३० श्रावण २०७७ शुक्रबार
अर्थ

आगामी असारमा पनि नसकिने

काठमाडौं - ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको माथिल्लो र तल्लो ठाडो सुरुङमा ‘पेनस्टक पाइप जडान’ कार्यमा ठेकेदार कम्पनीको अस्वाभाविक ढिलासुस्तीले आयोजनाको निर्माण कार्य बारम्बार धकेलिँदै आएको छ।

आर्थिक वर्ष ०७३/७४ भित्रै निर्माण सम्पन्न गरेर बिजुली उत्पादन गर्ने लक्ष्य रखिएको आयोजनाको म्याद दुईपटक थप भइसक्यो। तर पछिल्लोपटक तोकिएको समय सीमाभित्र पनि आयोजना सम्पन्न हुनेमा सन्देह छ। पछिल्लो समयसीमा अनुसार आगामी असार मसान्तसम्म उक्त आयोजनाको निर्माण सकिनु पर्छ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी चैतको दोस्रो साता आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने घोषणा गर्दै आएका छन्। तर घिसिङको घोषणा अनुसार उक्त युनिटबाट बिजुली उत्पादन हुने सम्भावना लगभग टरेको छ।

आयोजनाको मुख्य काम माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानमा ढिलासुस्ती हुँदा लक्ष्य अनुसार काम हुने सम्भावना कम भएको हो। भारतीय टेक्सम्याको कम्पनीको आलटाल र ढिलासुस्तीकै कारणले काम अघि बढाउन नसकेपछि तल्लो ठाडो सुरुङ (लट तीन) को पाइप जडानको ठेक्का अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको थियो। एन्ड्रिजले तल्लो पेनस्टकमा अपेक्षाकृत काम गरे पनि माथिल्लो सुरुङको निर्माण गर्ने जिम्मेवारी पाएको टेक्सम्याको गति भने अत्यन्तै सुस्त छ।

आयोजनाका अनुसार तीन सय ७२ मिटर लामो तल्लो पेनस्टक साफ्टमा अहिलेसम्म एक सय ५० मिटर मात्रै पाइप जडान गरिएको छ। माथिल्लो पेनस्टक साफ्टमा तीन सय १० मिटरमध्ये ५५ मिटर मात्रै पाइप जडान भएको छ। अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक विज्ञानप्रसाद श्रेष्ठ माथिल्लो र तल्लो सुरुङमा पेनस्टक पाइप जडान एकदमै जटिल काम भएकाले लक्ष्य अनुसार प्रगति हुन नसकेको बताउँछन्।

‘यो जडान कार्य निकै चुनौतीपूर्ण र जोखिमयुक्त छ,’ उनले भने, ‘८–९ दिनमा मुस्किलले १० मिटर मात्रै जडान गर्न सकिन्छ।’ प्राधिकरणका एक उच्च अधिकारी माथिल्लो तामाकोसी अर्काे मेलम्ची बन्ने खतरामा रहेको दाबी गर्छन्। ‘जसरी मेलम्चीको म्याद एक–एक वर्ष गर्दै गुज्रिएको छ, अहिले माथिल्लो तामाकोसीको हालत त्यस्तै छ,’ उनले भने।

कार्यकारी निर्देशक श्रेष्ठ पनि आगामी असार मसान्तभित्र बिजुली उत्पादन चुनौतीपूर्णरहेको बताउँछन्। ‘अहिलेकै गतिले चालु आर्थिक वर्षसम्म बिजुली उत्पादन गर्न चुनौतीपूर्ण छ,’ उनले भने, ‘हामीले चालु वर्षको अन्त्यसम्म जुनसुकै हालतमा बिजुली उत्पादन गर्ने लक्ष्यराखेका छौं।’

कार्यकारी निर्देशक श्रेष्ठले कामको गुणस्तरमा सम्झौता गर्न नसकिएकाले पनि केही ढिला भएको बताए। उनले भने, ‘अहिलेको ठेकेदार काम पनि नगर्ने, क्लेम पनि नगर्ने खालको भएकोले समस्या देखिएको हो।’ कार्यकारी निर्देशक श्रेष्ठले आयोजनाका अध्यक्ष कुलमान घिसिङ, मन्त्रालयका सचिव लगायत भारतमै पुगेर ठेकेदार कम्पनीलाई घच्घच्याइरहेको दाबी गरे। यो आयोजनाको निर्माण आर्थिक वर्ष ०७३/७४ भित्रै सम्पन्न गर्ने लक्ष्य थियो। भूकम्पर नाकाबन्दीले तोकिएको समयमा निर्माण हुन सकेन। आर्थिक वर्ष ०६७/६८ मा सुरु गर्दा यो ३५ अर्ब (ब्याज बाहेक) रूपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तोकिएको समयभित्र निर्माण सम्पन्न नहुँदा लागत प्रारम्भिक अनुमानको दोब्बर नाघेको छ। यो सम्पन्न हुँदा ७४ अर्ब (ब्याजसहित) भन्दा धेरै लाग्ने पछिल्लो अनुमान छ।

भूकम्पर नाकाबन्दीले आयोजना प्रभावित भएसँगै पहिलोपटक ०७५/७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिका तय गरिएको थियो। उक्त म्यादमा पनि काम सम्पन्न हुन नसकेपछि फेरि आर्थिक वर्ष ०७६/७७ को असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यराखिएको हो।

प्रकाशित: २० मंसिर २०७६ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App