने अधिकांश सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ। स्वास्थ्यतर्फ २८ स्वास्थ्य संस्थाका भवन निर्माण भएका छन्। सामाजिक सुरक्षाका क्षेत्रमा १७ हजार ३७४ लाभग्राहीलाई बैंकमार्फत रु ६३ करोड ५८ लाखभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।
घोराहीले हालसम्म १३८ स्थानीय कानुन निर्माण गरी शासन प्रणालीलाई विधिसम्मत बनाएको छ। वडास्तरबाटै अनलाइन घटना दर्ता, अनलाइन नागरिकता सिफारिस र राजस्व सङ्कलनजस्ता विद्युतीय शासन प्रणाली लागू गरी सेवा प्रवाहलाई छिटो तथा पारदर्शी बनाइएको नगरप्रमुख चौधरीले बताए। वातावरण संरक्षणका लागि एक हजार ३०० थान इन्डक्सन चुलो र ४५० थान सुधारिएको चुलो वितरण गरी धुवाँमुक्त भान्सा अभियानलाई समेत सहयोग पुर्याइएको छ। रासस
प्रकाशित: ८ असार २०८३ १३:१७ सोमबार





